विश्व

के अमेरिका पछाडि फर्किँदैछ?

अश्‍वेतहरु लगातार मारिँदै, सडकमा नारा : 'मैले सास फेर्नै सकिनँ'

जेठ १७, २०७७

    एजेन्सी : यतिखेर अमेरिकाको मिनेपलिस सहरसहित कयौं स्थानका सडकमा मानिसहरुको आक्रोश पोखिइरहेको छ। 

    एउटा 'भिडियो क्लिप' भाइरल भएपछि मानिसहरु आक्रोशित भएका हुन्। त्यो भिडियोमा एक श्‍वेत प्रहरी अधिकारीले ४६ वर्षीय जर्ज फ्लोयड नाम गरेका एक अश्‍वेत व्यक्तिको गर्धन न्याकिरहेको देखिन्छ। र, यसको केही मिनेटमै जर्जको मृत्यु हुन्छ। 

    घटनास्थल आसपासका मानिसले प्रहरी अधिकारीसँग फ्लोयडलाई छाडिदिन आग्रह गरिरहेको देख्‍न सकिन्छ। प्रहरी अधिकारीले घाँटी दबाएपछि जर्जले बारम्बार भनिरहेका थिए, 'कृपया छाडिदिनुस्, मैले सास फेर्न सकिरहेको छैन।' यसो भन्दाभन्दै जर्जको प्राण जान्छ।  

    श्‍वेत (गोरा) प्रहरी अधिकारीले अश्‍वेत (काला) जातिका जर्जलाई घाँटी न्याकेर गरेको हत्याबारे अहिले अनुसन्धान भइरहेको छ। तर अहिलेसम्म यो मामिलाको पूर्ण जानकारी अमेरिकी सरकारले दिएको छैन।

    जर्जको घाँटी न्याक्ने प्रहरी अधिकारी डेरेक साविनलाई गिरफ्तार गरेर उनीविरुद्ध हत्याको अभियोगमा मुद्दा लगाइएको छ। जर्जको हत्या गरिएको भिडियो सार्वजनिक भएलगत्तै मिनेसाटा सहरसमेत अमेरिकाका कयौं क्षेत्रहरुमा विरोध प्रदर्शन भइरहेको छ। 

    नेशलन एसोसिएशन फर द एडभान्समेन्ट अफ पिपुल्सले एक वक्तव्य जारी गर्दै यो हर्कत अमेरिकी समाजमा काला जातिका मानिसमाथि भएको एक खतरनाक घटना रहेको जनाएको छ। उसले नश्लीय भेदभाव एवम् जेनोफोविफा तथा पूर्वाग्रहबाट प्रेरित रहेको जनाएको छ। 'अब हामी थप मर्न चाहन्‍नौं,' वक्तव्यमा उल्लेख छ।  


    प्रहरीबाट मारिएका जर्ज फ्लोयड। तस्बिर : सामाजिक सञ्‍जाल 

    यो घटनापछि अमेरिकामा नश्लीय हिंसाको इतिहासबारे चर्चा शुरु भएको छ। काला जातिमाथि प्रहरी बर्बरतालाई लिएर मानिसहरुको आक्रोश चुलिएको छ। 

    प्रहरीद्वारा हुने गरेका हिंसाका मामिलामाथि निगरानी राख्‍ने वेबसाइटका अनुसार सन् २०१३ देखि २०१९ को अवधिमा प्रहरीद्वारा भएका ९९ प्रतिशत हत्याका मामिलामा कुनै आरोप लगाइएको छैन। 

    राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्ज फ्लोयडको परिवारलाई सान्त्वना दिएका छन्। तर उनको एक टिप्पणीलाई लिएर कडा आलोचना भइरहेको छ। ट्रम्पले लेखेका थिए, 'जब लुट्न शुरु हुन्छ, तब गोली हान्‍न पनि शुरु हुन्छ। यसैकारण मिनेपोलिसमा बुधबार राति एक व्यक्तिलाई गोली हानेर मारिएको थियो।'

    ट्रम्पले आफ्नो त्यस अभिव्यक्तिमाथि सफाई दिँदै यो एक बयान नभई तथ्य भएको बताएका थिए। 

    अमेरिकामा कुनै अश्‍वेत व्यक्तिले ज्यान गुमाउनु परेको यो पहिलो घटना होइन। यसअघि फेब्रुअरी २३ मा पनि हतियारधारी २५ वर्षीय एक श्‍वेत युवकले अहमद आर्बेरीलाई पछ्याउँदै गोली हानेर उनको हत्या गरिदिएको थियो। 

    मार्च १३ मा पनि ब्रेओना टेलरको हत्या भएको थियो। एक श्‍वेत प्रहरी अधिकारीले तथाकथित तरिकाले उनको घरमा छापा मार्ने क्रममा टेलरको हत्या गरिदिएको थियो। 

    मिनेपोलिसका मेयर जेकब फ्रेले एक ट्वीट गर्दै भनेका छन्, 'अमेरिकामा काला समुदाय रहनुको अर्थ उनीहरुलाई मृत्युको सजाय दिनुपर्छ भन्‍ने होइन।'

    अहिले अमेरिकाका सामाजिक सञ्जालहरुमा र ह्यासट्याग ट्रेण्ड भइरहेको छ। सडकमा रहेका मानिसहरुले जर्ज फ्लोयडले मर्नुअघि उच्चारण गरेको 'आई कान्ट ब्रीद'लाई मन्त्रको रुपमा उच्चारण गरिरहेका छन्। 

    नयाँ घटना तर पुरानै मुद्दा

    पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो बक्तव्यमा एक प्रौढ उमेरका अफ्रिकी-अमेरिकी व्यवसायीको कुरा दोहोर्‍याएका छन्। उनले लेखेका छन्, 'मिनेसाटामा जर्ज फ्लोयडमाथि भएको घटना दु:खद छ, त्यो भिडियो हेरेर म रोएँ, यो भिडियोले मलाई निकै स्तब्ध बनाइदिएको छ।'

    ओबामा अगाडि लेख्छन्‌, 'सन् २०२० मा अमेरिकामा यस्तो घटना हुनु सामान्य होइन, यो कुनै पनि कोणबाट सामान्य घटना हो भन्‍ने लाग्दैन।'

    यो घटनापछि अमेरिकी समाज र कानुनी एजेन्सीहरुबीच नस्लीय भेदभावको गहिराईलाई लिएर पुनः एकपटक चर्चा शुरु भएको छ। अबउप्रान्त प्रहरीले काम गर्ने तौरतरिका, संघीय सरकारको भूमिका र अपराधविरुद्धको कानुनी प्रणालीमाथि बहस शुरु भएको छ। 

    जर्ज फ्लोयडको हत्या यस्तो समयमा भएको छ, जहाँ कोरोना महामारीका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ। करिब चार करोड मानिसको रोजगारी गुमेको छ। अल्पसंख्यक काला जातिको मानिसहरु यो महामारीबाट सबैभन्दा नराम्ररी प्रभावित भइरहेका छन्। 

    अमेरिकामा प्रहरीबाट हुने हत्या निकै लामो समयदेखि निकै ठूलो मुद्दा रहिआएको छ। कालाजातिमाथि प्रहरीबाट भएको बर्बरताकै मुद्दालाई लिएर सन् १९६६ मा ओकल्याण्डमा ब्ल्याक प्यान्थर नामक पार्टी अस्तित्वमा आएको थियो। 


    माइकल ब्राउनको हत्या भएको एक वर्षपछि मिसोरीको फर्गुशनमा आयोजित कार्यक्रममा सहभागी अश्‍वेत महिला। तस्बिर : गेट्टी इमेज

    माइकल ब्राउनको हत्या भएको एक वर्षपछि मिसोरीस्थित फर्गुशनमा उनको सम्झनामा एक कार्यक्रम आयोजना गरिएको थियो। उनको हत्यापछि यस्ता घटना अमेरिकामा झनै बढेका छन्। ब्ल्याक लाइफ म्याटर्स अस्तित्वमा आयो। यो आन्दोलनको उद्धेश्य थियो, श्‍वेतहरुको प्रभुत्व अन्त्य गर्नु र काला समुदायविरुद्ध हुने हिंसाको मामिलामा हस्तक्षेप गर्न स्थानीयस्तरमै एकजुट हुनु। 

    सन् २०१४ मा फर्गुशनमा एक श्‍वेत प्रहरी अधिकारीले १९ वर्षका निहत्था माइकल ब्राउनलाई गोली हानी हत्या गरिदिएको थियो। लगत्तै अमेरिकाभर निकै ठूलो स्तरमा विरोध प्रदर्शन भएको थियो। 

    प्रहरीको हातबाट ज्यान गुमाउनेको सूचीमा जमार क्लार्क, जेरेमी म्याक्डोल, लिलियम च्याम्पम्यान द्वितीय, वाल्टर स्काट लगायत कयौं अश्‍वेत मानिसहरुको नाम सामेल छ। 

    तर्सिने आँकडा 

    वासिङ्गटन पोष्टले सन् २०१५ को जनवरीदेखि प्रहरीको गोलीबाट हुने हत्याको तथ्यांक संकलन थालेको थियो। यो डाटाबेसमा अहिलेसम्म ४,४०० वटा घातक मामिलाहरु दर्ता गरिसकिएको छ। डाटाबेसका अनुसार प्रहरीहरुले काला अमेरिकीहरुलाई निकै निर्दयतापूर्वक मारिदिने गरेका छन्। 

    तथ्यांकअनुसार अमेरिकामा काला मानिसहरुको जनसंख्या १३ प्रतिशत छ। तर प्रहरीले गोली हानी हत्या गरेको तथ्यांक हेर्दा एक चौथाई काला जातिका मानिसहरुले ज्यान गुमाउने गरेका छन्। निहत्था मानिसहरुको हत्याबारे तयार गरिएको आँकडा हेर्दा एकतिहाइ त कालाजातिकै मानिसको हत्या गरिएको छ। 

    कुनै निहत्था गोरा जातिका मानिसको तुलनामा काला जातिका मानिसहरु प्रहरीको गोलीबाट मारिने सम्भावना चार गुणा धेरै छ। प्रहरीको गोलीबाट मारिनेमा अधिकांश पुरुष हुने गरेका छन्। यी मध्ये आधा त २० देखि ४० वर्षभित्रका मानिसहरु छन्। 

    सन् २०१५ देखि अहिलेसम्म प्रहरीको गोलीबाट प्रतिदिन औषतमा तीनजना मानिसले ज्यान गुमाउने गरेका छन्। वेबसाइटका अनुसार सन् २०१९ मा मात्रै एक हजार ९९ जना मानिसहरुले प्रहरीले हातबाट ज्यान गुमाएका छन्। 

    वेबसाइटमा राखिएको जानकारीअनुसार अमेरिको कुल जनसंख्यामध्ये १३ प्रतिशत कालाजाति भए पनि प्रहरीको हातबाट ज्यान गुमाउनेमा यही समुदायका २४ प्रतिशत मानिस छन्। सन् २०१९ मा २७ दिनमात्रै यस्तो रह्यो, जुन दिनहरुमा प्रहरीले कसैलाई मारेको थिएन। 

    धरातलीय यथार्थ 

    जस्टिस डिपार्टमेन्टले स्थलगत रुपमा सन् २०१६ मा तयार पारेको एक प्रतिवेदनमा बाल्टिमोर प्रहरीका कारण भइरहेको व्यापक नस्लीय भेदभाव उजागर भएको थियो। 

    अफ्रिकी अमेरिकी नागरिकविरुद्धको भेदभाव नामक सो रिपोर्टमा लेखिएको थियो, सडक किनार हुँदै हिँडिरहेका अफ्रिकी अमेरिकी नागरिकलाई बाल्टिमोरका प्रहरी अधिकारीहरुले बारम्बार अवरोध गर्ने गरेका थिए। 

    प्रौढ उमेरका एक अफ्रिकी अमेरिकी व्यक्तिलाई चार वर्षभित्र प्रहरीले करिब ३० पटक यात्रामा अवरोध गरेको थियो। तर किन आवतजावतमा रोक लगाइयो भन्‍नेबारे कुनै कारण दिइएको थिएन र आपराधिक मामिला पनि दर्ता गरिएको थिएन। 

    प्रहरीले गस्तीका क्रममा पनि अफ्रिकी अमेरिकी नागरिकलाई नै अत्यधिक सताउने गरेको पाइएको थियो। बाल्टिमोर प्रहरी विभागले जो व्यक्तिहरुमाथि आपराधिक मामिला दता गराएको छ, तीमध्ये ८६ प्रतिशत र अफ्रिकी अमेरिकी नागरिक नै हुने गरेका छन्। 

    नस्लीय धारणलाई काला जातिका मानिसहरुमाथि भइरहेको चरम भेदभावको कारण नमान्‍ने हो भने प्रहरीको अत्यधिक सैनिकीकरण, पारदर्शीता अभाव र जवाफदेहिताको कमीलाई यसका अन्य कारण मान्‍न सकिन्छ। केही अमेरिकीहरु त्यहाँका प्रहरीमा नस्लीय विविधताको ज्ञान नहुनुलाई कालाजातिमाथि हुने गरेको अत्याचारको एक प्रमुख कारण रहेको बताउने गर्छन्। 

    सन् २०१६ मा तयार पारिएको एक तथ्यांक केलाउने हो भने सात लाख एक हजार पूर्णकालीन प्रहरी अधिकारीहरुमध्ये ७१ प्रतिशत वर्चश्‍व गोराहरुकै थियो। काला जातिका प्रहरी अधिकारीहरु जम्मा २७ प्रतिशतमात्रै थिए। 

    सन् २०१७ मा सार्वजनिक भएको एक अध्ययनलाई हेर्दा प्रहरी अधिकारीहरुले काला जातिका मानिसहरुलाई भन्दा गोरा जातिका मानिसलाई निकै सम्मान गर्ने गरेको देखिन्छ। 

    सन् २०१६ मा गरिएको अर्को एक अध्ययनअनुसार लागुऔषध बेचविखन र प्रयोगमा काला र गोरा अमेरिकीहरु समान दरमा संलग्‍न थिए। तर यस्ता मामिलामा काला जातिका मानिसहरु गिरफ्तार हुने सम्भावना २.७ प्रतिशत बढी हुने गरेको छ। 

    यद्यपि, केही मानिसहरु चाहिँ प्रहरी ज्यादतीको मामिलामा नस्लीय भेदभावको कुनै नाता नरहने दाबी गर्छन्। यी मानिसहरु सन् २०१६ मा प्रहरीबाट मारिएका एक गोरा युवक डेनियल शेवरको उदाहरण दिने गर्छन्। 

    अमेरिकामा हुने आगामी राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीकातर्फबाट सम्भावित उम्मेदवार जो बिडेनलाई काला जातिको समर्थन मिलिरहेको छ। आगामी चुनावमा प्रहरीद्वारा भइरहेको हिंसाका मामिला एक महत्वपूर्ण चुनावी मुद्दा बन्‍ने पक्कापक्की छ।

    (बीबीसी हिन्दीबाट अनुवाद र सम्पादन गरिएको।)

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]