सुचिता सुवेदी

भनाइ नै छ- ‘व्यक्तिको व्यवहार हेरेर उसको व्यक्तित्व पहिचान गर्न सकिन्छ ।’ तसर्थ व्यक्तिको व्यवहार नै यस्तो कडी हो जसले समाजमा सामञ्जस्य कायम गर्न अहं भूमिका खेलेको हुन्छ । अथवा यसले व्यक्ति र समाजको सम्बन्धमा पुलको काम गर्दछ ।

हिंसात्मक व्यवहार र अपराध एकअर्काका परिपूरक हुन् । यही व्यवहारले नै अपराधलाई जन्म दिन्छ तर गर्भ सिञ्चित समाजबाट हुन्छ । यस अर्थमा समाजमा अवस्थित विभिन्न तत्वले व्यवहार निर्माणमा अहं भूमिका खेलेका हुन्छन् ।

समाज र व्यक्तिको सम्बन्ध अक्षुण्ण हुन्छ र यही समाज हो जसले सामाजिक र असामाजिक व्यक्ति निर्माणमा उत्प्रेरकको काम गर्छ । मानव व्यवहारलाई विभिन्न तरिकाले व्याख्या गरिएको पाइन्छ ।

‘व्यवहार भनेको जीवनको कुनै पनि देख्न सकिने स्पष्ट आन्दोलन हो जसमा मौखिक, व्यवहार र शारीरिक आन्दोलनहरू समावेश गर्न सकिन्छ ।’ वैज्ञानिक अनुसन्धानमा मानव व्यवहार तीन घटक कार्य, अनुभूति (संज्ञात्मक) र भावनाको जटिल अन्तरक्रिया हो ।

व्यवहारले व्यक्तिको जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । ‘बाँच्न, दीर्घकालीन र अल्पकालीन स्वास्थ्य, भावनात्मक र शारीरिक स्वास्थ्यमा व्यवहारले मुख्य भूमिका खेल्छ । केही व्यवहारहरू सहज हुन्छन् र अन्य सचेत विकल्पहरू हुन् । व्यवहार आनुवंशिक र वातावरणबीचको जटिल अन्तरक्रियाको परिणाम हो र तिनीहरूले भावनात्मक र शारीरिक कार्यहरू र प्रतिक्रिया समावेश गर्दछ ।’

अर्थात् व्यक्तिको व्यवहार अथवा प्रतिक्रिया बाहिरी वातावरण जसमा परिवार, छरछिमेक, साथीभाइ, स्कुल परिवेश तथा अहिलेको सामाजिक सञ्जालको प्रभाव तथा अर्को स्वयं उसको जैविक तत्व (गुण)मा निर्भर रहन्छ ।

उसले घरपरिवार, साथीभाइ, छरछिमेक तथा अन्य समुदायमा अवस्थित वातावरणबाट कस्तो सिक्छ र उसको स्वयंको सिकाइ वा सामना गर्ने व्यवहारको प्रतिक्रिया स्वरुप नै उसले भाव व्यक्त गरिरहेको हुन्छ । प्रसिद्ध मनोवैज्ञानिक कुर्ट लिविनले ‘व्यक्तिगत व्यवहार त्यो व्यक्ति र उसको वातावरणको कार्य हो’ भनेका छन् ।

मानव व्यवहार जटिल छ । व्यक्तिको यही व्यवहारले निर्दिष्ट गर्दछ कि ऊ अरूभन्दा भिन्न छ । कानुनको द्वन्द्वमा परेका बालबालिकाको अवस्था हेर्ने हो भने उनीहरूमा घर तथा साथीसंगतबाट सकारात्मक वातावरणको अभाव, सिक्ने-सिकाउने र सिकाइमा कमी तथा स्वयंको हर्मोनलको प्रभावले नकारात्मक व्यवहार अवलम्बन गरेको पाइन्छ ।

बालबालिकाले गर्ने व्यवहार सानो बेलादेखिको सिकाइ हो । तर परिस्थितिजन्य प्रतिक्रियात्मक व्यवहार किशोरावस्थाबाट सुरु हुन्छ ।  यिनै परिस्थितिका कारण समाजमा अवस्थित मूल्य, मान्यतालाई स्वयंको व्यक्तित्वसँग समाहित अथवा सामञ्जस्य कायम गर्न नसकी बिजाइँ जस्ता गलत कार्यमा संलग्न हुन पुग्छन् ।

काठमाडौं जिल्ला अदालतमा बिजाइँमा परेर आउने बालबालिकामा धेरै नै व्यावहारात्मक समस्या छन् । बाहिरी वातावरण, सिकाइ र स्वयं उसको व्यक्तित्व जस्ता विषम परिस्थितिका कारणले काठमाडौं जिल्ला अदालतमा कानुनको द्वन्द्वमा परेर आएका बालबालिकामा बढी हिंसात्मक व्यवहार पाइन्छ र यस्ता व्यवहारको आवेगको तीव्रता निकै नै हुन्छ ।

यसर्थ यिनै व्यावहारात्मक पक्षलाई समावेश गरी त्यसको विश्लेषणात्मक, मापन र हस्तक्षेप बारेमा प्रकाश पार्ने उद्देश्यका साथ यो आलेख प्रस्तुत गरेकी छु । काठमाडौं जिल्ला अदालतमा आएका बिजाइँकर्ताको हिंसात्मक व्यवहारलाई निम्न दुई भागमा विभाजन गरिएको छः

१. प्रभावकारी हिंसा व्यवहार-यस प्रकारको हिंसात्मक व्यवहार आवेगपूर्ण, प्रतिक्रियात्मक र भावनात्मक हुन्छ (मेलोई, २०१२) । यस प्रकारको अपराधमा योजना र विधिगत गणना हुँदैन र शत्रुता र प्रतिशोध समावेश गर्दछ किनकि यो प्रायः कथित धम्की, उत्तेजना वा अपमानको प्रतिक्रियामा पूर्व विचार नगरी हुन्छ ।

सामान्यतः प्रभावकारी हिंसा उत्तेजित र अत्यधिक भावनात्मक हुन्छ । यस प्रकारको हिंसामा सवारी ज्यान र अङ्गभङ्ग, अभद्र व्यवहार, ज्यान मार्ने उद्योग आदिका साथै, कहिलेकाहीं घटना प्रवृत्ति हेरेर विद्युतीय अपराधलाई पनि लिन सकिन्छ ।

२. शिकारी हिंसा व्यवहार- यस प्रकारको हिंसात्मक व्यवहार योजनाबद्ध, उद्देश्यपूर्ण र भावनाहीन हुन्छ (मेलोई, २०१२) । यसमा अपराध पूर्वनियोजित, स्पष्ट लक्ष्य र अपेक्षाकृत भावनात्मक समावेश हुन्छन् । जबरजस्ती करणी, डकैती, आक्रमण, चोरी, लुटपाट र अटोचोरी आदि शिकारी हिंसात्मक व्यवहारका उदाहरण हुन् ।

घटना नं. १

मुद्दा : कर्तव्य ज्यान

घटना विवरण : विभिन्न पृष्ठभूमिबाट आएका चार जना किशोरहरूको गिटार सिक्ने र्‍याप गाउने क्रममा एउटा पार्कमा चिनाजानी भई मित्रता कायम हुन्छ । उनीहरूको प्रायः साँझमा पार्कमा गीत गाउने र गिटार सिक्ने क्रम निरन्तर चलिरहन्छ ।

यही क्रममा उनीहरूको अन्य समूहसँग झडप हुनपुग्छ र यस मुद्दामा संलग्न प्रतिवादीहरूमध्ये एक जनाले घर गई चक्कु ल्याएर हिर्काउँछन् भने अन्यले ढुङ्गा हिर्काएर भाग्छन् । यसरी भागेर उनीहरू नाइटबस चढी काठमाडौं उपत्यका जान्छन् र पछि प्रहरीले फोन मार्फत पत्ता लगाई पक्राउ गरेर ल्याउँछन् ।

उनीहरूको यस व्यवहार योजना र विधिगत गणना नभई र शत्रुता र प्रतिशोध समावेश गरेको देखिन्छ । तसर्थ यो प्रायः कथित धम्की, उत्तेजना वा अपमानको प्रतिक्रियामा पूर्वविचार नगरी हुन्छ । सामान्यतः प्रभावकारी हिंसा उत्तेजित र अत्यधिक भावनात्मक हुन्छ । यस घटनामा पनि यी प्रतिवादीहरूको यस किसिमको हिंसात्मक व्यवहार देखिन्छ ।

घटना नं. २

मुद्दा : जबरजस्ती करणी

घटना विवरण : काठमाडौं बाहिर घर भई होस्टलमा बसेर ९ कक्षामा अध्ययन गरिरहेका यस घटनाका प्रतिवादीले फेसबुक मार्फत परिचय भई यसै घटनाका पीडितलाई साथी बनाउँछन् । परिचय भएपछि दुवै जनाको सहमतिमा होटलमा कोठा बुक गरेर तीन दिनसम्म बस्छन् र यसरी बस्दा उनीहरूबीच यौन सम्पर्क हुन्छ ।

यस बारेमा पीडितका परिवारले थाहा पाई प्रहरीमा उजुरी गरी मुद्दा चलाइन्छ । यस मुद्दामा घटना स्थापित हुन प्रतिवादीको यौन सोचको तीव्रता, अवधि र स्थिरताको अनुमान गर्नुपर्छ । उसले होस्टलमा बसेर फेसबुकबाट साथी बनाई होटलमा कोठा बुक गरेर तीन दिन बसी करणी गरेको कुराले के प्रष्ट्याउँछ भने यो उसको पूर्वनियोजित, स्पष्ट लक्ष्य र अपेक्षाकृत भावनात्मक समावेश सहित शिकारी हिंसात्मक व्यवहार देखिन्छ ।

यी माथिका दुवै घटनाले यसरी अपराधमा संलग्न भएका बालबालिकाको व्यवहारलाई मापन गर्न त्यस घटनाका पछाडि हिंसात्मक व्यवहारको आवेगताको तीव्रता, अवधि र स्थिरतामा मूल्याङ्कन गरी परिमार्जन गर्न जरूरी देखिन्छ ।

तर काठमाडौं जिल्ला अदालतमा आएका बिजाइँकर्ताको यसरी मूल्याङ्कन गरेको पाइँदैन । तसर्थ यदि यही अवस्था रहने र व्यवहार मूल्याङ्कनका साथै परिमार्जित नगर्ने हो भने भविष्यमा अझ मानसिक अवस्था खस्कने र बढी आपराधिक क्रियाकलापमा संलग्न हुने जोखिम कायम रहन्छ ।

सबै पक्षहरू लेखाजोखा गर्दा बालबालिकाको सुरुकै (पक्राउ) अवस्था देखि र सुधार गृहमा रहँदासम्म उसको व्यावहारिक पक्षको जाँच अथवा मूल्याङ्कन गरी परिमार्जन गर्न आवश्यक छ । समाजमा पुनस्र्थापना गर्न र स्वयं आफ्नो र समाजमा योगदान दिन उसलाई मानसिक रूपमा सक्षम बनाउन जरूरी छ ।

यसका लागि बाल न्यायमा आधारित विश्वभरि प्रयोगमा आएका विभिन्न उपकरण पोजिट (किशोरहरूको लागि समस्या उन्मुख स्क्रिनिङ्ग), स्याभरी (युवाहरूमा हिंसा जोखिमको संचरित मूल्याङ्कन), यासी (युवा मूल्याङ्कन र स्क्रिनिंग उपकरण) विधि अपनाई हस्तक्षेप गर्न सकिन्छ ।

यसैगरी व्यवहार र भावनात्मक स्क्रिनिंग प्रणाली तथा बाल व्यवहार चेकलिष्ट आदि प्रयोग गरी व्यवहार लेखाजोखा गरी मनोचिकित्सकीय उपचार पद्धतिका साथै अन्य विधि अपनाई हस्तक्षेप गरी परिमार्जन गरेको खण्डमा पुनः बिजाइँमा उल्लेख्य कमी ल्याउन सकिन्छ ।

कानुनले बालबालिकाको मानसिक विकास पूर्ण रूपमा नहुने भएकोले उनीहरूले सही-गलतको फरक निक्र्योल गर्न नसक्ने भएर उनीहरूले अपराध होइन बिजाइँ गर्ने भएकोले त्यही अनुरूप सजाय निर्धारण गरिएको छ ।

तथापि फैसलामा बिजाइँकर्ताको व्यावहारिक पक्षको विश्लेषणात्मक पाटो नहेरी कानुनी पक्ष मात्र हेरिन्छ । तसर्थ यदि बालकको व्यावहारिक पक्षको सही ढङ्गमा मूल्याङ्कन गरी त्यसको जोखिम कारक र सुरक्षात्मक कारक पत्ता लगाई फैसला भएको खण्डमा न्यायसंगत हुन्छ ।

यसका साथै समाजका अन्य सरोकार पक्षलाई पनि संवेदनशील बनाई विभिन्न चेतनामूलक कार्यक्रम, आर्थिक-सामाजिक समृद्धि जस्ता पक्षलाई सुदृढ बनाई अगाडि लगेको खण्डमा एउटा नयाँ बाल न्याय आयामको परिकल्पना गर्न सकिन्छ । एउटा स्वस्थ मानसिक अवस्थाको परिकल्पना साथ बाल न्याय दिशानिर्देश गरेमा स्वस्थ र सहयोगी समाज खडा गर्न सकिन्छ ।