जी. न्यौपाने, मकवानपुर, १७ फागुन । हेटौँडामा छाडा कुकुरको संख्या बढेसँगै रेबिज रोगको खतरा पनि बढेको छ । हेटौँडा अस्पतालमा कुकुरले टोकेर भर्खरका दुधे बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा, जवान, स्कुलका विद्यार्थीहरु पनि स्कूलकै पोषाकमा रेविज बिरुद्धको सुई लगाउन आएको देख्न सकिन्छ । दैनिक रुपमा करिब १ सय जनाको हाराहारीमा मानिसहरु सुई लगाउन आउने गरेको हेटौँडा अस्पतालको रेकर्डमा देख्न सकिन्छ ।

कुकुर घरपालुवा बफादार जनावर हो । उसले घरको वरिपरि कसैलाई आउन दिँदैन जसले गर्दा घरमा चोरी हुनबाट जोगिन्छ । यस कुरालाई नकार्न सकिँदैन । कुकुर धेरै नश्लका हुन्छन् । कुनै घर सजाउन पालिन्छ, कुनै शोख पुरा गर्न र कुनै घरको सुरक्षाका लागि । आखिर जुनसुकै प्रयोजनका लागि पालिएको भएता पनि यस विषयमा कमैले लालिमबिना नै कुकुर पालिरहेका हुन्छन् ।

कुकुरको खानेकुरा, भिटामिन, औँषधि उपचार, ३–३ महिनामा रेबिज विरुद्ध र अन्य सुईहरु, भ्याक्सिनहरु लगाउनुपर्ने हुन्छ । उसको बस्ने ठाउँको व्यवस्था, खानाको र रिफ्रेशमेन्टको व्यवस्था छुट्टै हुनुपर्छ यसमा राम्रै खर्च आउने भेटिरिनरी क्लिनिकका दिपक लामाले बताए ।

देशमा बिगत लामो समयदेखि चलिरहेको आर्थिक मन्दिका कारढाले धेरै राम्रा कुकुरहरु पनि सडकमा देखिन थालेका छन् । २०७२ सालको भुकम्प, नाकाबन्दी, कोरोनाको महामारी पछि विश्व आर्थिक मन्दि छाउँदा नेपालमा पनि त्यसको असर नराम्रोसँग परेको छ । मानिसले खानेकुराको टुङ्गो लगाउन नसकेको बेलामा कुकुर पाल्न गाह्रै छ त्यसकारण पनि कुकुरकोका धनीहरुले कुकुरलाई सडकमा छाडा छोडिदिनुको कारण त्यो पनि हो । कुकुर खसीबाख्रा जस्तो बिक्री भइहाल्ने चिज पनि होईन त्यसकारण पनि यो जनावर पाल्न बढी खर्च लाग्ने गरेको कुकुर पाल्नेहरु बताउँछन् ।
‘‘राम्रो देखुन्जेल र राम्रो लागुञ्जेल पाल्ने र अलि ठूलो हुँदै गएपछि उसको खाईखुराक बढ्छ त्यो धान्न नसकेर सडकमा छोडिदिन्छन्’’–हेटौँडा ११ गोल्फिनटारका त्रिशिल न्यौपाने र सिमल्टारकी संगिता शिकारी मगरको तर्क छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ की वडाअध्यक्ष जुना दाहालको भनाई पनि यस्तै छ । ‘‘आफुलाई कार्यालय, कार्यक्रमहरुमा दौडिरहनुपर्ने हुन्छ तर साँझ बिहान छाडा कुकुरहरुका कारण एक्लै हिँड्न मुस्किल छ । यसै टोक्न झम्टिन्छन्,’’ वडाअध्यक्ष दाहालले बताईन् । गुडिरहेको बाईक, मयुरी र अटोलाई समेत कुकुरले लखेट्ने भएकोले कयौँ पटक सवारी साधनहरुको सडक दुर्घटना समेत भएको वडाअध्यक्ष दाहालको भनाई छ । हेटौँडा ११ का वडा सदस्य विकास नेपाल पनि यस कुरामा सहमत छन् ।

वडा नम्बर ११ मा मात्रै एकै दिनमा ४ जनालाई टोकेको देखियो भने १९ वटा वडामा ३७५ वटा तोल विकास संस्थाहरु छन् । अब कल्पना गरौँ, सामान्य रुपमा पनि दैनिक ७५ जनालाई छाडा कुकुरहरुले टोक्ने गरेको तथ्याङ्क पाउन सकिन्छ । रेबिज विरुद्धको सुई लगाउने र नलगाउने थाहै नहुने कुरापनि हुन्छ । त्यस कुरालाई कसले चिन्ता गर्ने ?

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार पशु अधिकारकर्मीहरुको कारण छाडा कुकुरको संख्या सडकमा निरन्तर बढिरहेको छ । अब समुदाय, वडा समन्वय र टोल विकास संस्थाहरु मिलेर हेटौँडा उपमहानगरपालिकासँग विकृति हटाउन जिम्मेवारी बहन गर्नुपर्छ ।

हेटौँडा अस्पतालका सूचना अधिकारी रबिनकुमार झाका अनुसार हेटौँडा अस्पतालमा रेबिज र टिटानसको सुई पर्याप्त मात्रामा छ तर सडकमा कुकुर छोड्ने, जथाभावी दिसापिसा बगारउने काम स्वास्थ्यको लागि राम्रो होईन । जबसम्म छाडा कुकुरको संख्या बढिरहन्छ तबसम्म रेबिज रोग महामारीको रुपमा फैलिन कुनै बेर लाग्दैन । कारणबस रेबिज र टिटानसको सुईको मात्रा अभवा भयो भने हेटौँडामा रेबिज रोगको महामारी फैलिन सक्ने झाले बताए ।

वडावडा, टोलटोलमा हेटौँडा उपमहामगरपालिकाले छाडा कुकुर रहित वडा टोल बनाउन एउटा अभियान नै चलाउनुपर्ने सबैको माग छ । यस्ता छाडा कुकुरहरुको संरक्षणका लागि छुट्टै स्थानमा ठूलो ठाउँ बनाएर संरक्षण गर्नतिर लागेमात्र यस समस्याको समाधान हुनसक्छ ।