सूचना र सञ्चार प्रविधि (Information and Communication Technology)
सूचनालाई एक ठाउँबाट अर्को ठाउँमा पठाउन, प्रसारण गर्न वा सञ्चार गर्न सकिन्छ । तर यसरी एक ठाउँबाट अर्को ठाउँमा सूचना आदान प्रदान गर्न सञ्चार माध्यम (communication medium) को आवश्यकता पर्दछ । यस्तो खालको माध्यमलाई दुर सञ्चार (telecommunication) को माध्यम भनिन्छ । पहिले पहिले एक ठाउँबाट अर्को ठाउँमा सूचना वा खबर पठाउन चिठीपत्र प्रयोग गरिन्थ्यो । हुलाकले आदान प्रदान गर्ने माध्यमको काम गर्थ्यो । यसमा मान्छे (हुलाकी) नै चिठी बोकेर अर्को ठाउँमा पुग्नु पर्थ्यो । तर आजकले हामी टेलिफोन, मोबाइल फोन, फ्याक्स, इ-मेल, इन्टरनेट, भिडियो कन्फ्रेसिङ (video-conferencing), रेडियो, टी.भी. लगायतका साधनहरू प्रयोग गरी खबर वा सूचना आदान प्रदान र प्रसारण गर्न सक्छौँ । यसरी वर्तमान समयमा हामीले सूचनालई टाढा टाढासम्म पुयाउन वा एक आपसमा आदान प्रदान गर्न प्रयोग गरिने आधुनिक सञ्चारका साधनहरूलाई समष्टिमा दुर सञ्चार प्रविधि (telecommunication technology) भनिन्छ ।
सूचना (Information)
हामी पुस्तक तथा पत्रपत्रिका पढ्छौं, रेडियो सुन्छौं, टेलिभिजन तथा फिल्म हेछौं । शैक्षिक भ्रमण जान्छौं । यी सबैबाट हामीले ज्ञान हासिल गछौं । हामीले प्राप्त गरेको ज्ञान हाम्रो दिमागमा रहन्छ । यहीँ ज्ञानका आधारमा हामी ठिक, बेठिक, राम्रो, नराम्रो छुट्याउन सक्छौं । जब हामी एक आपसमा भएको ज्ञान साटासाट गछौं वा ज्ञानलाई कुनै उपयुक्त काम गर्न प्रयोग गछौं त्यही ज्ञानलाई सूचना भनिन्छ ।
सूचना (information) लाई व्यवस्थित गर्ने साधनका रूपमा काम्प्युटर प्रविधिलाई लिन सकिन्छ । हामी कि-बोर्ड, माउस, स्क्यानर, डिजिटल क्यामेरा, मुभी क्यामेरा, माइक, मोबाइल फोन आदि प्रयोग गरेर कम्प्युटरमा डाटा (data) र निर्देशन (command) हरू दिन्छौं । कम्प्युटरले डाटालाई हामीले दिएको निर्देशन (command) अनुसार प्रशोधन (process) गरेर व्यवस्थित रूपमा मिलाउँछ । अनि प्रशोधन गरेको नतिजा (result) लाई प्रिन्टरमार्फत् प्रिन्ट गरेर वा कम्प्युटरको पर्दा (screen) मा ल्याएर हामीलाई जानकारी दिन्छ । यसरी कम्प्युटरले दिएको नतिजालाई पनि सूचना भनिन्छ । यस्ता नतिजा हाम्रा लागि उपयोगी हुन्छन् । यस्ता नतिजाहरूलाई आवश्यकताअनुसार उपयुक्त काममा प्रयोग गर्न सकिन्छ ।
कम्प्युटरको भाषामा कि-बोर्ड, माउस लगायतका अन्य कैयन इनपुटका साधनहरू प्रयोग गरेर हामी कम्प्युटरमा विभिन्न तथ्याङ्क र डाटाहरू राख्ने कार्य गरिन्छ । यसरी प्राप्त सूचना वा तथ्याङ्कलाई नै डाटा (data) भनिन्छ । त्यसैगरी कम्प्युटरले प्रशोधन (process) गरेपछि जुन नतिजा (result) हामीलाई दिन्छ त्यसलाई सूचना (information) भनिन्छ । सूचना लेख, तस्विर, ग्राफ, भिडियो, आवाज वा अन्य कुनै पनि रूपमा सूचनाहरू हुन सक्छ ।
सूचना (Information) का विशेषताहरू
१. सूचना प्रशोधन गरिएको र व्यवस्थित हुन्छ ।
२. सूचना उपयोगी हुनुका साथै मूल्यवान हुन्छ ।
३. सूचना साटासाट गर्न सकिन्छ वा एक ठाउँबाट अर्को ठाउँमा पठाउन सकिन्छ ।
४. सूचनालाई सङ्कलन (store) गरेर राख्न सकिन्छ ।
कुनै सूचना सङ्कलन, प्रशोधन तथा संरक्षण गर्न कम्प्युटर प्रविधिको प्रयोग गरिन्छ । यसरी कुनै सूचनालाई एक ठाउँबाट अर्को ठाउँमा पठाउन वा आदान प्रदान गर्न प्रयोग हुने प्रविधिको संयुक्त रूपलाई सूचना तथा सञ्चार प्रविधि अर्थात् (information and communication technology or ICT) भनिन्छ । तसर्थ सूचना प्रविधि (Information Technology – IT) र दुर सञ्चार प्रविधि (telecommunication technology) को संयुक्त रूपलाई नै सूचना तथा सञ्चार प्रविधिको रूपमा चिनिन्छ । यस्ता प्रविधिमार्फत् विभिन्न सूचनाहरू पठाइन्छ । यसका लागि एउटा स्टुडियो (studio) को आवश्यकता पर्छ । स्टुडियो भन्नाले विशेष प्रकारको स्थान बुझिन्छ, जहाँ ध्वनि, आवाज, सङ्गीत, दृश्य आदिलाई व्यवस्थित रूपमा विकास तथा निर्माण कार्य गरिन्छ । यस्ता स्टुडियोमा विभिन्न प्रकारका विद्युतीय मेसिनहरू, कम्प्युटर, मोनिटर, माइक, साउन्ड बक्स आदिको व्यवस्था गरिएको हुन्छ ।
रेडियो नेपाल, सगरमाथा, कान्तिपुर, गोरखा आदि संस्थाहरूको आफ्नै स्टुडियो छ । जहाँबाट विभिन्न प्रकारका सूचना तथा मनोरञ्जनका सामग्रीहरू प्रसारण गरिन्छ । यस्ता स्टुडियोहरूमा भएको कम्प्युटरमार्फत् कलाकारहरूले आफ्ना आवाज रेकर्ड गर्छन् । त्यसलाई छाँटकाँट गरी संरक्षण तथा भण्डार गरिन्छ । अनि छाँटकाँट गरिएको आवाज ट्रान्समिटरमार्फत् प्रसारण गरिन्छ र हाम्रो रेडियो सेटसम्म आइपुग्छ । अब हामी त्यो आवाज सुनेर जानकारी हासिल गछौँ । रेडियो नेपालमा भएको स्टुडियो र कम्प्युटर सूचना प्रविधि हो तर ट्रान्समिटरबाट प्रसारण गरिएका आवाज हाम्रो घरमा भएको रेडियोसम्म आइपुग्ने दुर सञ्चार प्रविधि हो । तसर्थ यी दुवैको संयुक्त रूपलाई हामी सूचना तथा सञ्चार प्रविधि भन्छौं ।