जी. न्यौपाने, मकवानपुर, २६ माघ । हेटौँडामा छाडा कुकुरको संख्या बढेसँगै रेबिजविरुद्धको सुई लगाउने मानिसको संख्यामा पनि वृद्धि भएको छ । मदन भण्डारी फाउण्डेसन हेटौँडा अस्पतालका एक स्वास्थ्यकर्मीका अनुसार एक दिनमा न्यूनतम ३५ जना मानिसहरु रेबिजविरुद्धको सुई लगाउन हेटौँडा अस्पतालमा आउने गरेका छन् ।
स्वास्थ्यकर्मीका अनुसार फलोअपमा आउने मानिसको संख्या जोड्दा एकदिनमै ७० देखि ८० जनासम्मले हेटौँडा अस्पतालमा आएर रेबिजविरुद्धको सुई लगाउँछन् । कुकुर, बिरालो, बाँदरजस्ता जनावरहरुले टोकेमा लाग्ने रेबिजरोग विरुद्ध सुई लगाउनेहरुमा अधिकांश मानिसहरु कुकुरले टोकेर सुई लगाउन हेटौँडा अस्पताल जाने गर्छन् । दुधे बालबालिका, जवान गर्भवती महिला, वृद्धवृद्धा, स्कूलको पोषाकमा आएका विद्यार्थीहरु नियमित रुपमा सुई लगाउन अस्पतालमा आएको देख्न सकिन्छ ।

‘रेविजबिरुद्धको सुई हेटौँडा अस्पतालमा सजिलै पाइएको छ त ?’ भनेर सोध्दा आफ्नो बच्चालाई कुकुरले टोकेपछि सुई लगाउन कमानेदेखि आएकी एक महिलाले जवाफमा भनिन्–‘सुई सजिलै पाइएको छ ।’ हेटौँडा अस्पतालका सूचना अधिकारी रविन कुमार झाले अस्पतालमा टिटानस र रेबिजविरुद्धको सुईमा कमि नभएको बताए । कुकुर १२ वर्षसम्म बाँच्छ । यही किसिमले छाडा कुकुरको संख्या बढ्ने हो भने समयमै नियन्त्रण नगर्दा भयावह स्थितिको सामना गर्नुपर्ने हुन्छ । सूचना अधिकारी झाले यो चिन्ताको विषय भएको बताए ।
दैनिक रुपमा कुकुरलाई मानिसहरुले बाटोमा खुला छोडिदिँदा बिहान बेलुका अफिस र घर आउजाउ गर्न मुस्किल भएको भन्दै सिद्धार्थ ल फर्मका अधिवक्ता केशव गौतमले चिन्ता व्यक्त गरे । हेटौँडा ११ सरस्वतीका रविन्द्र लामा (नाम परिवर्तन) ले मर्निङवाक गर्दा, सवारी साधनमा काम विशेषले हिँड्दा कुकुरको आक्रमणको जोखिम रहने बताए ।

गत आर्थिक वर्ष २०७९–०८० मा २ सय वटा छाडा कुकुरहरुमा बन्ध्याकरण र रेबिजविरुद्धको सुई लगाइएको थियो । यो आर्थिक वर्षमा कुकुरहरुमा बन्ध्याकरण र रेबिज विरुद्धको सुई लगाउने काम बाँकी रहेको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए ।
पहिला–पहिला नगरपालिकाले छाडा तथा भुस्याहा कुकुरलाई २० खुवाएर मार्ने गरेको थियो । पशु अधिकारकर्मीहरुका कारण अहिले त्यसो गर्न पाँईदैन र छाडा कुकुरहरुलाई एउटा ठाउँ बनाएर छुट्टै राख्ने योजना नभएको प्रवक्ता न्यौपानेको भनाई छ । यता पशुसेवा विज्ञ केन्द्र भेटिरीनरी अस्पतालका प्रमुख बज्रकिशोर ठाकुरले अस्पतालको प्रमुखको पदभार सम्हालेपछि उनकै नेतृत्वमा हेटौँडा उपमहानगरपालिकाको ६ लाख रुपैयाँ सहयोगमा आर्थिक वर्ष २०७९–०८० मा कुकुरलाई बन्ध्याकरण गर्ने कार्यक्रम ल्याए । तर उनले पनि यो काम बिचमै छोडिदिए । अहिले आएर आफ्नो कार्यकालमा यस्तो काम नभएको भन्दै प्रमुख ठाकुर पन्छिने गरेका छन् ।

कुकुर पाल्ने सौखको कुरा भएको छ । सुरक्षाको लागि कुकुर पाल्ने हो तर कुकुर पाल्नेले कुकुरको अधिकार हनन गरेर मन नपरेपछि बाटोमा छोड्नु तथा सान देखाएर खुला बाटोमा दिसापिसाब गराउनु चाहिँ गलत भएको भिमफेदी गाउँपालिका वडा नम्बर ८ निवासी कृष्णबहादुर बस्नेत बताउँछन् ।

यसरी छाडा कुकुरको संख्या दिनप्रतिदिन बढिरहेको छ । व्यवस्थापन गरिएन भने रेबिज रोगले महामारीको रुप नलेला भन्न सकिन्न । यो अहिलेको चिन्ताको विषय बनेको छ ।











जी. न्यौपाने 