हेटौँडा । अब मकवानपुरका सेवाग्राहीले राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाक सेवामार्फत राहदानी सीधै घरमै पु¥याउने नयाँ व्यवस्था लागू गर्न लागेको हो । यो सेवा आगामी वैशाख २ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने जनाइएको छ ।

सेवाग्राहीको समय र श्रम बचत गर्ने उद्देश्यसहित सुरु गरिएको यस पहलले राहदानी वितरण प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । प्रशासनले सेवा कार्यान्वयनका लागि जिल्ला हुलाक कार्यालयसँग समन्वय गरेर तयारी अघि बढाइसकेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सुरुवाती चरणमा हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र मात्र सेवा उपलब्ध गराइनेछ । हालसम्म कार्यालयबाट नलिइएका करिब ५ सय राहदानी हुलाकमार्फत पहिलो चरणमै वितरण गर्ने योजना रहेको छ ।

यसलाई दीर्घकालीन रूपमा विस्तार गर्दै भविष्यमा नागरिकता, राष्ट्रिय परिचयपत्र तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत घरमै उपलब्ध गराउने लक्ष्य प्रशासनले लिएको छ ।

हाल स्रोत–साधन र सुरक्षा संवेदनशीलताको कारण जिल्लाका अन्य पालिकामा सेवा विस्तार हुन नसके पनि उपमहानगर क्षेत्रमा भने सहज रूपमा सञ्चालन गर्न सकिने हुलाक कार्यालयले जनाएको छ । नजिकका वडामा सोही दिन र टाढाका क्षेत्रमा बढीमा भोलिपल्ट बेलुकासम्म राहदानी पु¥याइने व्यवस्था मिलाइने हुलाक कार्यालय प्रमुख रमेश लामिछानेले जानकारी दिनुभयो ।

नेपाल सरकारले चैत १३ गते घोषणा गरेको सय बुँदे शासकीय सुधार कार्यक्रम अन्तर्गत “घरघरमै सेवा” पु¥याउने नीतिअनुसार यो सेवा लागू गर्न लागिएको हो । कार्यक्रमको लक्ष्य अनुसार सय दिनभित्रै कार्यान्वयन गर्ने योजनाअनुरूप राहदानी वितरण सेवा पहिलो चरणमा सुरु हुन लागेको हो ।