काठमाडौँ। पेट्रोलियम आपूर्तिमा देखिएको दबाब कम गर्ने उद्देश्यले सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतवार बसेको मन्त्रिपरिषद् बैठकले चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने व्यवस्था लागू गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार अब कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ।
बैठकले डिजिटल पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै ‘डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्ट’ कार्यान्वयनका लागि एशियाली विकास बैंकबाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी कुल ९० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। साथै, दिगो तथा समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट थप ९५ मिलियन अमेरिकी डलर ऋण लिने निर्णय पनि स्वीकृत गरिएको छ।
सरकारले संघीय संरचनाअनुसार प्रशासनिक पुनर्संरचना अगाडि बढाउने क्रममा सबै मन्त्रालय, सचिवालय, आयोग तथा मातहत निकायहरूको संगठन तथा व्यवस्थापन (O&M) सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय समेत गरेको छ।
यसैबीच, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
ऊर्जा क्षेत्रमा दीर्घकालीन सुधारको लक्ष्यसहित डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनलाई क्रमशः विद्युतीय सवारीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ।
शिक्षा क्षेत्रमा, आगामी शैक्षिक सत्र २०८३ साल वैशाख १५ गतेदेखि सुरु गर्ने प्रस्ताव मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ।











