झण्डै एक दशक अघिदेखि चलचित्र तथा विभिन्न म्यूजिक भिडियोका लागि गीत लेखन गर्दै आएका आएका हेटौंडा ५ सानोपोखरा निवासी सुनील गौतम, गीतकार मात्र होईनन, सुन्दर छन्दोबद्ध कविता, कथा गजल र साहित्य लेखनमै लागिरहेका यूवा साहित्यकार हुन्  । छापा पत्रकारिता तथा रेडियो पत्रकारितामा उनले बिताएको समय झण्डै डेढ दशक पुगिसकेको छ । पेशाले प्राध्यापन तथा शिक्षणमा पनि आवद्ध छन् । जागिरे रुपमा हाल उनको संलग्नता श्री जनप्रिय बहुमुखी क्याम्पस हटिया, श्री ईश्वरी प्रावि आमभञ्ज्याङ, रेडियो मकवानपुर १०१.३ मेगाहर्जमा आंशिक तथा पूर्णकालिन रुपमा रहेको छ भने प्रगतिशील लेखक संघ मकवानपुर सचिव, जनसाहित्यिक मञ्च मकवानपुर सचिव, नेपाल प्रगतिशील प्राध्यापक संगठन मकवानपुर सदस्य तथा प्रेस चौतारी मकवानपुर सदस्य लगायत विभिन्न संस्थाहरुमा उहाँको क्रियाशीलता उत्तिकै छ । तिनै व्यक्तित्वसंग हामीले गीत संगित र साहित्यका विषयमा कुराकानी गरेका छौ

संगितबिना मान्छे अधूरो रहन्छ भनिन्छ, यहाँलाई कस्तो लाग्छ ?
निश्चय पनि मुनासीव कुरा उठाउनुभयो । एउटा अवोध शीशु च्याठ्ठिएर रोईरहेको छ भनेपनि केही समयपछि उसले आफ्नो रुवाईमा एककिसिमको लय निकाल्न शुरु गर्छ, त्यो संगीत नै हो । हामी मौन रहेको समयमा पनि दिमागमा अनेकौ कुराहरु सोचिरहेका हुन्छौं, तर त्यहाँ अनौठो किसमको हृदम आभाष भईरहेको हुन्छ । यो गीत हो, संगित हो र समग्रमा जीवन पनि ।

चलचित्रका गीतहरुपनि लेख्नुहुन्छ, कुनैपनि गीत यस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ दिमागमा कसरी सृजना हुन्छ ? बताउनुहोस न ।
म सधै भन्ने गर्छु,मानौ न शब्दहरु हामीले फेर्ने प्रत्येक स्वासहरुमा हावामा मिस्सिएका छन् । तिनिहरुलाई कलात्मक रुपमा संयोजन गर्नू र कथाहरुमा लगेर मिसाईदिनु नै गीत हुनु हो । संगितकारले त्यसमा प्राण भरिदिने काम गर्छन्, गायकले आवाज मिसाएर शब्दमा लय उत्पन्न गराउछन्, अनि यिनै कलाहरुको एकीकृत स्वरुप, गीत बन्दछ । यहाँ मैले भन्नै पर्दछ कहिले गीतकार आँफैले कथाको प्लट निर्माण गरेर गीत लेख्छन् त कहिले कथाको प्लट यस्तो यस्तो छ भनेर गीतकारलाई प्लट प्रदान हुन्छ अनि गीत सृजना गरिन्छ ।

त्यस्तो कुनै घटनाको याद छ यहाँलाई जुन चाहिँ गीत लेखनीका कुरा आउदा तपाईं त्यो घटना संझन पुग्नुहुन्छ ?

पक्कै मनकै कुरा सोधिदिभयो । एउटा चलचित्रको लागि पहिलोपटक गीत लेख्न संगीतकार बाट अनुरोध आयो । तर त्यो सामान्य गीत थिएन रहेछ । मैले सोधें ( गीतको प्लट के छ भनेर । अनि वहाले भन्नुभयो ( धनाड्य परिवारको हिरोले हिरोईनलाई सेक्सुअल भ्यू ले मात्रै लभ गरेको हुन्छ र सौराहामा उसको स्वार्थ पूरा भएपछि त्यहि हत्या गरेर पुरिदिन्छ । पछि समय क्रमसंगै हिरो र उसका साथीहरु सौराहामा राती क्याम्प फायर गर्नेगरी आउछन् । त्यहि रात ती मारिने हिरोईनको आत्मा उठेर सेतो कपडामा धुँवाबाट उठेर गीत गाउन शुरु गर्छिन । म अचम्ममा परें । मैले त्यतिबेला सम्म अन्य फूटकर गीतहरु लेखेको थिएँ, बजारमा पनि आईसकेको थियो तर भुतले गाउने गीत लेखेको थिईन । सक्दिन भनौं, चलचित्रमा गीत लेख्ने पहिलो अवशर थियो, अवसरै गुम्ला भन्ने डर, सक्छु भनौं भुतको भाषा मैले उतार्नु थियो । यो घटना म  गीत लेख्न सोच्नासाथ संझन्छु ।

पछि गएर त्यो भूतले गाउने गीतको शुरुवात कस्तो बन्यो ?गीतको स्थायी भन्नोस न !
आफ्नो भन्नू जो  उसैले नै घात गर्याे
उज्यालोको आशा गरें, बिहानीमै रात पर्याे – यसरी शुरु गरेको थिएँ त्यो गीत ।

पछिल्लो समय गीतका क्षेत्रमा कस्तो गीत लेख्दै हुनुहुन्छ ?
खासगरी म गजल टाईपका आधुनिक गीतहरु त्यो पनि बिछोडका कथाहरुमा लेख्न रमाउँछु । तर यसको मत्लव अरु लेख्दिन भन्ने होईन । पछिल्लो समय गएको हप्तामात्रै एउटा चलचित्रका लागि लेखें । जुन गीत पहिले प्रेममा हिरो हिरोईनले गाउँछन् । पछि हिरोईनको मृत्यू हुन्छ, त्यतिखेर लास जलाईरहँदा पनि त्यहि गीत प्ले ब्याकमा पनि बज्ने हुनाले ती दुबै घटनालाई एउटै गीतको कथाले समेट्नुपर्ने चुनौति  छ त्यसमा । अझ हिरोईनको मृत्यू हँदा हिरोले पनि आफ्नो आँखाको ज्योति गुमाईसकेको हुनाले आफ्नि प्रेमिकाको लास जलेको दृष्य पनि उसले देख्न पाउँदैन, ती सबै कथाका प्लटहरुलाई गीतले समेट्नुपर्ने थियो । मलाई लाग्छ मैले सकेसम्म शब्दकरचनामा न्याय गरेको छु । संगितकार तुल्सी गौतम पनि संगै रहेर संगितलाई पनि साथैमा ट्यूनिङ गर्दै लेखिएको हुनाले त्यो गीतले राम्रै चर्चा पाउनेमा आशावादि छु । अर्काे कुरा फिल्मले जातिगत बिभेदमा हुनेगरेका चरम मानसिक यातनालाई विषयवस्तु बनाएको हुनाले पनि यो गीत राम्रै चर्चामा आउनेगरी दर्शकहरुले मन पराउनेमा विश्वस्त छु ।

लेखिसकेका तर रेकर्ड हुन बाँकि गीतहरु पनि छन् यहाँको ?
त्यस्ता गीतहरु त झण्डै २ दर्जन जति छन् ।

किन गायकले मन नपराएर त्यसो भएको हो ?
बिल्कुलै त्यसो होईन । कतिपय गीतहरु गायकसम्म पुगेका छन् । तर आर्थिक पक्षले रोकिएका छन् । संगितकार ज्ञानवीर क्षेत्रिले रेकर्ड गराउने अन्तिम तयारीमा रहेका ३ वटा गीतहरु वहाको असामयीक निधनले अलपत्र बनेको छ । गायक मनोज राजसंग २ वटा गीतहरु छन् मेरो शब्दको । त्यो पनि प्राविधिक रुपमा रेकर्डका लागि प्रतिक्षामै छन् । संगितकार सुनिल केसि संग २ वटा गीतहरु छन् । त्यो छिट्टै रेकर्डको तयारीमा छ । गायक शिवराम बजगाईसंग २ वटा गीत छन्, जसमध्ये एउटा गीतले वहालाई रेडियो नेपालको स्वर परीक्षा पनि पास गराएको थियो ।यस्ता र म आफैसंग रहेका अरु थुप्रै गीतहरु रेकर्ड हुन बाँकि छ । गायिका बिना राईले दिनुभएको कथाको प्लट अनुसार एउटा गीत तत्काल लेख्नुपर्ने छ, तर समय मिलाउन सकिरहेको छैन ।

नेपाली गीत संगितका क्षेत्रमा भएको पश्चिमीकरण प्रति यहाँको दृष्टिकोण कस्तो छ ?
कमौलिकताहरु मासिएपछि कुनैपनि चिजको पहिचान लोप भएर जान्छ नै ।यसो भन्दैमा म पूरातनवादी सोचलाई पक्षपोषण गर्ने पंक्तिमा पनि छैन । तर बनिसकेका गीतहरुलाई फेरि पप र र्याप बनाएर बिगार्नु राम्रो कुरा होईन । बरु बिल्कुलै नयाँ शब्दमा त्यो भन्दा आकर्षक गीत बनाउन सक्नु पृथक कुरा रह्यो । समयको माग, दर्शक श्रोताको चाहना बमोजिम परिमार्जित हुनुलाई त्यस्तो धेरै आपत्ति जनाउनु हुन्न । परिवर्तन नभएको भए हामी मानव समुदाय पनि सायद जंगली युगमै हुनेथियौं । त्यसैले पश्चिमि सभ्यता राम्रो भए त्यो पनि अंगाल्न हुन्छ र पूर्विय दर्शन राम्रो हुँदा त्यसलाई पनि अंगाल्न मिल्छ । सुपाच्य हुनुपर्याे । राम्रो हुनुपर्याे बस् ।

सामान्यतया गीत के का लागि लेख्नुहुन्छ ?
सबैका आ-आफ्नै उद्देश्यहरु होलान् लेखनीमा । तर म चाहिँ मनमा गुम्सिएका भावना पोख्न गीत लेख्छु । अर्काे पाटो एउटा लेखक, एउटा गीतकार ब्यवसायिक हुनु पनि जरुरी छ ।
यसको मतलब पैसाका लागि  लेख्छु भन्नुभाको हो ?
नेपालमा लेखेर नै बाँच्नेहरुको संख्या कस्तो छ, त्यो त तपाईजस्तो पत्रकारलाई राम्रैसंग थाहा छ । तर एउटा ब्यवसाय कसरी चल्नुपर्छ ? त्यतातिर संकेत चाहिँ पक्कै हो ।
गीत लेखनीकोे प्रेरणाचाहिँ यहाँले को बाट पाउनुभयो ?
ठ्याक्कै यसै भन्ने चाहिँ छैन तर डा.नवराज लम्साल जो मेरो रेडियो क्षेत्रका गुरु पनि हुनुहुन्छ, उहाँलाई संझन चाहन्छु । मैले लेखेको पहिलो गीत वहाँलाई देखाएँ, वहाँले अचम्म मान्दै भन्नुभयो गीत यति सुन्दर बनेछ यो त रामकृष्ण ढकाललाई गाउन दिनुपर्छ । म लगेर दिन्छु ढकाललाई यो गीत तर काठमाण्डौ आउँदा मलाई भेट्नु भनेर डा.नवराज लम्सालले भन्नुभयो । मलाई लाग्यो म गीत लेख्न सक्दोरहेछु । त्यसैगरी मेरो घरपरिवार, जसले मलाई निरन्तर मेरो लेखनीमा उपयुक्त वातावरण तयार पारिदिएर सहयोग गर्नुभयो । मैले यहाँ सम्झनै पर्छ मेरा मित्र संगीतकारहरु तुल्सी गौतम, सुनील केसी जसले मेरा गीतहरुलाई गाईदिएर वा संगीत भरेर गायकसम्म पुयाउने काम गर्नुभयो, उहाँहरु सबै मेरो लेखनीको प्रेरणाको स्रोत हुनुहुन्छ ।
तपाईले लेख्ने गीतहरु प्रायः दुखदायी वा स्याड सङहरु बढी हुने गर्दछन् । तपाईको पनि बिछोड भएको थियो हो कसैसंग ?
मैले यहाँलाई भनि नै सकें, लेखकहरु भूतका पनि भाषा पढ्छन् । आवाज नभएकाहरुको आवाज बोल्छन्, कुरा कतिचाँही साँचो हो भने संसारमा हाँस्ने भन्दा रुनेहरुको सङ्ख्या बढी छ । रमाउनेभन्दा दुःखी हुनेको सङ्ख्या ज्यादा छ । यसैले होला मेरा गीतहरु त्यसबाट ज्यादा प्रभावित छन् ।

 

प्रतिकृया