मकवानपुरका साहित्यकारहरुको संस्था साहित्य सङ्गम मकवानपुर १६ औँ अधिवेशनको सङ्घारमा आइपुगेको छ । यही भदौ २३ गते साहित्य सङ्गम मकवानपुरले नयाँ नेतृत्व चयन गर्दैछ । यसै सेरोफेरोमा रहेर साहित्य सङ्गम मकवानपुरका सचिव डिबी बर्तौलासँग गरिएको कुराकानी ।

यहाँहरुको कार्यकालमा साहित्य संगमके कस्तो कार्य गर्यो ?

हाम्रो कार्यकाल १५ औँ अधिवेशन २०७८ असोज ९ गतेबाट आजसम्म आइपुग्दा २२ वटा नियमित सन्ध्यालाई निरन्तरता दियौँ भने अतिरिक्त कार्यक्रम अन्तर्गत पुस्तकहरु विमोचन, विमर्श, बहस र परिचर्चा कार्यक्रमलाई जोड्न सफल भयौँ । साथै हामी यसै कार्यकालमा ४ वटा महत्वपूर्ण सम्मान तथा पुरस्कार स्थापना गरी संस्थाको जम्मा १५ वटा पुरस्कार तथा सम्मान समर्पण कार्यक्रमहरु सञ्चालन गर्यौ । नवप्रतिभालाई उजागर गर्न प्रतियोगितात्मक कार्यक्रमलाई समेत स्थान दिएका छौँ । पुष्पलाल स्मृति पुस्तकालयलाई पनि व्यवस्थित ढङ्गबाट सञ्चालन गरेका छौँ । यसैगरी हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सङ्गमको इतिहासमा पहिलो पटक हेटौंडा साहित्य महोत्सव सम्पन्न भयो । पालुङमा पर्यटन साहित्य महोत्सव समेत गर्यौ । संस्थाले एकल तथा संयुक्त रचना वाचन कार्यक्रम गरेको छ । यसरी समग्रतामा साहित्यिक र भाषिक उन्नयनमा साहित्य सङ्गम मकवानपुरले महत्वपूर्ण कार्यहरु गर्दै आएको छ ।

साहित्यतर्फ आकर्षण बढाउन सङ्गमले कस्तो भूमिका निर्वाह गरेको छ ?

साहित्यतर्फ आकर्षण बढाउन सङ्गमले नयाँ पुस्ताका लागि प्रतियोगितात्मक कार्यक्रम र नयाँ पुस्ताको संयुक्त रचना वाचन तथा महोत्सव, वाचनका लागि स्थान उपलब्ध गराएर आकर्षण बढाएको छ । अग्रज र समकालीन पुस्तामा नियमित सन्ध्या मार्फत वाचनको स्थान र उहाँहरुको पुस्तक विमोचन, विमर्श गरेर संस्थातर्फ आकर्षित गर्ने भूमिका निर्वाह गरेका छौँ ।

साहित्य सङ्गम शहर केन्द्रित मात्र भयो भन्ने आरोप छ नि ?

शहर केन्द्रित छ भन्ने आरोप केही हदसम्म सत्य छ । सङ्गममा रहने कार्यसमितिका साथीहरुको पनि व्यक्तिगत जीवन छ र संस्थामा बचेको समय दिने हुँदा हामी शहरमा मात्र खुम्चिएको यथार्थ कुरा नै हो । अर्को कुरा यतिखेर गाउँ पनि शहरमा नै गाभिएको भान हुन्छ । गाउँका मानिस यतै छन् र ग्रामीण भेगका अधिकांश साहित्यकार हेटौंडामा नै रहेर साधनारत् हुनुहुन्छ । यस्तो पनि नबुझियोस् कि हामी पन्छिन खोजेका छौँ । आगामी दिनमा भने हाम्रो नयाँ समितिले योजना बनाएर १० वटै पालिकामा पुगेर स्थानीय सरकारसँग सहकार्यमा पक्कै कार्यक्रम गर्नेछ ।

सङ्गममा आबद्ध हुन के गर्नुपर्छ ? हालसम्म कति जना आबद्ध छन् ?

आजसम्मको अभ्यास भनेको चाहिँ दुई वर्षे कार्यकालको अन्त्यमा पुरानो सदस्यले नवीकरण गर्ने र नयाँ बन्न इच्छुक भएकाले सङ्गमको कार्यक्रमहरुमा आएर कम्तीमा एउटा रचना वाचन गरेको या पत्रपत्रिकामा दुई वटा रचना छापिएको हुनुपर्ने प्रावधान राखिएको छ । यस्तै संस्थाले तोकेको रकम बुझाउनुपर्छ । १५ औँ अधिवेशनमा नयाँ र पुरानो गरेर जम्मा २२२ जना सदस्य हुनुहुन्थ्यो भने यतिखेर २०७ जनाले नवीकरण गर्नुभयो भने ३६ जनाले नयाँ सदस्यता प्राप्त गर्नुभएको छ । यसरी जम्मा २४३ जना साधारण सदस्य हुनुहुन्छ ।

साहित्य सङ्गम विशुद्ध साहित्यको थलो हुनुपर्ने हो । यसमा पनि राजनीतिकरण भयो भन्ने सुनिन्छ नि ?

पक्कै साहित्य सङ्गम विशुद्ध साहित्यको थलो नै हो । यसमा कुनै शङ्का छैन । यो संस्था निरन्तर साहित्य साधना गर्ने साहित्यिक पाठशालाको रुपमा विकसित भएको सबैमा सर्वविदितै छ । तर राजनीतिको कुरा पनि गर्नुभयो । साहित्य भित्रको राजनीति वास्तवमा सुन्दर पक्ष नै हो । पदीय लोतुपताका लागि गरिने तथा व्यक्तिगत स्वार्थका निम्ति गरिने राजनीति चाहिँ गलत नै हो । यस्तो प्रवृत्ति सामान्य हावी नभएको होइन तर संस्थाभित्र हुने साहित्यिक गतिविधि र अत्यन्तै धेरै कार्यक्रमहरुले गर्दा केही व्यक्तिहरुले संस्थामा गडबडी भयो कि भनेर शङ्का गर्नु पनि स्वाभाविकै नै हो । समग्र साहित्यिक संस्थाहरु मध्ये ठूलो र आशा बोकेको संस्था भएकाले केही प्रश्नहरु र खबरदारी आउँछ नै । तर यसैलाई राजनीति भएको नमानाँै । हाम्रो लक्ष्य भनेकै सङ्गम साझा चौतारी बनोस् र बनाउनु पर्छ भन्ने नै हो । तर अधिवेशनका मुखमा भने केही व्यक्तिहरु संस्थागत हितका लागि भन्दा पनि अनावश्यक रुपमा गिजल्नका लागि बजारमा भ्रमहरु फैलाएर आनन्द लिन्छन् । यसो गर्नु एक सच्चा भाषा, साहित्यका सेवकलाई कदापी सुहाउँदैन । यस संस्थाका विषयमा हुने अनावश्यक राजनीतिलाई जरैदेखि उखेल्न एकताबद्ध हुनु जरुरी छ ।

सङ्गमको अधिवेशन पनि नजिकिदै छ । अबको नेतृत्व कस्तो हुनुपर्छ ?

साँच्चै हामी भाद्र २३ गते हेटौंडा क्याम्पसको सभा हलमा १६ औँ अधिवेशन बिहान ११ बजेबाट सुरु गर्दछौं। जायज प्रश्न गर्नुभएको छ । अबको नेतृत्व भनेको साहित्य र भाषालाई माया गर्ने र सङ्गमभित्र निरन्तर नजिक रहेको व्यक्ति हुनुपर्छ । हामीसँग अवसर छ सँगसँगै प्रशस्त चुनौती पनि छ । यसर्थ चुनौतीसँग सामना गर्ने एक दूरद्रष्टा आगामी नेतृत्व हुनुपर्छ । प्रथमतः आर्थिक इमानदारिता, संस्थागत विकास र कार्यसमितिका अन्य साथीहरुलाई समेत मिलाएर व्यक्तिगत निर्णयलाई छाडी सामुहिक छलफल र निर्णयलाई आत्मसाथ गर्ने सवल नेतृत्व आवश्यक छ । सबै साहित्यिक संस्थाहरुसँग सहकार्य गर्दै समग्र मकवानपुरको साहित्यलाई देशव्यापी बनाउने योजना र काम गर्ने सामथ्र्य भएको नेतृत्व नै अबको नेतृत्व हुनेछ र त्यस्तै नेतृत्वले छान्न म आम साधारण सदस्यलाई अपिल गर्दछु ।

सङ्गमको सचिव पदमा रही कार्य गरीसक्नुभएको छ । चुनौती कत्तिको छ ?

म साहित्य सङ्गममा १३ औँ अधिवेशनबाट सदस्यमा निर्वाचित भएँ । त्यसै कार्यकालको बिचमा सचिवको राजीनामा पछि म सचिवमा मनोनित भए र १४ तथा १५ औँ अधिवेशनबाट पनि सचिव नै भएँ । अर्थात् सङ्गममा झण्डै ५ वर्ष सचिव भएर काम गरेँ । यो अवधिमा चुनौती प्रशस्त आए तर सँगै अवसर पनि आयो । नियमित कार्यक्रम हुने र ठूलो संस्था भएकाले मिहिनेत धेरै सचिवको नै पथ्र्यो । यसर्थ सचिव संस्थाको मेरुदण्ड नै हो । म सचिव रहँदा सङ्गमको गतिविधिमा अत्यन्त सकारात्मक भूमिका वहन गरेँ । म अत्यन्त खुसी छु ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

अन्त्यमा,यहाँ र यहाँको टिमलाई धन्यवाद । सङ्गम लाभको पद धारणा गर्ने संस्था नभएकाले हामी १६ औँ अधिवेशनको संघारमा छौं । त्यसैले, पदीय जिम्मेवारीमा आउनका निम्ति असान्दर्भिक लडाइँ गर्नुभन्दा पनि सहमति र सहकार्यमा जानुपर्छ । साथै योगदान र त्याग गर्दै संस्थाको विकासमा निरन्तर लागेको र सफा दृष्टिकोण भएका साहित्यकारहरुले नेतृत्वदायी भूमिका खेलुन् भन्ने शुभेच्छा प्रकट गर्दछु ।