जी. न्यौपाने, मकवानपुर, २१ फागुन । वि.सं. २०३८ सालमा रौतहटमा जन्मिएका सकलमहरा चमारका ५ जना छोरी, ४ छोरा र १ श्रीमती छन् । उनकी श्रीमती र छोराछोरी रौतहटमै छन् र दैनिक गुजाराको लागि उनीहरु अर्काको खेतबारीमा किसानी काम गर्छन् । चमार भने हेटौँडाको शहरबजार, घर–घर चाहारेर चिनीबाट बन्ने हावाको मिठाई (कटन क्याण्डी) बेच्छन् ।

यो मिठाई बेच्न थालेको करिब २ महिना भयो । चमारले धेरै बिक्री भएको दिनमा ५ देखि ७ सय रुपैयाँसम्म कमाई हुने गरेको बताउँछन् । कमाई नभएको दिनमा ३ सयसम्म कमाउने उनी बताउँछन् । उनी आफ्नै लवजमा भन्छन्–‘‘बिकाइ होइ, नबिकाई त न होइ ।’’

झट्ट हेर्दा साधु जस्तो देखिने सकलमहराले एक कक्षा पनि पढेका छैनन् । तर उनी रामायण सुधासागर, भागवत गीता पढ्छन् । उनले भने अनुसार, बेला मौकामा कसैले सुन्न चाहेमा उनी धर्मशास्त्रका कुरा गर्छन् ।

मिठाई बेच्नुअघि उनी भारतको पञ्जाबमा साहुको ठूल–ठूला जग्गामा किसानी काम गर्ने गर्थे तर आफ्नो २२ वर्षको छोरा ट्रेनमा चेपिएर मरेपछि भने उनलाई पञ्जाबमा बस्न मन लागेन । त्यसपछि उनी हेटौँडा आएको बताउँछन् ।

उनका अनुसार उनलाई हेटौँडाको मिठाइवाला साहुले खान र बस्न दिएका छन् । उनी दैनिक २५–३० किलोमिटर हिँडेर मिठाई बेच्छन् । ‘‘साधु लगलेबानी त का होई ? कबो मागके नखइलेबानी, छोटामोटा काम बा तो कौनो बात नइखे, कमाएम खाएम, बालबच्चा परिवार पालेम पोशेम त शान्ति मिली’’– चमारले भोजपुरी भाषा बोलद्ये आफ्नो लवजमा सुनाए ।

उनको भनाइको अर्थ हुन्छ, ‘‘साधु देखिन्छु तर कहिल्यै मागेर खाईनँ । सानोतिनो काम गर्छु त के समस्या भो र ? कमाएको छु, खाएको छु, बालबच्चा परिवार यसैबाट पाल्छु पोश्छु र मनमा शान्ति छ ।’’