हेटौँडा १५ नम्बर वडा कार्यालय अगाडि रहेको छतिउनको रुख

जी. न्यौपाने, मकवानपुर, ५ फागुन । संरक्षणको अभावले लोप हुँदै गएको बिरुवा हो छतिउन । पूर्वी मकवानपुरको भिरपाखामा अत्यधिक रुपमा पाईने बिरुवा छतिउनको नामबाट छतिवन गाउँ नामाकरण भएको थियो । छतिउनको रुख बाटैभरि भेटिन्थ्यो । संरक्षण नभएपछि यो हराउँदै गएको र अहिले यो रुख मुस्किलले कतैकतै मात्र भेटिने गरेको छतिवन निवासी पत्रकार धमेन्द्र दाहालले बताए ।

स्कोलर ट्री, ब्ल्याकबोर्ड ट्री,सैतान ट्री, यक्षणी ट्री, सप्तपर्णि, चटियन, छतिम जस्ता थुप्रै नामले छतिउनको रुख चिनिने गर्छ । यसको अङ्ग्रेजी नाम भने अल्सटोनिया हो । प्रख्यात बोटनिष्ट अल्स्टोनको नामबाट यो रुखको नाम अल्स्टोनिया रहन गएको विश्वास गरिन्छ । यसको काठबाट मादल, कालोपाटी जस्ता सामग्रीहरु बनाईन्छ ।

संचारिका समूह बागमती प्रदेशकी अध्यक्ष पत्रकार सरिता दाहालका अनुसार यो संरक्षण गर्नुपर्ने बहुउपयोगी बिरुवा हो । उच्च पहाडी क्षेत्रमा पाईने भएतापनि अहिले तराईको फाँट तिर पनि यो सप्रिरहेको पाईन्छ । यो आयुर्वेदका हिसाबले धेरै रोगका लागि औँषधिको काम गर्ने बिरुवा पनि हो । छतिउनलाई शो प्लान्टका रुपमा पनि प्रयोग गरिन्छ । छतिउन लगाउनाले वातावरणमा हरियाली छाउनुका साथै प्रशस्त अक्सिजन दिने वन डिभिजन कार्यालय मकवानपुरका वन अधिकृत बसन्तराज गौतमले जानकारी दिए ।

पुनर्नवा अस्पतालका प्राकृतिक चिकित्सक डाक्टर प्रभाकर दुबेका अनुसार पनि यो धेरै रोगलाई निको पार्ने औँषधिय गुण भएको बिरुवा हो । यो बिरुवाको फल तरकारीका रुपमा प्रयोग गरिने सजिवनको जस्तै लाम्चो आकारको हुन्छ । यसलाई भाँच्दा दुधजस्तै पदार्थ निस्कन्छ । छतिउनबाट निस्कने दुध जस्तो पदार्थ, बोक्राको धुलो र पात सबैलाई औँषधिका रुपमा प्रयोग गर्न सकिन्छ । तर प्रयोग गर्दा त्यसको मात्राको बारेमा प्रयोगकर्तालाई थाह नहुने भएकोले सम्बन्धित डाक्टरको सल्लाह लिएर मात्रै प्रयोग गर्न सकिन्छ ।

नेपाल मगर संघका केन्द्रीय अनुशासन विभागका संयोजक अशोक सारु मगरका अनुसार पहिला पहिला मकवानपुरको मनहरी जाने बाटोको छेउछाउका जंगलहरुमा पनि छतिउनको बिरुवा प्रशस्त मात्रामा पाईने गर्थ्यो । तर अहिले यसको रुख देखिएको छैन ।

यस्ता औँषधिय गुण भएका धेरै बिरुवाहरु संरक्षणको अभावले लोप हुँदै गएको वन अधिकृत गौतमले बताए ।