हेटौँडा । भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिएका जेन-जी पुस्ताले सोमबारको हिंसात्मक घटनापछि आज पनि हेटौँडामा प्रदर्शन तीव्र पारेका छन्। प्रहरीको सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीहरूले हेटौँडा–२ स्थित उपमहानगरपालिका कार्यालय अगाडि नाराबाजी गरेका छन्।
हेटौँडा–४ शीतल महल चोकमा देखिएका प्रदर्शनकारी सिमाचोक, बुद्ध चोक हुँदै मानस चोक पुग्दा बाक्लिएका थिए। उनीहरूले शङ्ख बजाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजीनामाको मागसहित नाराबाजी गरे।
बिहानैदेखि सुरु भएको प्रदर्शनलाई आम सर्वसाधारणले पनि साथ दिएका छन्। हेटौँडा–१६ मा स्थानीयले टायर बालेर विरोध जनाए भने पश्चिम मकवानपुरका व्यापारीहरूले समर्थनस्वरूप बजार बन्द गरेका छन्। राजमार्ग समेत अवरुद्ध भएको छ।
उपमहानगरपालिकाले सोमबारको हिंसात्मक घटनालाई मध्यनजर गर्दै मंगलबार एक दिनका लागि नगरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरले जारी गरेको सूचनामा शान्ति सुरक्षा कायम गर्न विद्यार्थी, शिक्षक, अभिभावक र नगरवासीलाई संयमता अपनाउन आग्रह गरिएको छ।
सोमबार देशभर भएको प्रदर्शनमा १९ जनाले ज्यान गुमाएका थिए भने तीन सयभन्दा बढी घाइते भएका छन्। त्यही घटनापछि हेटौँडामा आज बिहान ८:२० बजेसम्म प्रदर्शनकारीहरूको उपस्थिति बाक्लो रह्यो। यस क्रममा आक्रोशित युवाले हेटौँडा–१९ सानान्टारमा प्रहरीको मोटरसाइकल समेत जलाएका छन्।
जेन-जीले भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र अभिव्यक्ति स्वतन्त्रताको मागसहित सोमबारदेखि आन्दोलन सुरु गरेका हुन्। आज पनि उनीहरूले बिहान १० बजे हेटौँडा उपमहानगरपालिकाको गेट अगाडि भेला भएर प्रदर्शन गर्ने घोषणा गरेका छन्।













