हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधान दिवस–२०८२ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गरेका छन् ।
संविधान जारी भएको १० वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले ऐतिहासिक योगदान दिने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न संविधान महत्वपूर्ण दस्तावेज भएको उल्लेख गरेका छन् ।
“संविधान देशको मुल कानून हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आजको दिनलाई उत्सवका रूपमा मनाउँदै अघि बढ्नु पर्नेछ,” सन्देशमा भनिएको छ ।
देशको अवस्था उल्लासपूर्ण नभएको उल्लेख गर्दै उनले जनआन्दोलनबाट भएका क्षतिको परिपूरण गर्दै आगामी कदम चाल्नुपर्नेमा जोड दिएका छन् । उनले संविधानले विभेद र उत्पीडन अन्त्य गरी विविधतायुक्त समाजलाई राष्ट्रिय एकतामा बाँधेको भन्दै यसको कार्यान्वयनलाई सबैले प्राथमिकता दिनुपर्ने बताएका छन् ।
“यो १० वर्षको अन्तरालमा लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कामहरू भएका छन् । संविधानमा लिपिबद्ध हक अधिकारलाई कार्यान्वयन गर्न सबै सरोकारवालाको सक्रियता आवश्यक छ,” देवकोटाले भनेका छन् ।
संविधान दिवसले सबैमा नयाँ उत्साह भर्ने विश्वास व्यक्त गर्दै उनले संविधानको संरक्षण, कार्यान्वयन र लोकतान्त्रिक मूल्य–मान्यताको विकासमा सबै राजनीतिक शक्तिहरू उच्चतम समझदारीका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।














