काठमाडौँ । भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने जेनजीहरूको प्रदर्शनमा प्रहरीले गोली प्रहार गर्दा १५ जनाको मृत्यु भएको छ।
मृतकमध्ये ७ जनाको शव ट्रमा सेन्टरमा, ३ जनाको सिभिल अस्पतालमा, १ जनाको त्रिवि शिक्षण अस्पतालमा र २ जनाको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा राखिएको छ।
ट्रमा सेन्टरका चिकित्सकका अनुसार बाँकेका २५ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीय सिमाय चौलागाईंको टाउकोमा गोली लागेको थियो। त्यस्तै, कालिकोट खाडाचक्र–१ का २५ वर्षीय पवन शाहिको पेटमा गोली लागेको थियो।
प्रहरीको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगाना पनि घाइते भएका छन्। बानेश्वरमा जारी प्रदर्शनमा घाइते भएका ८७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रदर्शनकारीहरूले भ्रष्टाचारको विरोधमा आवाज उठाउँदै आएको र सुरक्षामा खटिएका प्रहरीले गोली प्रहार गरेको बताइएको छ।












