हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले पाँच बुँदे निर्णय गरेको छ ।

बैठकले भदौ २३ र २४ गते जेनजि अभियान प्रदर्शनका क्रममा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको शुभकामना पनि सन्देशमार्फत दिइएको छ ।

संविधान जारी भएको दिन असोज ३ गतेलाई भव्यरूपमा संविधान दिवसका रूपमा मनाउने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै जेनजि अभियान प्रदर्शनका क्रममा बागमती प्रदेश सरकारका संरचना, स्थानीय तहका संरचना तथा विभिन्न व्यक्तिहरूको निजी व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिको विवरण संकलन गर्ने निर्णय भएको छ ।

शुसाशन र खर्च कटौतीको सवालमा प्रभावकारी ढंगले शीघ्र कार्यक्रम ल्याएर अगाडि बढाउने तथा प्रदेशसभाको बैठक यथाशीघ्र सञ्चालन गर्ने निर्णय पनि सर्वदलीय बैठकले गरेको छ ।

बैठकमा एमाले संसदीय दलका नेता जेएन थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेल, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक रत्न ढकाल तथा कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेलको उपस्थिति थियो ।