हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा एक दिवसीय पालिका स्तरीय कृषि योजनातर्जुमा कार्यक्रम शुक्रबार हेटौंडामा सम्पन्न भएको छ। कार्यक्रममा कृषि क्षेत्रको समृद्धि, बजेट विनियोजन, सहकार्य र नीति निर्माणमा प्रभावकारी समन्वय गर्ने विषयमा गहिरो छलफल गरिएको थियो।

संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षता, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता, उपप्रमुख सानुका जिलु ईटेल, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेल तथा विभिन्न पालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरूको उपस्थिति रहेको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष तेजराज अधिकारी, कार्यसमिति सदस्य, कृषि प्रवर्द्धन समिति सदस्य तथा सञ्चारकर्मीहरूको समेत सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रानाभाटले कृषिमा आधारित योजनालाई पालिकास्तरसम्म पुर्‍याउने र बजारीकरणको पक्षमा संघले सहकार्य गर्न सक्ने धारणा राख्नुभयो। सहायक प्रमुख जिल्ला अधिकारी कडेलले कृषिमा बजेट विनियोजन गर्दा प्राथमिकता र वस्तु विशेषताका आधारमा छुट्टाछुट्टै भण्डारण केन्द्र आवश्यक रहेको बताउनुभयो। उहाँले निजी क्षेत्रको लगानी बिना कृषिमा पर्याप्त प्रगति सम्भव नरहेको उल्लेख गर्नुभयो।

जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले पालिकाहरूले कृषि क्षेत्रमा जिम्मेवार भूमिका खेलिरहेको उल्लेख गर्दै वकैया, मकवानपुरगढी, मनहरी लगायतका स्थानमा राम्रो काम भइसकेको बताउनुभयो। उहाँले कार्यक्रममा प्रस्तुत गरिएका सुझावहरूलाई पालिकाले योजनामा समेट्ने प्रतिबद्धता जनाउनुभयो।

कृषि प्रवर्द्धन समिति संयोजक निलम पाण्डेले विषादी नियन्त्रण, भण्डारण सुविधा, किसानलाई उचित मूल्य, र निःशुल्क पसल उपलब्ध गराउने व्यवस्था आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा संघका महासचिव प्रतिमा श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने सदस्यद्वय विवेक सुवेदी र फ्रेन्चु लामाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पालिकाले योजनातर्जुमा गर्नुपर्ने बुँदाहरू प्रोजेक्टरमार्फत प्रस्तुत गर्नुभयो। प्रमुख प्रस्तावहरूमा निम्न बुँदाहरू समावेश थिए:

प्रत्येक वडामा एक सिट भण्डार र एक बीउ बैंक निर्माण
एक वडामा एक पशु र एक कृषि प्रविधिकको नियुक्ति
वडास्तरमै हाटबजार सञ्चालन
न्यूनतम समर्थन मूल्य निर्धारण
उत्पादित उपजको ढुवानी र बजारीकरणको व्यवस्था
पशुपंक्षी तथा कृषिबालीको निःशुल्क बीमा
२० वर्षभन्दा बढी कृषिमा लागेका उद्यमीलाई पेन्सन सुविधा
उत्पादनको आधारमा अनुदान व्यवस्था
मल उत्पादन तथा वितरणमा पालिकाको भूमिका
स्थानीय बीउको संरक्षण, विषादी परीक्षण, प्याकेजिङ र लेबलिङको व्यवस्था
रोगविरुद्ध खोपको सहज उपलब्धता
किसान परिचयपत्र, बीउ पूँजी, विद्युत र खानेपानीमा सहुलियत
सम्पूर्ण प्रत्यक्ष कर मिनाहा तथा कृषिउद्यम नवीकरण निःशुल्क