देवी प्रसाद गौतम, मकवानपुर, २ फागुन । शहिद दिवस भन्नाले के बुझीन्छ ? के लाई शहिद भन्ने ?प्राणी भन्ने वित्तिकै जिवित भन्ने बुझीन्छ । जिवित प्राणीमध्ये मानिसले अरुको मुक्तिको लागि आफ्नो ज्यान गुमायो भने त्यसलाई शहिद भन्ने गरिएको हुनपर्छ । कतिले मुक्ती भनेको के हो ? भन्ने समेत नबुझेको हुन सक्छ । यहाँ शहिदको अपमान भयो भन्ने पनि धेरै छन् । को शहिद हो ? को होइन भन्ने जिज्ञासा समेत व्याप्त छ । पहिलो शहिद को भन्ने पनि छ । अहिले सम्म भन्ने हो भने अन्तिम (आजसम्म) शहिद को ? भन्ने पनि हुन सक्छ । यसको कुनै हिसाव किताव राखिएको पाईदैन । अर्थात व्याख्या भएको छैन ।

अहिले नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको चर्चा शिखरमा पुगेको छ । उनलाई के भन्ने भनेर चेतना भएका मानिसले आआफ्ना धारण राखेको पाईन्छ । कोहीले भन्छन् पृथ्वीनारायण शाह एकताका प्रतिक हुन् । कतिले भन्ने गर्छन् यिनी सामन्त हुन् । यिनले अरुको राज्य मासि दिए । अर्थात कब्जा गरे भन्ने छ । हाम्रो भेष भुषा भाषा संस्कृति समाप्त भयो भन्ने तर्क गर्ने गरिएको छ ।नेपाल एकीकरण गर्दा कति शहिद हुनु भयो । तिनले कसका लागि ज्यान अर्पण गरे । के का लागि गरे । विभिन्न टुक्रा राज्यलाई धम्क्याएर, आक्रमण गरेर,फकाएर, मित लगाएर पृथ्वीनारायण शाहले नेपाल राज्य विस्तार गरेको प्रष्ट छ । पृथ्वीनारायण शाहको कसरी उदय भयो भन्ने ईतिहास छुट्टै छ ।

त्यसअघि यस नेपाल भुगोलमा कसको राज्य थियो ? तिनीहरुको पुर्खाको विकास हेर्नु पर्ने हुन्छ । नेपाल उत्पत्तिको छुट्टै ईतिहास होला । यहाँ वसोवास गर्ने मानिस कताबाट यहाँ आए भन्ने पनि छ । कोही यहि माटो भित्रबाट उत्पत्ति भएको हुँ भन्ने पनि छन् । गौतम बुद्धको जन्मभूमि कपिलाकोटको छुट्टै इतिहास रहेको पाईन्छ । त्यतिबेला पनि कोही शहिद भयो होला । ईतिहासको कालखण्डमा अनेक मानिस शहिद भएको हुन पर्छ । नेपाल एकीकरण पुर्व र यताको शहिदको बारेमा चर्चा हुन पर्छ । यताकोलाई मान्ने र उताकोलाई नमान्ने हो कि ? भन्ने पनि हुन्छ । वैदेशिक शासक विरुद्ध लड्ने नेपाली मरेका छन् ति सच्चा शहिद हुन् । लखन थापा पहिलो शहिद भनिएको छ । राणा विरुद्ध संघर्ष गरेकोले सन् १९३३ मा गोरखा मनकामना मन्दिर परिसरमा झुण्डाएर मारेको पाईन्छ । उनी पहिलो हो कि हैन ? भन्ने प्रश्न गर्ने ठाऊँ छ किनकी उनि भन्दा अघि पनि शहिद भएको हुन सक्छ ।

नेपाल एकीकरण गर्दा वैदेशिक सेना, शाकससँग लड्ने भिमसेन थापा, भक्ती थापा जस्ता व्यक्ति पनि छन् । आन्तरिक शासकसँग संघर्ष गर्ने गंगालाल, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री जस्ता व्यक्तित्वले आफ्नो ज्यान अर्पण गर्नु भएको छ । त्यसयता विभिन्न समयमा अधिकारको लागि संघर्ष गर्दा ज्यान गुमाउनु भएका व्यक्तित्व पनि हुनुहुन्छ । चाहे प्रजातन्त्रको लागि होस् चाहे गणतन्त्रको लागि होस् । २०५२ फागुण १ देखि देशमा भएको सशस्त्र संघर्षका बेलामा पनि राज्य विरुद्ध संघर्ष गर्ने मुक्ति सेना र नागरिक तर्फका मानिस मरेका छन् । पुरानो शासनको रक्षार्थ लागेका सेना, प्रहरी, कर्मचारी, शिक्षक, पार्टीका कार्यकर्ता समेत मरेका छन् । कोही आन्दोलन भएको ठाऊँमा हेर्न जाँदा मृत्यु भएका छन् । कोही लुगा धुन लागेको बेलामा गोली लागेर मरेका छन् । कोही तरकारी किन्न गएका बेलामा गोली लागेको छ । तिनलाई पनि शहिद भनिएको छ । जंगबहादुर राणाले आफ्नो मामा माथवर सिं.थापाको हत्या गरेका छन् । कति पर्वको नाममा हत्या भएका छन् । तिनलाई के भन्ने ?यता जंगबहादुरलाई आफ्नै सिपाहिले हत्या गरेका छन् ।जंगबहादुरका छोराहरु सखाप भएका छन् । जंगबहादुरले पनि काठमाडौ आसपासका आफु विरुद्धका मानिसको कत्लेआम गरेका छन् । अन्तमा राजा विरेन्द्रको वंश नास गरिएको छ । पार्टीका कार्यकर्ताको ज्यान गएको छ त्यसलाई के भन्ने ?

ईत्यादी घटनामा मृत्यु हुने सबैलाई शहिद भन्ने कि न भन्ने ? यहाँ त्याग गर्ने जिउँदो मानिसलाई समेत जिउँदो शहिद भन्ने गरिएको छ । त्यसलाई शहिद भन्ने कि नभन्ने ?यहाँ आफ्नो लागि संघर्ष गर्दा मरेको मानिसलाईसमेत शहिद भनि राज्यले क्षतिपुर्ति दिएको छ । के त्यो शहिद हो त ?सरकार संचालकहरुले शहिदको कसरी व्याख्या गरेको छ । तिनीहरुको रेकर्ड कसरी राखेको छ ? स्पष्ट पार्नु पर्ने हो । कति शहिद हुनेको नाम समेत नहुन सक्छ । गुमनाम हुन सक्छ । पार्टीहरुले आफ्नो आप्mनो नेतृत्वमा भएका संघर्षहरुमा मृत्यु भएकाहरुलाई शहिद भनेका छन् ।
लखन थापाको जन्म गोर्खा बुङकोट–४ काहुले भङगारमा वि.स.१८९१ (सन् १८३४) मा भएको पाईन्छ । लखन थापा वि.स.१९११ मा पुरानो गोरखगणमा भर्ति भएको पाईन्छ । प्रजातन्त्र ल्याउन, जंगबहादुर विरुद्ध उनले अंगे्रजसँग नतमस्तक बनेको, हुकुमी शासन चलाएको, मुलुकी एैनबाट आदिवासी जनजातीको सामाजिक स्तर खस्काएको लगायतका कारण विद्रोह गरेकोले उनको हत्या गरिएको ईतिहास छ । सो संघर्षमा लखन थापा, जयसिंह चुमि(राना), अछामी मगर र अन्य चार जना समेत मारिएको ईतिहास छ ।

देश र जनताका पक्षमा कतिले आफ्नो ज्यान, धन, सम्पत्ति, परिवार समेत गुमाएका छन् । वेघरवार भएका छन् । तर तिनको हिसवा किताव कसैले गरेका छैनन । यहाँ आफनो पत्नि, छोरा, छोरी, साली, साला, भएसम्म मितको समेत राम्रो व्यवस्था गरिएको छ । जनताले त्यो महसुस गरि रहेका छन् । जति परिवर्तन भनिएपनि जनताको ईच्छा पुरा कसैले गर्न सकेको पाईदैन र जनता सन्तुष्ट पनि छैनन् । सरकार संचालक, राज्यको ओहदामा पुग्नेले राष्ट्रको ढुकुटीबाट चाहे जति खर्च लिएको छ ।सांसदको पिए देखि अन्य सुविधा सबै लिएको कुरा पत्रपत्रिकामा छापिएको छ ।

भ्रष्टाचारको सिमा नाघेको कुरा आई रहेको छ । तर कन्ट्रोल भएको छैन । मन्त्रिहरु भन्दैछन् प्वालै प्वाल छ यसको अर्थ के ?कन्ट्रोल गर्न सकिदैन भने भन्नु प¥यो जनतालाई । विभिन्न संयन्त्रहरु छन् तर खै रोखिएको छैन । ति के हेरेर बसेका छन् । ति राज्य संयन्त्रमा बस्ने कर्मचारी, नेता, मन्त्री, प्रतिनिधि समेतले आफुलाई चाहिने खर्च राज्य ढुकुटीबाट लिएको छैन ?ढुकुटीबाट खर्च लिएपछि राज्यको निम्ति काम गर्नु पर्ने हैन र ?सुन काण्ड खै ?निर्मला बैनी जस्ताको मुद्दा खै ?विमान खरिदको कुरा के भएको हो ?सेन्डीकेट के भो ?काम नगरेर रकम लिने ठेकदारको काम कारवाही कता गयो ?के शहिदले देखाएको बाटो यहि हो त ?यहि हेर्नको लागि शहिद र सच्चा जनताले संघर्षमा भाग लिएर ज्यान आहुति दिएका हुन् त ।ति शहिदका सपना कहिले पुरा हुन्छन् ? कि नेताको मात्र सपनाको लागि लडेको थिए ?नेताको सपना पुरा भएपछि शहिदकोसपना पुरा हुने हो त ?

जे होस् यत्ति भन्न सकिन्छ जसले अरुको हक, अधिकारका लागि ज्यान आहुति ग¥यो, देशको लागि ज्यान अर्पण गर्न तयार भयो र ज्यान गुमायो त्यसलाई मात्र शहिद भन्नु पर्ने हो । कसैले आफ्नो लागि मात्र ज्यान अर्पण गर्छ त्यो आम शहिद हुन सक्दैन । शहिद दिवसको सम्झनामा ति शहिदको सपना, जनताको सपना पुरा होस्, देशका जनता सुखि हुन् । देश समृद्ध बनोस् भन्ने कामना गरिएको छ ।

(समसामयिक विषयमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका लेखक देवी प्रसाद गौतम नेपाल लेखापढी कानून व्यवसायी एसोसियसन मकवानपुर हेटौँडामा आवद्ध हुनुहुन्छ)