बढ्दो सूचना सञ्जालबीच उपस्थिती जनाउनु मात्र ‘थाहान्यूज’को धर्म होइन, वास्तविक सूचना दिनु यो अनलाइन पत्रिकाको कर्म हो । ‘थाहान्यूज’को यो कर्मप्रतिको विश्वास आम नागरिकको विश्वाससंग जोडिएको छ । छापा, विद्युतीयपछि दु्रत गतिमा लम्किरहेको अनलाइन पत्रकारिताको यात्रामा आज ११ असोज २०८० तदनुसार २८ सेप्टेम्बर २०२३ का दिनबाट ‘थाहान्यूज’ नामक सञ्चार सारथि लामबद्ध हुन आइपुगेको छ । ‘थाहान्यूज’लाई आजैको दिनबाट सार्वजनिक गर्नुको विशीष्ट महत्व र अर्थ छ, त्यो के हो भने आज विश्व थाहा दिवस हो । थाहा पाउने अधिकारबाट कसैलाई बञ्चित गराइनु हुन्न भन्ने मान्यताका साथ आज विश्वभर थाहा दिवस मनाइँदैछ । यही दिवसको सन्दर्भ पारेर थाहा सञ्चार प्रा.लि.ले नागरिकलाई थाहा दिनका लागि अनलाइन पत्रिका ‘थाहान्यूज’ प्रकाशन आरम्भ गरेको छ । प्रकाशन आरम्भ र सार्वजनिक भएसंगै यो अनलाइन अब सबैको साझा भएको छ । थाहा पाउनका लागि ‘थाहान्यूज’ निरन्तर सञ्चारकर्मममा लागिपर्नेछ । यो अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण पाठक, स्रोता, दर्शक, शुभेच्छुक, शुभचिन्तक लगायत ‘थाहान्यूज’ संग कुनै न कुनै रुपमा जोडिने सबैलाई बधाई, धन्यवाद र आभार व्यक्त गर्दछौं ।

पत्रकारितालाई समाजको ऐना र समाचारलाई हतारको साहित्य भन्ने भाष्य हामीबीच छ । समाजको यथार्थता समाजमै प्रष्ट रुपमा देखाइदिनु पत्रकारिताको धर्म हो । समाजका विभिन्न समाचार तथा सूचना पत्रकारिताको कर्ममार्फत सम्प्रेषण गर्ने कार्यका लागि हाम्रो उपस्थिती भएको हो । विशेषत : ‘थाहा’ पाउने नागरिकको अधिकारमा पैरवी गर्ने अभियानको एउटा नाम ‘थाहान्यूज’ बन्ने छ भन्ने हामीले आशा लिएका छौं । थाहा शब्द आफैंमा ओजपूर्ण, अत्यन्तै प्रभावशाली छ । क्रान्ति, चेत, बोध, ज्ञान अनेक रुपमा थाहालाई हामी अर्थ्याउन हामी सक्छौं । यो एउटा विद्रोहको नाम पनि हुन आएको छ । मकवानपुरका जन्मेका रुपचन्द्र विष्टले थाहा अभियान नै चलाए । शासकले जनतालाई थाहा दिनुपर्छ भन्ने उनको अभियानको मर्म थियो । उनै रुदाने (विष्ट)ले चलाएको अभियान र दबाबमूलक खबरदारीबाटै हामीलाई सूचनाको हक प्राप्त भएको छ । यसर्थ पनि थाहा र सूचनाको हक एक अर्काका पर्यायवाची हुन् भन्दा अत्युक्ति नहोला ।

‘थाहान्यूज’को उपस्थितीले खबरजगतमा एउटा संख्यामात्र नभई विश्वासिलो र भरपर्दो सञ्चार सारथि खडा भएको छ भन्नेमा हामी ढुक्क छौं । पत्रकारआचारसंहिता, सञ्चारसंग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन, नियमको परिधिभित्र रहेर हामी सञ्चार कर्म गर्नेछौं । उपस्थिती एउटा सुरुवात् हो, अब हिडाउने, गन्तव्यसम्म पुर्‍याउन साथ, सहयोग हौसला दिने तपाईले हो । यो यात्रालाई प्रभावकारी, परिणाममुखी बनाउनका लागि यहाँहरुले पक्कै पनि साथ दिनुहुनेछ भन्ने विश्वास छ । पुनः एक पटकलाई सबैलाई बधाई ।