मकवानपुर । मकवानपुरबाट सामाजिक कार्यक्रममा सक्रिय संस्था सहयोगी मन नेपालको आयोजनामा बुधबारबाट करिब एकहप्ते ‘राजमार्ग सवारी दुर्घटना न्युनिकरण सचेतना तथा शुद्ध सनातन रक्षा शान्तिदिपू सचेतना कार्यक्रम’ को सुरुवात भएको छ । बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु बहादुर दहालले हेटौंडा–६ मा रहेको धरान चतरा राजमार्ग अन्तर्गत जिरो किलोमिटर चौघडा चोकबाट दिप प्रज्वलन र ब्यानर समुद्घाटन गरेर कार्यक्रमको सुरुवात गरिएको हो ।

अध्यक्ष दाहालले कार्यक्रमको उद्घाटन गर्दै सहयोगी मन नेपालका अध्यक्ष केदार प्रसाद चौलागाईं, उपाध्यक्ष शिव खनाल र बलभद्र खतिवडाको टोलीलाई यात्रा सफलताको कामनासहित फुलमाला,खादा र अबिर लगाएर बिदाई गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सहयोगी मन नेपालको कार्यक्रमले सवारी दुर्घटनाको न्यूनीकरणमा थप टेवा पुग्ने भनाइ राखेका थिए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा सदस्य विजय पौडेल, हेटौंडा उपमहानगरपालिका ६ नम्बर निवर्तमान वडा सदस्य तथा नव जीवन ज्योती क्लबका अध्यक्ष राज कुमार बास्तोला, युवा परिषदका शिव खतिवडा, प्रहरी चौकी चौघडाका इन्चार्ज धुर्ब बहादुर श्रेष्ठ, नेपाली काङ्ग्रेस ६ नम्बर वडा सभापति रामहरि तिमल्सिना, उपसभापति केशव धिताल, सचिव राज कुमार फुयाँल, रास्वपा ६ नम्बर वडाका निवर्तमान सभापति नवराज पौडेल, नवजीवन ज्योति क्लबका निवर्तमान अध्यक्ष श्रीराम पुडासैनी, कोषाध्यक्ष बुद्ध रत्न मानन्धर लगायत स्थानीय समाजसेवीहरुको उपस्तिथि रहेको थियो।

सहयोगी मन नेपालले विगत लामो समयदेखी समुदायको हरेक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ।