हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। मंगलबार बसेको प्रदेश सभाको बैठकबाट उनले सरकारलाई आवश्यक पर्ने बहुमतभन्दा बढी मत प्राप्त गर्नुभएको हो।
प्रदेश सभामा १०४ सदस्य कायम रहेकोमा मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा ५८ जना सांसद उपस्थित थिए। जसमा मतदान प्रक्रियामा भाग लिँदै मुख्यमन्त्री थापाको पक्षमा ५७ मत परेको छ भने विपक्ष वा तटस्थमा कुनै पनि मत परेको छैन। सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्दछ।
दलहरूको सहभागिता र अनुपस्थितिबैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस (३६), नेमकिपा (३) र हाम्रो नेपाली पार्टी (२) का साथै सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठक बहिस्कार गर्दै सहभागी भएका थिएनन्।
सत्तारूढ दलहरूका तर्फबाट उपस्थित सांसदहरूले मात्र मतदान प्रक्रियामा भाग लिएका थिए। एमालेबाट उपसभामुखसहित २५ सांसद रहेकाले तटस्थ भूमिका निर्वाह गर्दै उपसभामुखले मत विभाजनमा सहभागिता जनाउनु भएन। प्रतिपक्षी तथा केही सत्ता साझेदार दलहरूको अनुपस्थितिबीच सत्ता पक्षका सांसदहरूको मात्र उपस्थितिमा विश्वासको मतसम्बन्धी प्रस्ताव पारित भएको हो।











