हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, जिल्ला कार्यसमिति मकवानपुर, हेटौंडाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग रकम जम्मा गरेको छ।

विपद्को यस दुःखद घडीमा बाढीपीडित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै समितिले आफ्नोतर्फबाट उक्त आर्थिक सहयोग प्रदान गरेको हो। मकवानपुरका सबै इकाई मन्दिर, तथा श्रीकृष्ण प्रणामी युवा परिषद, श्री बाइजुराज महिला समितिको तर्फबाट संकलित रकम हस्तान्तरण गरिएको हो ।

समितिका जिल्ला अध्यक्ष श्रीराम खतिवडाद्वारा हस्ताक्षरित पत्रमार्फत जिल्ला प्रशासन कार्यालय, मकवानपुरलाई उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको औपचारिक जानकारी गराइएको छ।

विपद्का कारण विस्थापित तथा कष्टकर जीवन बिताइरहेका परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि यो सहयोगले केही हदसम्म भए पनि सहजता ल्याउने विश्वास समितिले व्यक्त गरेको छ। सरकारले रसुवाको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न गरेको आह्वानअनुरुप यो सहयोग जुटाइएको हो।

“विपद्मा परेकाहरूको पीडामा साथ दिनु नै मानवताको सच्चा धर्म हो” भन्ने भावना आत्मसात गर्दै गरिएको यस सहयोगले सामाजिक तथा मानवीय सेवाप्रतिको संस्थागत प्रतिबद्धतालाई थप प्रष्ट पारेको छ।

उक्त सहयोग रकम हस्तान्तरण तथा जानकारी कार्यक्रममा केन्द्रीय सदस्य केदार चौलागाईं, सल्लाहकारहरू गुरु प्रसाद खतिवडा र राम प्रसाद शर्मा, बागमती प्रदेश सदस्य रामहरि आचार्यलगायत जिल्ला समितिका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।