काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघ र यसमा आबद्ध विभिन्न संघ-समितिहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा रु. १० लाख ११ हजार १ सय ११ सहयोग गरेका छन्।
महासंघका अध्यक्ष राजेन्द्रबिक्रम बानियाँले उक्त रकमको बैंकचेक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल मार्फत कोषमा जम्मा गर्नेगरी हस्तान्तरण गरेका हुन्।
चेक ग्रहण गर्दै मन्त्री लम्सालले विपद्को यस कठिन घड़ीमा सरकारसँग हातेमालो गर्दै राहत अभियानमा सहयोग पुर्याएकोमा महासंघ र आबद्ध सम्पूर्ण व्यवसायीहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे।

सो अवसरमा अध्यक्ष बानियाँले प्राकृतिक विपद्का बेला निजी क्षेत्रको सामाजिक उत्तरदायित्व अझ बढी महत्वपूर्ण हुने बताए। बाढी प्रभावितहरूको उद्धार र पुनःस्थापनामा सानो भए पनि योगदान पुर्याउने उद्देश्यले रकम संकलन गरिएको उल्लेख गर्दै उनले विपद्को सामना गर्न सबै क्षेत्र एक हुनुपर्ने र आगामी दिनमा पनि मानवीय कार्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
उक्त सहयोग रकम नेपाल ट्रक यातायात व्यवसायी महासंघसहित नारायणी यातायात व्यवसायी संघ, पश्चिमाञ्चल यातायात व्यवसायी समिति, सेती–महाकाली ट्रक व्यवसायी संघ, लुम्बिनी ट्रक व्यवसायी संघ, वाणगंगा यातायात व्यवसायी समिति, भेरी ट्रक व्यवसायी संघ, मध्यपश्चिमाञ्चल ट्रक ट्रयाक्टर व्यवसायी समिति, कोशी ट्रक व्यवसायी संघ र सर्लाही ट्रक व्यवसायी संघलगायत संस्थाहरूको संयुक्त प्रयासमा संकलन गरिएको हो।
महासंघले कठिन परिस्थितिमा सबैको सहकार्य आवश्यक रहेको औंल्याउँदै आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिने जनाएको छ।











