हेटौँडा । श्रीकृष्ण जन्माष्टमी–२०८३ को शुभ अवसरमा मकवानपुरमा जिल्लास्तरीय भव्य शोभायात्रा आयोजना गरिने भएको छ। श्रीकृष्ण प्रणामी सेवा समिति, मकवानपुरको आयोजनामा हुने सो शोभायात्रालाई व्यवस्थित, मर्यादित र नमुनायोग्य बनाउन मूल समारोह समितिका साथै विभिन्न उपसमितिहरू गठन गरिएको छ।
जिल्ला अध्यक्ष श्रीराम खतिवडाको अध्यक्षतामा बसेको बैठकले संस्थाका उपाध्यक्ष रमेश खतिवडाको संयोजकत्वमा ‘श्रीकृष्ण जन्माष्टमी शोभायात्रा मूल समारोह समिति’ सर्वसम्मत रूपमा गठन गरेको हो।
मकवानपुरका विभिन्न मन्दिर, धार्मिक संघ–संस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व तथा भक्तजनहरूको सहभागिता रहेको उक्त बैठकले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न स्वयंसेवक परिचालन, स्थान व्यवस्थापन, सुरक्षा तथा ट्राफिक समन्वय, प्रचारप्रसार र आर्थिक व्यवस्थापनजस्ता विषयगत उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको छ।
धार्मिक झाँकी, भजन–कीर्तन र भक्तिमय सांस्कृतिक प्रस्तुतिका साथ जिल्लाभरका सबै कृष्ण प्रणामी मन्दिर तथा भक्तजनहरूलाई एकै ठाउँमा समेटेर सामूहिक रूपमा यो पर्व मनाइने आयोजकले जनाएको छ। सहभागीहरूले श्रीकृष्ण जन्माष्टमीलाई केवल धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी आपसी प्रेम, भाइचारा, सामाजिक सद्भाव, करुणा र धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने अवसरका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।











