हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ शान्तिटोलस्थित पिस पार्क नजिक नवनिर्मित शनिदेव मन्दिरको शनिवार एक समारोहका बीच समुद्घाटन गरिएको छ।
स्वर्गीय हजुरबुबा कोमलप्रसाद चौलागाई र हजुरआमा घृतकुमारी चौलागाईको स्मृतिमा उनका नाति आकाश चौलागाईले उक्त मन्दिर निर्माण गरेका हुन्। नवनिर्मित मन्दिरको चौलागाई खलकका ज्येष्ठ सदस्य पूर्णभद्र चौलागाईले उद्घाटन गर्नुभएको हो।
हाल रोजगारीको सिलसिलामा अमेरिकामा रहनुभएका हेटौंडा-६ शान्तिटोल निवासी आकाश चौलागाईले रु ५ लाखभन्दा बढीको व्यक्तिगत लागतमा मन्दिरको निर्माण गराउनुभएको हो। यस क्षेत्रमा शनिदेव मन्दिरको आवश्यकता रहेको र वरपर यस्तो मन्दिर नभएकाले परिवारको सल्लाहमा मन्दिर निर्माण गरिएको निर्माणकर्ताले जनाएका छन्।
शनिदेवको पूजाआजा गर्नाले ग्रहदशा कट्ने र धार्मिक आस्था अभिवृद्धि हुने भएकाले मन्दिर निर्माण गरिएको बताइएको छ। मन्दिरमा प्रत्येक शनिवार नियमित रूपमा पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ।
उद्घाटन कार्यक्रममा चौलागाई परिवारका सदस्यहरू, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।











