बकैया । मकवानपुरको बकैया गाउँपालिका–२ धियाल भमरामा नेकपाले अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन गरेको छ। जिल्ला क्षेत्र नम्बर–१ केन्द्रित चुनावी अभियानअन्तर्गत आयोजित कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमसँगै गाउँपालिकाका विभिन्न वडामा घरदैलो अभियानलाई पनि तीव्रता दिइएको पार्टीले जनाएको छ। घरदैलोमार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीले आफ्ना नीति, कार्यक्रम र चुनावी एजेन्डा प्रस्तुत गरिरहेको छ।
भेलामा सहभागी नेताहरूले यस क्षेत्रको विकास, स्थानीय अधिकार, अव्यवस्थित बसोबासको व्यवस्थापन, धार्मिक तथा सामाजिक संरचनाको संरक्षण, खेलमैदान निर्माण र सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले निर्वाचनलाई स्थानीय मुद्दा र जनअधिकारसँग जोडिएको राजनीतिक अवसरका रूपमा व्याख्या गर्दै संगठनलाई थप सुदृढ बनाउनेमा जोड दिएका थिए।
कार्यक्रममा पार्टीका केन्द्रीय तथा प्रदेश तहका नेताहरूले अभियानलाई गाउँ–गाउँसम्म विस्तार गर्ने रणनीति सार्वजनिक गरेका थिए। भेलाको अध्यक्षता पार्टीका स्थानीय नेताले गरेका थिए भने स्वागत मन्तव्यसमेत स्थानीय तहबाटै राखिएको थियो।
यसैक्रममा बारा र मकवानपुरको सिमानामा पर्ने बकैया गाउँपालिका–६ खोबिल्टोमा पनि कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय नेताहरूले चुनावी अभियानलाई वडा तहसम्म व्यवस्थित र सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
पार्टीले आगामी दिनमा घरदैलो, अन्तरक्रिया तथा जनभेटघाट कार्यक्रमलाई थप विस्तार गर्दै अभियानलाई तीव्र बनाउने जनाएको छ।










