हेटौंडा । हेटौंडाको टिसिएन चौरमा सञ्चालन भैरहेको खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा जारी जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

सोमबार भएको क्वाटरफाइनल खेलबाट जित निकाल्दै ४ वटा टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । क्वाटरफाइनलमा जित निकाल्दै थाहा नगरपालिकाको मंगलेश्वर युवा क्लव, बज्रबाराहीको नवप्रतिभा क्लव, मनहरी गाउँपालिका र छहारी युवा क्लव हेटौंडा ११ ले अन्तिम चारमा स्थान बनाएका छन् । मंगलेश्वर क्लवले मिलन युवा क्लवलाई २५–२० र २५–१४ को सोझो सेटमा हराएको छ । दोस्रो खेलमा नवप्रतिभाले बागमती गाउँपालिकालाई २५–१९ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो ।

सोमबारै भएको अर्को खेलमा मनहरी गाउँपालिकाले सफल केयर हेटौंडा १५ लाई २५–१२ र २५–२२ को सोझो सेटमा हराएको हो । अन्तिम खेलमा छहारी युवा क्लवले पशुपति युवा क्लव हेटौंडा ९ लाई २५–१४ र २५–१८ को सोझो सेटमा पाखा लगाएको हो । फाइनल प्रवेशका लागि मंगलेश्वर र नवप्रतिभा क्लव तथा मनहरी गाउँपालिका र छहारी युवा क्लवको बीचमा खेल हुनेछ ।

सेमिफाइनल मंगलबार बिहान र फाइनल दिउँसो १ बजेबाट हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेता टिमले एकलाख र उपविजेता टिमले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमिफाइनलमा पराजित हुने दुई टिमले समान नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।