साहित्यकार अधिकारी ।

विश्वराज अधिकारी

मैले फेसबुकमा प्रमिलाको नाम सर्च गरें। प्रमिलालाई फ्रेन्ड रिक्वेस्ट पठाए पनि। उनले एसेप्ट गरेको नोटिफिकेसन तत्काल आयो। प्रमिलाको त्यो इमिडिएट रेस्पोन्सबाट मा निकै पुल्कित भएँ।
यसरी म प्रमिलाको फेसबुक फ्रेन्ड हुन पुगेको थिएँ।
प्रमिलासँग फेसबुकमा म साथी भएको पाँच वर्ष भन्दा पनि बढी भइसकेको थियो। तर म उनीसँग साथी किन भएको भन्ने रहस्य खोलेको थिइन।
मेरो न्युयोर्क देखि काठमाडौ सम्मको यात्राको उद्देश्य केवल प्रमिलालाई म उनीसँग फेस बुककमा साथी बन्नुको रहस्य खोल्नु थियो। म सन् २०१९ को मेमा काठमाडौ पुगेको थिएँ। मैले अध्यापन गर्ने कलेजमा एक महिनाको फल ब्रेक भएको थियो।
फेसबुकमा म प्रमिलासँग यति घनिष्ट भइसकेको थिएँ कि उनलाई मैले काठमाडौको नया सडक स्थित एक रेष्टुरेन्टमा दिउँसोको खाजा खान आउन आग्रह गर्दा उनी नआउने स्थिति थिएन। भयो पनि ठ्याक्कै त्यस्तै। २०१९, मे १९, आइतवारका दिन प्रमिला मैले आमन्त्रित गरेको रेष्टुरेन्टमा आइ पुगेकी थिन।
हामीले औपचारिक कुरा गर्नु पर्ने स्थिति नै थिएन। केही सीमित विषय बाहेक हामी जुन विषयमा पनि खुलेर कुरा गर्न सक्ने स्थिति थियो। सीमित विषय के थियो त्यो जो कोहीले पनि अनुमान गर्न सक्थ्यो।
कुराकानीको प्रारम्भ मैले नै गरे। “हामीले वर्षौसम्म फेसबुकमा कुरा गर्दा पनि एउटा कुरा तपाइँलाई भन्ने हिम्मत मैले गर्न सकेको थिन। अन्य विषयहरूमा नै बढी कुराहरू गरियो। विचार आदान प्रदान भयो। तर आज भने त्यो कुरा भन्ने विचार गरेको छु। विचार मात्र होइन, निश्चय नै गरेको छु।” मैले हाँस्दै प्रमिलालाई भने अनि मेरो यो कुराले उनको मुहारमा कस्तो भाव ल्याउने हो थाहा पाउन उनको मुहारमा दृष्टिपात गरें पनि।
“फेसबुकमा भन्न नसकेर भेटेर नै भन्नु पर्ने के कुरा होला।” यो कुरा भन्दा प्रमिलाको मुहारमा केही गम्भीरताको छनक आएको थियो।
वातावरण शान्त थियो। नियतवस नै मेलै त्यो रेष्टुरेन्टको एक त्यस्तो कुना खोजेको थिएँ, जहाँ शान्ति थियो।
“म न अल्मलिएर एकै पटक विषयम प्रवेश गर्न चाहन्छु। म कलेजदेखि नै तपाइँसँग अति प्रेम गर्थ्ये। अहिले पनि त्येतिकै गर्छु। रत्ति भर पनि कमी आएको छैन। मैले तपाइँलाई प्रेम गरेको ४१ वर्ष भयो। यो ४१ वर्षमा बाग्मतीमा धेरै पानि बग्यो। धेरै किसिमका परिस्थितिहरू आए, गए। धेरै कुराहरूमा परिवर्तन आए। तर एउटा कुरामा कहिले परिवर्तन आएन। आउन सक्तैनन पनि। त्यो अपरिवर्तनीय छ। र त्यो अपरिवर्तनीय कुरा हो मैले तपाइँलाई अटुट प्रेम गर्नु।”
प्रमिलालले मेरो कुरा गम्भीरताका साथ सुनेझै मलाई लाग्यो।
मैलै भने, “कलेज जीवनमा मैले यो कुरा तपाइँलाई भन्न सकिन। यसका लागि मआफूलाई नै कहिले माफ गर्न सक्ने स्थितिमा छैन। कलेज जीवनमा म निकै दब्बु प्रवृतिको थिएँ। र मलाई दब्बु मेरो पारिवारिक स्थितिले तुल्याएको थियो। सायद मैले यो कुरा तपाइँलाई भनको भए पनि त्यसबेला तपाइँको प्रतिक्रिया कस्तो हुने थियो, मलाई अनुमान पनि हुन सकेन।”
“तपाइँले फेसबुकमा नै देख्नु भएको होला। म विवाहित छु। मेरा नाति नातिनाहरू पनि छन्।” प्रमिलाको यो भनाइले मलाई कुनै असर पारेन। मेरो लागि त्यो अपेक्षित थियो।
“म पनि विवाहित हो। मेरा पनि नाती नातिनाहरू छन।” मैले भने।
अनि थपे पनि।
“प्रेमको अर्थ सँगै बस्नु र शारिरीक सम्पर्क हुनु मात्र होइन। प्रेमको अर्थ कसैको मनमा नहल्लिने गरी बस्नु र कसैलाई त्यसैगरी बसाउनु पनि हो। तपाइँ नहल्लिने गरी मेरो मनमा बसेको कैयौ दसक भयो। कलेजको जमानामा तपाइँ मेरो मनको जुन स्थानमा हुनु हुन्थ्यो आज पनि त्येही स्थानमा हुनु हुन्छ। यस्तो स्थिति हुनु के प्रेम होइन?”
“प्रेम रेल जस्तो होइन जहिले पनि सरल रेखा र समतलमा मात्र गुड्ने। प्रेम केवल सरल रेखामा मात्र गमन गर्दैन। यो गमन गर्ने भूमि सम पनि हुन सक्छ, विषम पनि हुन सक्छ। अरूले बनाएको ऐन कानूनमा प्रेम चल्ने होइन, प्रेमले आफैले ऐन कानून बनाउँछ। प्रेम एक यस्तो प्रयोगशाला हो जहाँ प्रत्येक क्षण र प्रत्येक दिन नया नया प्रयोग हुन्छ। नया नया अविष्कार हुन्छ। नया नया चलनहरूको जन्म हुन्छ।”
“म प्रेम गर्छु। कोही मेरी प्रेमिका हुन र यसैगरी कोही मेरो प्रेमी हो भन्ने अटुट अनुभूति मात्र पनि प्रेम नै हो। एकले अर्कोलाई प्रेम गर्छ र त्यो पहिलोको अर्कोप्रति केवल एकहरो प्रेम मात्र हो, अर्कोले पहिलोलाई प्रेम गर्दैन भने पनि पहिलोको लागि त्यो प्रेम हो। उसले एकहरो प्रेम कसैलाई गरेता पनि, उसले कसलाई प्रेम गरेको त छ। अटुट रूपमा गरेको छ। त्यसैले त्यो पनि प्रेम नै हो।”
“अनि प्रेमको उत्कर्ष विवाह पनि होइन। विवाहितहरू अर्थात पत्नी र पति बीच प्रेम नहुन सक्छ। तर प्रेमीमा वा प्रेमीहरू बीच प्रेम हुन सक्छ। प्रेम एक भावना हो। यसको अस्तित्व हृद्यमा हुन्छ। बरू विवाह एक भौतिक वस्तु हो।”
मेरा पछिल्ला कुराहरूले प्रमिलालाई प्रभावित गरेको वा मेरा कुराहरू उनलाई अर्थपूर्ण लागेको मलाई लागेन। तर मेरो अन्दाज गलत हो भन्ने स्थिति पनि थिएन। उनले हाँस्दै भनिन्, “अमेरिकाको कलेजमा दर्शन पढाउनु हुन्छ कि क्या हो?”
“होइन, मारकेटिंग पढाउछु। आफ्नो समान कसरी बढी बढी भन्दा बढी बिक्री गरेर अत्यधिक मुनाफा कमाउन सकिन्छ भनेर वद्यार्थीहरू सिकाउँछु।” मैले तत्काल उत्तर दिएँ। र केही बेर हाँसे पनि। र त्यसरी हाँस्दा मेरो मनका उकुस मुकुसहरू बाहरि आएको जस्तो भइ रहेको थियो।
“तपाइँले मलाई आफ्ना यी कुराहरू सुनाउनुको अर्थ के होला?” प्रमिलाको यो प्रश्न पनि मेरो लाई अनेपक्षित थिएन।
मैलै हाँस्दै भने, “मेरो अटुटट, चिर र निस्वार्थ यो प्रेमलाई स्वीकार गरि दिनु होस भन्ने मेरो तपाइँसँग आग्रह रहेको छ।”

प्रमिलाले भनिन् “म विवाहित छु भन्ने कुरा तपाइँलाई दोहर्याएर भन्नु पर्छ कि क्या हो?”
“पर्दैन।”
“अनि?”
…………………..
वातावरण एक छिन शान्त रह्यो। हामी बीच कुनै कुराकानी भएन। प्रमिला घर फर्किने सुरसारमा रहेको मैले अनुमान गरे।
“अब हामी चाँडै नै यो रेष्टुरेन्टबाट निस्कने छौ। तपाइँलाई पनि फर्किन हतार भए जस्तो छ।” मैले भने।
भन्ने क्रम जारि नै राखे, “मेरा दुई अनुरोधहरू छन्, प्रमिला जी। पहिलो, मलाई फेसबुकमा ब्लक नगर्नु होला, कृपया। दोस्रो, यसै गरी भेट्दै गर्नु होला, बेला बेलामा। म काठमाडौ आएको बेला मेरो आग्रह स्वीकार गरेर मलाई भेट्न आइ दिनु होला। तपाइँले नै भेट्न बोलाए झनै बेस। अमेरिका आएको बेला मेरो घरतिर पनि आउनु होला। तपाइँले आफू बसेको ठाउँमा बोलाए पनि हुन्छ। म त्यहाँ पनि पुग्न सक्छु। म न्युयोर्क र तपाइँको बसाइ क्यालिफोर्निया भए पनि म आइ पुग्ने छु। निश्चय मान्नु होस।”
“तपाइँसँग केवल भेट मात्र पनि बेला बेलामा भइ रहे मलाई यो लाग्ने छ कि म र तपाइँ बीचमा गहिरो प्रेम छ। यो प्रेमले जीवन पाएको छ। कहिले काँहि भ्रमले पनि आनन्द दिन्छ। बाँच्ने हौसला बढाउँछ। तपाइँसँग मेरो प्रेम छ भन्ने भ्रम नै सही तर त्यो भ्रमले मलाई म तपाइँको प्रेमी हो भन्ने विश्वासमा राख्ने छ। विश्वास भ्रम र भ्रम विस्वास………….” मैले थपे। अनि एक केही क्षण हाँसे पनि।
मैले फेरि भने, “मानिस केवल सत्यमा मात्र बाँच्न सक्तैन। उसले सत्यमा बाँचेको ठान्छ भने त्यो उसको बा कसैको भ्रम हो। मानिस धेरे किसिमका भ्रम पालेर बसेको हुन्छ। मेरो तपाइँसँग प्रेम छ भन्ने भ्रम भने सुखद भ्रम हुनेछ।“
मैलै थपे, “मैले मेरो पत्नीलाई पत्नी भन्न भन्न सकेको छैन। उनीसँग विवाह भएदेखि नै उनीलाई पत्नीको रूपमा मैले स्वीकार्न सकेको छैन। यो पनि एक किसिमको मेरो भ्रम नै हो।”
केही क्षण हामी शान्त रहेऔ। शान्त रहेको क्षणमा नै प्रमिला मसँग छुट्टिन थालेको मैले देखे। केही क्षण पछि म पनि रत्न पार्कतिर लागे।
प्रमिलासँग काठमाडौमा भेट भएको दुई महिना भइसक्यो। म न्युयोर्क फर्केको पनि एक महिना भइसक्यो। यो बीचमा म धेरै पटक फेसबुकमा गएँ। प्रमिलाले मलाई ब्लक गर्ने हो कि जस्तो मलाई लागेको थियो। उनले फेसबुकमा मलाई ब्लक गरेको पाइन। मेरा पोस्टहरूमा उनले कमेन्ट नगरेता पनि लाइक भने गरेको पाएँ।

समकालीन साहित्यबाट।