जेबी खत्री 

धेरै पहिलेको कुरा । आज भन्दा लगभग ३० वर्ष पहिलेको । त्यतिबेला म त्यस्तै १५/१६ वर्षको हुँदो हुँ । मेरो भाकल रहेछ । बराह क्षेत्र धामको दर्शन गर्न जानुपर्ने । आमाले गरिदिएको भाकल । म राम्रोसँग कान नसुन्ने भएकोले ठूलो भएपछि बराह क्षेत्रको दर्शन गर्न आउँछ छोरो । यसलाई कान सुन्ने बनाइदेउ भगवान् भनेर आमाले सानो छँदा गरिदिएको भाकल रे । आमाबुवा मलाई लिएर बराह क्षेत्र जान नभ्याउँने भएपछि कसैको साथ लाएर पठाउँने भन्ने घर सल्लाह हुँदै थियो । भाकल गरेपछि म राम्रोसँग कान सुन्ने भएको रे । आमा पछिसम्म पनि त्यसो भन्नुहुन्थ्यो । पछिसम्म पनि म आमालाई कहिले काहीँ आश्चर्य चकित मुद्रामा आमा के म साँच्चै बराहक्षेत्र धामको भाकल गरेपछि मात्र कान सुन्ने भएको हुँ त ? भनेर सोध्ने गर्थेँ । आमा बडो विश्वासकासाथ अनुहारमा हाउभाउ झल्काउँदै भन्नुहुन्थ्यो,हो त नानी बराहक्षेत्र धाम भनेका त साँच्चै ठूला धाम हुन् । मागेको कुरा पुग्छ भन्छन् । पहाडको दूरदराजको ठाउँ कहीँ हिँड्न पनि हिउँद लाग्नै पर्ने । बर्खामास झरीवादल,खोलानाला,बाढीपहिरो । अहिलेको जस्तो यातायातको सुविधा पनि थिएन । माघे सग्रान्ति छेक बडिआमा र बडिआमाको छोरा दाजु बराहक्षेत्र धामको दर्शन गर्न जाने हुनुभएछ । बुवाआमाले मलाई पनि त्यसैबेला उहाँहरूसँगै पठाउँने निधो गर्नुभयो । माघ महिनाको कठङ्¥याउँने जाडोमा हामी बाटो लाग्यौँ । म चुवाडेबाट । उहाँहरू सोभाराबाट । नयाँ खोलाको पुलमा जो पहिला पुगेपनि पर्खेर बस्नु पर्ने सल्लाह भयो । बुवाआमाले मलाई केटाकेटी नै छ राम्रोसँग पु¥याएर ल्याइदिनु भनेर उहाँहरूको जिम्मा लाएर पठाउँनु भयो ।

नयाँ खोलामा आएर मैले लगभग ३ घण्टा जति पर्खनु प¥यो । नयाँ खोला पाँचथर र धनकुटा जिल्लाको सिमाना पनि थियो । त्यति लामो पर्खाइपछि बल्ल बडिआमाहरू माथि डाँडाको आरालोमा झुल्कनुभयो । निराश भइसकेको मेरो मन खुशीले गद्गद् भयो । बडिआमा र दाजु आएनन् र उनीहरूसँग भेट भएन भने बुवाआमाले मलाई फर्केर घरै आउँनु भन्नुभएको थियो । झण्डै फर्केको पनि । एकछिन् माथि डाँडामा उहाँहरूलाई नदेखेको भए म फर्कने विचारमा थिएँ । आउँनु भयो । भेट भयो । नयाँ खोलाको झोलुङ्गे पुल तरेर बाटो लाग्यौँ हामी । बडिआमा हिँड्न नसक्ने बुढी मान्छे । बल्लतल्ल भैँसे,छरुवा,हंसमोरङ,सदाम,याकचना हुँदै साँझपख शिरीषबास आइपुग्यौँ । शिरीषबासमा एक जना बाहुन बाजेकामा बास बस्यौँ । बेलुकाको खाना खायौँ । चामल,तरकारी आफैँसँग थियो । भाँडाकुडा माग्यौँ । पकायौँ । खायौँ । सुत्यौँ । बाहुन बाजेले ओछ्याउँने गुन्द्री ल्याएर लडाइ दिए । गुन्द्रीको दुई रूपियाँ गोटा तिर्नु पर्ने । भाँडाकुडाको पाँच रूपियाँ । ओड्ने आफैँसँग भएको खास्टोमा बेरियौँ । गलेर लोथ परेको बेला यसो ढल्केर गफ गर्दागर्दै निदाइएछ । भोलिपल्ट विहान राम्रोसँग उज्यालो नभइकनदेखि बडिआमा उठ बाटो लागौँ । विहानका जुन छन् । बाटो छिटो सर्छ । हिँडेपछि जिउ पनि तात्छ भनेर गनगन गर्न थाल्नुभयो । नउठी सुखै पाइएन । उठेर बाटो लाग्यौँ । आधा घण्टा जति हिँडेपछि उज्यालो खस्यो भूइँमा । बडिआमा दमको रोगी सास बढेर धेरै बेर हिड्नै नहुने । एकछिन् हिँड्यो । एकछिन्मा थ्याच्चै बस्नु पर्ने । एकछिन् हिँड्यो फेरि एकछिन्मा थ्याच्चै बस्नु पर्ने । अगिल्लो दिन हिँडेकोले होला खुट्टा भूइँमा राख्नै भा छैन भन्नुहुन्छ । बुढाबुढी मान्छे त्यो पनि धन्न पो हिँड्नु भो । बल्लतल्ल ८ बजेतिर उखु डाँडा आइपुगियो । उखु डाँडाबाट भने धनकुटाबाट आएको धरानको बस चढ्न पाइँन्थ्यो । १ घण्टाको फरकमा जस्तो बस आउँथे । त्यो पनि खुट्टा राख्न नसकिने भिडभाड लिएर । बल्लतल्ल एउटा बस चढ्यौँ । दस बजेतिर धरान ओराल्यो । धरानमा खाना खाएर जाऔँ भन्दा बडिआमा होटलमा खाना नखाने । यसो एउटा कुनामा बसेर पानीसँग फुका चिउरा मुक्याउँनु भयो । हामीले भने छाप्री होटलतिर पसेर खानै खायौँ । त्यतिबेला धरानमा खानाको लागि छाप्री होटल प्रख्यात थिए । अहिलेको घण्टाघर आसपासमा लहरै थुप्रै छाप्री होटलहरू थिए । ३० रूपियाँमा जस्तो लाग्छ कालो च्वाँचेको मासुसँग दाल,भात टन्नै पेट फुल्ने गरि खान पाइँने ।

त्यतिबेला चतरासम्म पनि गाडी जाँदैनथ्यो । बेलुका बास बस्न फेरि धरानै आइपुग्नु पर्ने । अन्त बास बस्ने ठाउँ थिएन । हतारहतार गरेर ११ बजेतिर हामी धरानबाट बाटो लाग्यौँ । हिँड्दा–हिँड्दा बल्ल चतरा पुगियो । गलेर हत्तु । बडिआमा हिँड्न नसक्ने भएकोले हामीलाई सानो सकस परेन । घाँडो मानेर पनि भएन । चतराबाट फेरि कोशी किनारको सानो अफ्ठेरो गोरेटो बाटो । जङ्गलैजङ्गल । कहीँ उकालो । कहीँ ओरालो । कहीँ तेर्सो । तल कोशी विरानो स्वरमा सुसाउँथ्यो । मानिसहरूको आवतजावत भने उसबेला पनि निक्कै खचाखच थियो । सानो गोरेटो बाटो । एकदम जतनसाथ हिँड्नु पर्ने बाइचानस कसैसँग वा कतै ठोकिइयो भने वा ठेस लागेर हुत्तिइयो भने एक्कैचोटी कोशीको भेलमा । त्यतिबेला पनि चतरादेखि नाउमा गएपनि हुने । काठका घरायसी नाउ । माझीले बहनाको सहायताले खियाउँदै–खियाउँदै चतरा बराहक्षेत्र मानिसहरूलाई ल्याउँनेलाने गर्थे । पानीको भेल सानो थिएन । डर मर्नु । कारणवश नाउ पल्टिने हो भने बाँच्ने आशै थिएन । बडिआमा पल्टिन्छ भनेर नाउमा चढ्नै मान्नु भएन । आ हामी त विस्तारै भएपनि हिँडेरै जाऔँ । भरे पल्टियो भने नाउ के गर्नु बाँचिने होइन केही गरे । काँदेखि त हिँडेर आइयो । अब त कति पो छ र बरू भरे धरान नपुगिने जस्तो भयो भने कतै बास बसौँला । भोलि त पुगि हालिन्छ नि भन्नुभयो । नाउका कुरै सुन्न मान्नु भएन । चतरासम्मको बाटो त जिनेतिने काटियो । अब झन् चतरादेखि बराह धामसम्मको कोशी किनारको घुमाउरो जङ्गलको बाटो ज्यादै अफ्ठेरो र कठिन थियो । मरेतुल्य भएर बल्ल पुगियो धाम । कोशीको पानीमा नुहाइधुवाइ गरेर बात्ती बालेर बगायौँ । बडिआमा र दाजुले जसोजसो गर्नुभयो । मैले पनि उसैउसै गरेँ । सबैतिर दस औँला जोडेर दर्शन गर्दै ढोग्यौँ । धामको बाहिरपटि छेउमा एउटा बँदेल आकारको ज्यादै ओजनदार कुँदेको जस्तो चिल्लो ढुङ्गो थियो । त्यो ढुङ्गो जो कोहीले उचाल्न नसकिने । धर्मात्मीले मात्र उचाल्न सक्छन् भन्ने भनाइ थियो । कसैले उचाल्थे । कसैले नसकेर त्यतिकै छोड्थे । दाइले र मैले त्यो ढुङ्गो उचाल्यौँ । हामीले आफूलाई त्यो ढुङ्गा उचालेकोमा धर्मात्मी भएको घमण्ड ग¥यौँ । भगवानसँग भाकल पूरा गर्न आएको कुरा मनमनै पुका¥यौँ । धेरै बेरसम्म अल्मलिने समय थिएन । हतारोमा हामी विहान गएकै बाटो भएर फ¥क्यौँ । ८ बजे राती मात्र धरान आइपुगियो । रामश्वर भन्ने कपडा पसले एक जना माडवारी हाम्रो चिनजानका व्यापारी थिए । उनकैमा बेलुकाको बास भयो । ओढ्ने,ओछ्याउने भनेसम्म दिए । घरकै जस्तो सुताइ भयो । दिनभरि हिँडेको थकाइ । कतिखेर निदाइयो । पत्तै भएन । भोलिपल्ट विहानै भानुचोकबाट धनकुटाको बस चढ्यौँ । नभन्दै ८ बजेतिर उखु डाँडा ओर्लियौँ । त्यसपछि पुनःहाम्रो पैदल यात्र शुरू भयो । बेलुकाको बास बलैले सदाम भयो । अर्को दिन घर टेक्यौँ । यसरी उसबेलाको हाम्रो बराहक्षेत्र धामको दर्शन यात्रा पूरा भएको थियो । बराह भगवान्सँग अरूले केके माग्छन् । मागेका हुन्छन् । यहाँको दर्शन गर्दा छोरा नहुनेका लागि छोरा प्राप्त हुने । विभिन्न खाले रोग,व्याध निको हुने । कान नसुन्नेले कान सुन्ने । आँखा नदेख्नेले आँखा देख्ने । बोली नआउँनेको बोली आउँने । धनधान्य,हिताए,चिताएको पुग्ने । आदि,इत्यादि मान्यता रहि आएको छ । त्यसैले पनि यहाँ धेरै टाढा–टाढादेखिका दर्शनालु भक्तजनहरू दर्शन र पूजाआजाका लागि आउँने गरेको पाइँन्छ ।

धेरैपछि आज मिति २०७५÷११÷२९ गतेका दिन पुनःबराहक्षेत्र धामको दर्शन गर्ने मौका मिल्यो । पहिलेको जसरी होइन । फरक ढङ्गले । हामीले पहाड छोडेर मधेश झरेको पनि लगभग १५ वर्ष भइसकेछ । झापा छोडेर सुनसरी आएकै ७ वर्ष भइसक्यो । यो पटक भने म छोराको भाकल पूरा गर्न सपत्नीकासाथ जाँदै थिएँ । इटहरीबाट धरानको बस चढेपछि करिव आधा घण्टामा भानुचोक ओरालिहाल्यो । त्यसपछि चतरा लाइन पुग्दा १० बज्न लागेको हुँदो हो । चतरा जाने बस लागिरहेको रहेछ । चढिहाल्यौँ । त्यहाँ पो बस गुड्न आधा घण्टा जति पर्खनु प¥यो । हतार गरेर भएन । केही यात्रु बसमा कोचिएपछि बस बाटो लाग्यो । सर्दु खोला तरेर बस हुइँकिएपछि करिव ४५ मिनेटपछि चतरा पुगियो । चतरामा बसबाट ओर्लन नपाइ बराहक्षेत्र जाने बस खचाखच यात्रुहरू बोकेर धाम जाने,धाम जाने भन्दै अगिपछि सर्न थालिहाल्यो । हामी हत्तपत्त ओर्लेर फेरी बराहक्षेत्रको बस चढिहाल्यौँ । हामीलाई त्यहीँबाट बस पाइँने हो कि होइन भन्ने कुराको चिन्ता थियो । अब भने सजिलै र बेलैमा बराहक्षेत्र धामको दर्शन गरेर फर्कन पाइँने भयो भन्ने कुरामा हामी ढुक्क भयौँ । म भने निर्धक्कसँग बसको झ्यालबाट बाहिरतिर चिहाउँन थालेँ । सप्तकोशीले पहाड छोडेर मधेश प्रस्थान गरेको ठाउँ । पहिलेको त्यस्तो जङ्गल अहिले त मानिसको वस्तिले पूरै फेरिएको रहेछ । कम्ति रमाइलो ठाउँ भएनछ । धार्मिक भन्दा पनि पर्यटकीय दृष्टिले झन् महत्वपूर्ण भन्नु जस्तो भएछ । राष्ट्रीय,अन्तराष्ट्रीय स्तरमा धार्मिक एवम् पर्यटकीय दुवै रितले ठुलै सम्भावना बोकेको ठाउँ त हुँदै हो । विकासका कारण पछिपरेको यो ठाउँ अहिले देख्दा त साँच्चै ताजुव लाग्यो । वारिपारिको वस्तिलाई तल एउटा पक्की पुल र अर्को केही माथि झोलुङ्गे पुलले जोडेको रहेछ । त्यो ठाउँमा पक्की पुल यिनै आँखाले देख्न पाउला भन्ने मलाई लागेको थिएन । त्यति विघ्न विकास भएछ । पाहाड फुटाएर बाटो बनेछ । कोशी किनारैकिनार कच्चि भएपनि बराहक्षेत्र धामसम्मै बाटो पुगेछ । पहिले हामी घुँडामाथि हात राखेर पैदल हिँडेको गोरेटो बाटो कहाँबाट थियो । त्यसको चिनोफानो थिएन । पारिपारिका डाँडाको पेट चिर्दै नागबेली नयाँ मोटर बाटाहरू बनेका । तल कोशीको पानीपानीबाट वाटर पट वा स–साना पानी जहाजबाटै पनि चतरादेखि बराहक्षेत्र धामसम्म आउजाउ गर्न सकिने । वाटर पट कति बेला जान्थ्यो । हामीलाई छिटो पुग्नुपर्ने । बसबाटै गयौँ । विडम्बना केही पर पुगेपछि पहिरो झरेर बाटो अवरुद्ध भएको रहेछ । बस धामसम्म नजाने भयो । हामीले ओर्लेर २५ मिनेट जति चाहिँ हिँड्नै पर्ने भयो । भ्याकुमले झरेको माटो सम्याउँदै रहेछ । हामी बसबाट ओर्लियौँ । अब के गर्ने होला ! विहानदेखि मुखमा पानी समेत नहालेकोले हामी भोकले अतालिन थालेका थियौँ । सानो १८ महिनाको छोरा जेनिशलाई काखीमा च्याप्नै प¥थ्यो । एक जनालाई झोलै भारी । तैपनि हिँड्दै गयौँ । फर्कनेलाई सोध्दा अझै ३० मिनेट जति हिँड्नै पर्ने कुरा बताएपछि हामी झन् हिँड्नै नसक्ने अवस्थामा पुग्यौँ । पूजाआजा गरेपछि मात्र खाने भनेर बोकेको फलफुल भएपनि झिकेर नखाइ सकिएन । खुट्टा उचालिनै छोडेपछि झोलाबाट अङ्गुर झिकेर खाँदै हिँड्न थाल्यौँ । बुढीले अब हिँड्न नसक्ने कुरा बताएपछि केही पर दुई ओटा टेम्पु रोकेर राखेको अवस्थामा देखा परे । उ ती टेम्पुले पु¥याइदिए पनि त कस्तो हुन्थ्यो भन्दै कुरा गर्दै त्यहाँसम्म पुग्यौँ । हामीलाई धामसम्म पु¥याइ दिनु प¥यो भनेर अनुरोध गरेपछि पहिले त ती दुवै दुई जनालाई मात्र त लादैन । चार जनासम्म हुनुपर्छ भन्दै थिए । पछि के सोचे । एउटाले पु¥याइदिने भयो । अरूहरू हिँडेरै आए । टेम्पु चढ्न मानेन् । हामी चढ्यौँ । ११.३० तिर धाम पुगियो । वरैदेखि धार्मिक वस्तु,पूजाआजामा चाहिने सामान,फलफुल,माला,प्रसादआदि भिडाउँनेको लाइन रहेछ । मलाई त कताकता काठमाण्डौँको पशुपतिनाथको याद पो आयो । पहिले त्यस्तो थिएन । एक,दुई सानातिना पसल थिए हुन् । अहिले त सानोतिनो बजार नै भएको रहेछ । मन्दिर र मन्दिर परिसर पनि व्यवस्थित बनाइएको रहेछ । भने जस्तो नभएपनि पहिले भन्दा कता हो कता राम्रो लाग्यो ।

हामी सटासट तल कोशी तिरमा झर्‍यौँ । कोशीको पानीमा हातमुख र खुट्टा धोयौँ । बात्ती बालेर बगाइदियौँ । हावाले बात्ती राम्रोसँग बल्न दिएन । मनमनै सम्झेँ पहिले त त्यस्तो राम्रोसँग बलेको बात्ती । आँखाले देखुन्जेल बल्दै गएको थियो । यसपाली त हावाले बल्नै दिएन । त्यसपछि मूलधाम फर्कियौँ । निक्कै लामो सिँढी उक्लनु प¥थ्यो । सिँढी चढ्ने ठाउँनेरै पहिलो पूजा गणेशको भनेर बोडमा लेखिएको रहेछ । त्यता लाग्यौँ । त्यसपछि शिवको हुँदै बराह कुण्डमा सिका चढाउँने गरिएको रहेछ । त्यहाँ सिक्का चढायौँ । त्यसपछि मूलधामको दर्शन र पूजाआजा गर्नतिर लाग्यौँ । कोका खोलाको दोभान र कोशीको काखमा अवस्थित बराह धाम धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय दृष्टिले समेत कम महत्वपूर्ण मानिने ठाउँ छैन । सुनसरी,उदयपुर र धनकुटा जिल्लाको त्रिवेणी स्थल । अग्लाअग्ला डाँडाकाँडा,हरियाली,एकान्त स्थल,तल कोशी सुसाएको आवाज । कोका खोलाको सङ्लो पानी छङ्छङ् गर्दै कोशीमा समाहित भएको । यी आदि दृश्यले मन कम्ति रमाउँदैन । अगि ओर्लदा त खासै सकस परेन । अब फर्कदा भने सिँढी चढ्न कम मुस्किल परेन । थाकेर भन्दा पनि हामीलाई भोकले बढी सताइरहेको थियो । भोक सहन नसक्ने हामी तिनै जना एक छाक नखादै हुइपा भइसकेका थियौँ । घर पुग्न ढिलो होला कि भन्ने डरले हामी सरासर मूलधामको दर्शन र पूजाआजा गरेर फर्कन तरखर गर्न थाल्यौँ । एउटा होटलमा पसेर खाना खायौँ । खाना नखाइ त फर्कने आँटै आएन । केही वर आउँदा अगि आधा बाटोसम्म ल्याएर छोड्ने बस आएर लागिरहेको रहेछ । बाटो खुलेछ । २ बजे भित्र बसले छिरिसक्नु पर्ने । त्यसपछि पुनःसवारीका साधन रोकेर बाटो बनाउँने काम शुरू हुँदो रहेछ । विचारमा बाटो बनाउँने औजार चलाउँनेहरू खाना खान वा खाजा,नास्ता गर्न जाँदाको समयमा बसहरू आवतजावत गर्दारहेछन् । एकैछिन्मा बस हिँडिहाल्यो । मैले घडी हेरेँ । दिउँसोको २ बज्न लागेको थियो । चतरा नआइपुगि त्यही गाडीको सह–चालकले हामीलाई धरान जाने गाडी बिचैमा रोकेर त्यसमा उठाइदियो । चतरामा ओर्लेर गाडी कुर्नै परेन । धरान आएर केहीबेर अल्मलिएर घर आइपुग्दा ५ बजेको थियो । रात पर्छ होला ठानेका थियौँ । परेन । बेलैमा आइपुगियो । यातायातको सुविधाले गर्दा पहिले जस्तो कठिन पनि परेन । छिटो पनि सजिलो पनि भयो । यसरी मेरो बराहक्षेत्र धामको दर्शन गर्ने दोस्रो अवसर पनि पूरा भयो ।