जेबी खत्री 

उमेर भन्नाले कुनै व्यक्ति वा प्राणी विशेषको जन्मेदेखि हालसम्मको वा मृत्यु नभएसम्मको अवस्थालाई वताउँछ । तँ कति वर्षको भइस ? तिमी कति वर्षका भयौ ? तपाइँ कति वर्षको हुनुभयो ? हजुर कति वर्षको होइस्यो ? तेरो छोरा कति वर्षको भयो ? तेरी छोरी कति वर्षकी भई ? तेरो भाइ कति वर्षको भयो ? तेरी वहिनी कति वर्षकी भई ? आदि,इत्यादि । यो उमेर भन्ने कुरा यस्तो रहेछ । जसले आयु घटाउँदै लान्छ । आफैँमा उमेर बढ्दै जान्छ । उमेर घटाउँन बढाउँन सकिन्छ तर आयु घटाउँन सकिएला बढाउँन सकिदैन । सामान्यतःसामुहिक आयु औसतमा तोक्न सकिएला तर कुनै व्यक्ति विशेषको आयु ठ्याक्कै यति हो भनेर तोक्न सकिन्न ।

सन्सारमा मानिस मात्र यस्तो प्राणी हो जसले आफ्नो उमेर बढाउँन चाहदैन । बरू आयु घटाउला अरे कसैले तर उमेर घटाएर वताउँन चाहदैन । लाभदायक हिसाबले अपबादको रूपमा कसैले घटाउँनु छुट्टै कुरा हो । तपाइँ आफ्ना दामले जास्ता लाग्ने जो कोहीलाई सोध्नुहोस । उनीहरूले तपाइँलाई एक,दुई त के दुई,चार वर्षले तपाइँ भन्दा जेठो भएपनि तपाइँको उमेरको अन्दाज गरेर मात्र उत्तर दिन्छन् कि तपाइँ भन्दा आफू एक दिनले भएपनि कान्छो ठहरिन सकियोस । कोही बूढो हुन चाहदैन । भर्खरकै हुन चाहन्छ । आफ्नो उमेर सही नवताउँने बानी नै परिसक्यो । आफूलाई सधैँ योङ सम्झने बानी छ नेपालीहरूमा । केश फुलेर छाला चाउरी परिसके पनि उसलाई बुढेशकालले छोयो भन्ने लाग्दैन । अझै उमेरदार नै छु भन्ने सम्झन्छ । बरू उल्टै मान्छे बूढो भएर के भो र मन बूढो भएको छैन भन्ने जस्ता टुक्का सुन्न पाइँन्छ । अरूका के कुरा मैलाई धेरैले ढाँटेर म भन्दा जेठा पनि म भन्दा कान्छो बनेका उदाहरणहरू प्रसस्तै छन् । आफू भन्दा दुई,चार वर्षले जेठाहरू पनि दाइ भनेर बोलाउँछन् । दाइ भनेर सम्बोधन गरेपछि मुर्रमुर्रिएर भएपनि भाइ त भन्नै प¥यो । कसैको उमेर एकिन गरेर हेर्नलाई उसका कागजात हेर्नै पर्ने हुन्छ । त्यसमा पनि कहाँ सही हँुदो रहेछ र त्यहाँ पनि कतिपयले त फरक विवरण पो दिएका हुँदा रहेछन् । कसैले विदेश जान उमेर नपुगेर उमेर बढाएका हुँदा रहेछन् । कसैले बढी भएर घटाएका हुँदा रहेछन् । कसैले जागिर खान उमेर नपुग्दा बढाएका हुँदा रहेछन् । कसैले जागिर खान उमेर घटाएका हुँदा रहेछन् । कसैले विहे गर्न पनि उमेर घटाएको बढाएको पाइँन्छ । केटाको उमेर केटीको भन्दा धेरै वर्षले फरक वा बढी छ भने पनि केटाले आफ्नो उमेर केही वर्ष घटाएर केटीकै दामले वा सुहाउँदो बुझ्दो बनाएर वताउँने गरेको र केटीको उमेर केटाको भन्दा बढी भएपनि त्यसरी नै केटीले पनि आफ्नो उमेर त्यसरी नै घटाएर केटाको उमेरसँग मिल्दोजुल्दो वा सुहाउँदोबुझ्दो बनाएर वताउँने गरेको पाइन्छ । यो त फाइदा वा इमानको हिसावले उमेर घटाएको बढाएको होला । यिनका कुरा छोडौँ यिनका पछाडी स्वार्थ छ । स्वार्थले नै त हो मानिसलाई बेकुब बनाउँने भनेको ।

यहाँ मैले उठाउँन खोजेको कुरा सामान्यतःमानिस एकले अर्कोलाई आफ्नो सही उमेर वताउँन किन हिचकिचाउँछ ? भन्ने हो । सामान्य भेटघाटमा मानिसले तिम्रो उमेर कति भयो भनेर सोध्ने भनेको एउटा प्रसङ्गवस वा कुनै काम विशेषले सोधिने कुरा हो । कसैले कसैलाई आफ्नो सही उमेर वताउँदा के नै विग्रन्छ र । न उसको उमेर कसैले खोसेर लगिदिन्छ । न कसैले थपघट नै गरिदिन्छ । मानिसले सत्य बोल्दा के हुन्छ ? प्रश्न यो हो । मैले धेरै इमान्दार मानिसहरूले पनि आफ्नो उमेरका बारेमा अरूहरूलाई वताउँदा ढाट्ने गरेको पाएको छु । मानिसले आफ्नो उमेर अर्कालाई ढाँटेर जित्ने भनेको आफू कम उमेरको वा योङ् देखिन खोज्नु नै हो । मानिसलाई बुढो वा पाको हुन मन हुँदैन । सधैँ योङनै देखिन पाए हुन्थ्यो । आफ्नो उमेर भन्दा शारीरिक रूपमा तन्दुरुस्त नै देखिन पाए हुन्थ्यो भन्ने हुँदो रहेछ । मैले बुझ्न नसकेको कुरा के भने मानिसले आफ्नो उमेर जति घटाएर वताए पनि आखिर उसको आयु त बढ्ने होइन । एकछिन्लाई ढाँटे पनि उसले सधैँभरिलाई त ढाँट्न सक्दैन । ढाँटेको कुरा काटे मिल्दैन । एक दिन न एक दिन त कुनै न कुनै रूपमा यथार्थ त प्रस्टिन्छ नै । किन यसरी ढाँट्नु होला !

एक दिन बिर्तामोडबाट फिदिम जाँदै गर्दा एक जना अदबैँसेले सोधे,दाइ कहाँसम्म जाने हो ? मैले यसो नियालेर उत्तर दिएँ फिदिमसम्म हो दाइ । उनले पनि मलाई दाइ भनेर सम्बोधन गरे । उनले मेरो उमेर विचार गरेर दाइ भने वा त्यतिकै । मैले चाहिँ उनलाई राम्रोसँग नियालेर र उनको उमेर पनि राम्रोसँग विचार गरेर अन्दाजी दाइ भनेँको थिएँ । उनले पहिले दाइ भनेर सम्बोधन गरेपछि मैले भाइ भन्नु प¥थ्यो । मैले भाइ नभनी दाइनै भनेर सम्बोधन गरेँ । मैले उनको उमेर विचार गरेरै अन्दाज गरेको थिएँ । भरे गाडी भित्र पस्दा त हाम्रो सिटसँगै परेछ । मेरो झ्यालको छेउतिर उनको वर्तिरपटि । उनले फेरि भनेँ, दाइ तपाइँ यतापटि बस्नुहोस म झ्यालको छेउपटि बस्नुप¥यो । पहाडको बाटो फेरि यात्रा लामो छ । मलाई त बान्ता आउला जस्तो पो हुन्छ त । यो पटक मैले उनलाई नियालीरहिन । बान्ता आउला जस्तो हुन्छ भनेपछि भरे लुगा पो बिगारिदिने हुन् कि भन्ने डरले चुपचाप झ्यालपटिको सिट उनलाई छोड्दिएँ । आ–आफ्नो सिटमा बसिसकेपछि गफ चल्न थाल्यो । म पनि गाडीमा बसिसकेपछि चुप लागेर बस्न नसक्ने । उनको पनि बानी त्यही रहेछ । गफ लाउँन थाले । भरे गफ गर्दै र चिनापरिचय गर्दै जाँदा त उनी म भन्दा तीन–चार वर्षले जेठा रहेछन् । तै पनि गफ गर्दै जाँदा बेलाबेला मलाई उनी दाइ नै भनिरहन्थे ।

एक पटक धनकुटाबाट धरानतर्फ आउँदै थिएँ । मेरो छेउको सिट धनकुटाबाटै खाली थियो । बस्ने मान्छे नआएपछि मैले त्यो सिटमा मेरो झोला राखेको थिएँ । कोही मान्छे सिट सोध्दैखोज्दै आएछन् भने चाहिँ झोला झिकिदिउँला भनेर राखेको कोही आएन । सायद कसैले सिट रोकेर राखेको होला ठाने हुन् । धनकुटाबाट गाडी छुट्यो धरानका लागि । केही तल गुठीटार आएपछि एक जना बुढा मानिस गाडी चढे । उनलाई चढाएर गाडी विस्तारै दौडन थाल्यो । उनी हुरिँदै मेरो छेउमा आएर झोला राखेको सिटतिर हातको औँलाले देखाउँदै भनेँ,भाइ यो झोला कसको हो ? यहाँ बस्न मिल्छ ? मैले आफ्नो झोला सिटबाट झिकेर काखमा राख्दै उत्तर दिएँ,मिल्छ,किन नमिल्नु बस्नुहोस्न । त्यसपछि बुढा छेउमा बसे । बसिसकेपछि मैले उनलाई राम्रोसँग नियालेँ । भाइ भन्छन् बुढा मलाई ! यसो हेर्छु मैले दाई भन्न नसुहाउँने छन् । मनसँग ठानेँ । यिनलाई पनि आफू भर्खरकै छु जस्तो लाग्दो हो । सोध्न मन लाग्यो । भत्ता खाँदै हुनुहुन्छ त बुबा भनेर सोधेँ । खाइँदैछ । अरू उमेर पुगेर पनि खान पाउँदैनन् । मैले त एक वर्ष अगिदेखि नै पो खान थालेँ । बाउले कसोकसो एक वर्ष बढाएर बनाइदेका रछन् नागरिकता । त्यति फाइदा भो । गफाडी रहेछन् बुढा । यताउता हेर्दै मस्किमस्कि बोल्छन् । गफ झिके । उर्लाबारी हिँडेको भाइ म,छोरीका घर । त्यहाँ मेरा दुईटी छोरी विहे गरेर दिएको छु । गफ गर्दै जाँदा वताए बुढाले हाम्रा बुबासँगका रहेछन् । हाम्रो उमेर लगभग ४० वर्षको फरक रहेछ । नाती भनेपनि फरक नपर्ने । बुढाले भाइ भन्न छोडेनन् ।

एक पटक त्यस्तै भयो । झापाको दमकबाट विराटनगर जान बस चढेको । गएर सिटमा बस्ने वित्तिकै छेउको सिटमा बसेको भाइले सोध्यो, अङ्कल काँसम्म जाने ? यसो हेर्छु आफ्नै दामले भन्न सुहाउँने छ । अङ्कल भन्छ । के भन्नु । म विराटनगरसम्म जाने भाइ । अनि भाइ नि त कहाँसम्म जाने हो नि ? भनेर सोधेँ म इटहरीसम्म हो अङ्कल भन्यो । फेरि अङ्कल नै भन्छ । यसो हेर्छु भतिज भन्न सुहाउने केटो छैन । कुरा गर्दै जाँदा म भन्दा एक–दुई वर्षले मात्र कान्छो रहेछ । केको भतिज भन्न सुहाउनु ! ठानेँ उसलाई पनि आफू सानै छु जस्तो लाग्दो हो नि ।

मानवीय गुण नै हो कि के हो । मानिसले आफूलाई सधैँ कम उमेरको सम्झने । दारीजुँगाको रहर हुँदाहुँदै शारिरिक अङ्गप्रत्यङ्गको विकास हुँदै शरीरको छाला चाउरी परेर लठ्ठी टेक्ने बेला भइसक्दा पनि आफूलाई भर्खरकै उमेरको ठान्ने । मलाई चिन्ने जान्नेहरू कहिलेकाहीँ भेट्दा आधिसरो मेरो टाउकाको केश फुल्न थालेको देखेर कति वर्ष पुगिस भनेर सोध्छन् । म यति वर्ष पुगेँ भनेर भन्दिन्छु । हेर हिजोअस्तिको मान्छे भनेर आश्चर्य चकित हुन्छन् । म आफ्नो उमेर नियाल्न थाल्छु । अनि उनीहरूसँग आफ्नो उमेर नाप्न थाल्छु ।

हामी पहाडमा हुँदै मैले चाल पाउँदा खसीको मासु चालीस रूपयाँ धार्नी थियो । धान बीस रूपयाँ पाथी बेचेको । मकै बाईस रूपायाँ पाथी । दुई रूपयाँ कप चिया पाइँन्थ्यो । पन्ध्र रूपयाँ लिटर मट्टितेल थियो । तीन रूपयाँमा साबुन आउँथ्यो । आठआनामा सलाई आउँथ्यो । पन्ध्र रूपयाँ मानो घिउ । हजार,पन्ध्र सयमा बडाबडा खसी पाइँन्थे । दस,बाह्र हजारमा छानीछानी राम्राराम्रा लैना भैँसी पाइँन्थे । पाँच,सात हजारमा राम्रा रङ मिलेका हल गोरू पाइँने । पाँच,छ हजारमा राम्रो दुहुना गाई पाइँन्थ्यो । पाँच रूपयाँ पैसा लिएर बजार गयो भने एक जनाले खर्च खाइ सकिदैनथ्यो । अहिले सम्झदा त्यो त कहाँ हो कहाँ । झ्याउ लागेर आउँछ । आफूलाई पनि बुढो भइए जस्तो त लाग्दैनथ्यो तर आफ्नो पनि उमेरले डाँडो काटेछ ।