जी. न्यौपाने
मकवानपुर, २१ मंसिर । हेटौँडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको परिसरमा ‘लैङ्गिक हिंसा विरुद्धको जनचेतनामूलक गीति नाटक’ प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा जनचेतनामूलक नाटक प्रदर्शन गरिएको हो ।

हेटौँडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आयोजनामा गरिएको कार्यक्रममा कलाकारहरु मेलिना राई, मनिता राई, सुष्मा राई, रेष्मा राई, नग्मा राई, रेसु राई, रेश्मा राई लगायतले विभिन्न भूमिकाहरु निभाएका थिए ।

गीति नाटकमार्फन कलाकारहरुले छाउपडी, घरेलु हिंसा, मानव बेचविखन, बोक्सी प्रथा, सार्वजनिक स्थल र सवारी साधनमा हुने यौनजन्य दुर्व्यवहारका विरोधमा व्यङ्ग्य गरेका थिए ।

हेटौँडा उपमहानगरपालिका १० नम्बर वडाका कार्यपालिका सदस्य साधना श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका निवर्तमान प्रमुख रघुनाथ खुलालको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा १० नम्बर वडा सदस्य गोमा सुनार, माईती नेपालकी प्रमुख माया लामा, साना हातहरु नेपालका प्रमुख डिकम्बर रुपाचा, शान्ति फाउण्डेसनकी सिता गुरुङ, नारी संरक्षक केन्द्रकी दिपा गुरुङ, कोसिसकी सुनिरा लामा, सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौँडा १० की सिता खत्री लगायतको उपस्थिति रहेको थियो ।