हेटौँडा । बागमती प्रदेशमा सरकार गठनको प्रक्रिया तीव्र बनेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदको औपचारिक दाबी सोमबार पेश गरेका छन्।
बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा सरकार गठनको दाबी गर्दै प्रदेश प्रमुख समक्ष निवेदन बुझाएका हुन्। नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ जना सांसद गरी कुल ६४ सांसदहरूको समर्थन रहेको उल्लेख गर्दै उनले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्तिको माग गरेका हुन्। बागमती प्रदेश सभामा कुल ११० सदस्य रहेका छन्।
मुख्यमन्त्री पदको दावी पेस गरिएको निवेदनमा कांग्रेस संसदीय दलका नेता बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थापाको संयुक्त हस्ताक्षर रहेको छ।
यसअघि प्रदेश प्रमुखको कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो २ बजेसम्म बहुमतको आधारमा सरकार गठनको प्रस्ताव पेश गर्न आह्वान गरेको थियो। सोही अनुरूप बानियाँले आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो ३ बजे मुख्यमन्त्री नियुक्त गर्ने कार्यक्रम तय गरेको छ। त्यसपछि शपथ ग्रहणको प्रक्रिया अघि बढाइने छ।
कांग्रेस-एमालेबीचको सहमतिमा अघि बढाइएको यो कदमले बागमती प्रदेशमा नयाँ सत्ता समीकरण निर्माण गर्दै स्थिर सरकारको सम्भावना बलियो बनाएको छ।












