हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ मा ज्येष्ठ नागरिक वडा मञ्चको आयोजनामा शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ।

वडामा रहेका ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको उक्त कार्यक्रमको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाले गर्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नगरप्रमुख लामाले समाज निर्माणमा ज्येष्ठ नागरिकहरूको अमूल्य योगदान रहेको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकहरूको दीर्घजीवनको कामना गर्नुका साथै उनीहरूको ज्ञान, सीप र अनुभवलाई भावी पुस्ताले प्रेरणाको रूपमा लिनुपर्नेमा जोड दिनुभयो। साथै, स्थानीय सरकारले ज्येष्ठ नागरिकहरूको हित, स्वास्थ्य र सम्मानका लागि विभिन्न कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अगाडि बढाइरहेको उहाँले प्रष्ट पार्नुभयो।
कार्यक्रममा उपस्थित वक्ताहरूले ज्येष्ठ नागरिकहरूको सम्मान गर्नु राज्य र समाजको प्रमुख दायित्व भएको औंल्याउँदै उनीहरूको सुखद र स्वास्थ्य जीवनको कामना गरेका थिए। सो अवसरमा वडाका विभिन्न ज्येष्ठ नागरिकहरूलाई सम्मानसमेत गरिएको थियो।