मकवानपुर, २३ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा गोली प्रहार भएको घटनामा संलग्न भएको आरोपमा मकवानपुर प्रहरीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मंसिर १८ गते राति हेटौँडा ९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार भएको घटनामा संलग्न भएको भन्दै प्रहरीले हेटौँडा ९ बस्ने वर्ष ३३ को निश्चल पौडेल, वर्ष ३५ को गणेश घले र वर्ष ३० को प्रितम क्षेत्रीलाई पक्राउ गरेर शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

गोली प्रहरी भएको भनी मंगलबार दिउँसो १ बजेको समयमा प्रहरीलाई सुचना प्राप्त भएपछि प्रहरी प्रमुख रिजालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गर्दा गोलीका खोका समेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न स्थानका सीसी टिभीको फुटेज र कपडाको आधारमा शंका लागि अनुन्धान गर्दै जाँदा उनीहरुलाई हेटौँडा १० बाट मंसिर २२ गते पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ७ राउन्ड लेखेको पेस्तोल एक थान, सोही पेस्तोलमा लाग्ने गोली १९ राउण्ड र ९ एमएमका गोली एक राउण्ड गोली पनि बरामद गरेको छ । यस्तै हतियार सफा गर्ने रड एक थान, लागुऔषध खैरो हेरोईन २ ग्राम ४ सय मिलिग्राम र लागुऔषध तौल गर्ने डिजिटल तराजु २ थान बरामद गरेको छ । यस्तै घटनामा प्रयोग भएको ना २५ प ३३०५ नम्बर, ना ६३ प ९६७८ नम्बरको मोटरसाइकल, ५० हजार रुपैयाँ र पाँच थान मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।