मकवानपुर, २४ मंसिर । हेटौंडा १८ हर्नामाडीमा रहेको वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाले सहकारीको साधारणसभाका अवसरमा उत्कृष्ट उत्कृष्ट बचतकर्ता र विद्यार्थीहरुलाई सम्मान गरेको छ । शनिबार भएको १५ औं वार्षिक साधारणसभाका क्रममा बचतकर्तातर्फ बुद्धि बहादुर आले र असल ऋणीतर्फ संगिता पौडेललाई सम्मान गरिएको थियो ।

त्यस्तै एसईई परीक्षामा सामुदायिक र संस्थागत विद्यालयतर्फ उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोरा छोरीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । सामुदायिक विद्यालयतर्फ जिपिए ३.६५ अंक ल्याउने ज्योति माविकि छात्रा पवित्रा तिमल्सिना र संस्थागत विद्यालयतर्फ ३.९० अंक ल्याउने तासिर बोर्डिङ स्कुलका मणिराज बराललाई सम्मान गरिएको थियो ।

साधारणसभाको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य बिष्णुमाया थपलिया र जेष्ठ सदस्य रत्न बहादुर दुरैलीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थपलियाले यस सहकारी बिगतदेखी हालसम्म पारदर्शितामा चलिरहेकाले ढुक्क भएर बचत तथा ऋण कारोबार गर्न सहज भएको बताउनुभयो। उहाँले आगामी दिनहरुमा यसैगरी कारोबारलाई निरन्तरता दिन पनि सुझाब दिनुभयो ।

कार्यक्रममा अध्यक्ष अरुणकुमार खतिवडाले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नुभयो । उहाँले आगामी दिनहरुमा सहकारी वित्तीय कार्यक्रमलाई जोड दिदै सदस्यहरुको ऎच्क्षिक बचत मजबुत पारिने र दैनिक बचतलाई बिस्तार गर्दै लगिने योजना रहेको सुनाउनुभयो ।

यसैगरी सहकारीका कोषाध्यक्ष इमान बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सहकारीले आर्थिक बर्ष २०७९/०८० मा ८२ लाख ३९ हजार ३८९ रुपैयाँ नाफा भएको जानकारी दिनुभयो। सहकारीको कुल शेयर रकम ५१ लाख ९९ हजार ६००, कुल बचत रकम ५ करोड ९७ लाख ४६ हजार ९६०, कुल कर्जा लगानी ५ करोड ८३ लाख ९ हजार ५०४ र कुल मौज्दात १ करोड ७७ लाख ९ हजार ८०५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

सचिव बरुणकुमार खतिवडाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले गरेका गतिविधिबारे प्रस्ट्याउनुभयो। यस आर्थिक बर्षमा ४१ जना सदस्य वृद्धि भई कुल १ हजार ८६ जना शेयर सदस्य कायम भएको, ४ जना सेयर सदस्यका परिवारलाई मृतक राहत कोष वितरण , १६ जना जना सदस्यलाई सुत्केरी स्याहार खर्च वितरण गरिएको सचिव खतिवडाले जानकारी दिनुभयो। सहकारीले आ.व. २०८०/०८१ का लागि नयाँ कार्यक्रम थप्दै र पुराना कार्यक्रमलाई निरन्तरता पनि दिने जनाइएको छ । प्रत्येक सेयर सदस्यको सेयर १५ हजार पुर्‍याउने र ऋण लिँदा प्रति दुई हजारमा एक कित्ता सेयर अनिवार्य थप गर्दै लैजाने जनाएको छ भने सेयर सदस्य संख्या १४ सय पुर्‍याउने सहकारीको लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक मन्दीलाई ध्यानमा राख्दै सेयर बचत अनुपात अनुसार कर्जा प्रवाह ८ लाख रुपैयाँसम्म गरिने जानकारी दिइएको छ । सहकारीले नयाँ सेयर सदस्यका लागि दुई हजार रुपैयाँमै सदस्य बन्न सकिने प्रस्ताव पनि गरेको छ । जसमा १० कित्ता सेयर खरिद गर्दा एक हजार, प्रवेश शुल्क एक सय, राहत कोष पाँच सय र मासिक बचत चार सय गरेर कुल दुई हजार रुपैयाँमा नयाँ सेयर सदस्य बन्न सकिने सचिवको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा ऋण उपसमितिका संयोजक माधव नारायण तुलाधरले ऋण उपसमितिको प्रतिवेदन र लेखा समिति संयोजक कपिल प्रसाद पराजुलीले आन्तरिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा ज्योति माविका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष एं हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल, ज्योति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रामबाबु खतिवडा, सहकारीका सल्लाहकार केशब पण्डित, सेयर सदस्यका तर्फबाट तुलसी गिरी लगायतले आफ्नो मन्तब्य राख्नुभएको थियो ।