मकवानपुर, २९ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातामाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले ४२ तोला सुनसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसहित भारत अमृतसार पंजाबका ३४ वर्षीय तर्सिम सिंह र धनुषा जिल्लाको सबेला नगरपालिका वडा नम्बर २ का ३९ वर्षीय हितेश कुमार शाहलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरीले शुक्रबार बिहान ३ः४० बजे र ४ः४० बजेको समयमा काठमाण्डौबाट बीरगंज तर्फ जाँदै गरेको ना ५ ख ६२१७ नम्बरको र बागमती प्रदेश ०३–००१ख १७२७ नम्बरको यात्रु बाहक बसमा छुट्टा छुट्टै सवार गरी आएका तर्सिम र हितेशको साथबाट अवैध सुन फेला पारेको थियो ।

प्रहरीले दुवै जनाको साथबाट ४ सय ८० ग्राम ०.८३ मिलिग्राम अर्थात ४९ लाख २२ हजार ६ सय २५ रुपैयाँ बराबरको अबैध सुन फेला पारेको थियो । सुनसहित तर्सिम र हितेशलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

तर्सिमको साथबाट सुनको सिक्री २ थान (सुन खाद कट्टी कटाएर ७ ग्राम २६८ मि.ग्राम, मुल्य रु.७४,५२३ ।-), बेरिएको बाला १ थान र स-सना टुक्रा २ थान( २२ ग्राम ६४० मि.ग्रा., मुल्य रु.२,३२,१४३ ।–) गरी जम्मा मुल्य रू.३,०६,६६६।- मुल्य बराबरको र हितेशको साथबाट सुनको ब्रास्लेट ९ थान ( ४५० ग्राम १७५ मि.ग्राम, रु.४६,१५,९५९।-) फेला परेको हो ।