मकवानपुर, २९ मंसिर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रैथानेबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ । गाउँपालिकाको आर्थिक विकास समितिको बिहीवार बसेको बैठकले मुल्य निर्धारण गरेको हो ।

पालिकाको आ.व. ०८०/८१ को स्वीकृत कार्यक्रम अनुसार कृषि विकास कार्यक्रम तर्फ उत्पादनमा आधारित प्रोत्साहन अनुदान (रैथानेबाली) कार्यक्रम कार्यान्वयन गर्ने सिलसिलामा गाउँपालिकाको आर्थिक विकास समितिले कोदो र धानकोदो रु ५४, फापर रु १०० र जुनेलो ८४ रुपैयाँ प्रति केजी समर्थन मुल्य तोकेको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

मकवानपुरगढी गाउँपालिकामा रैथानेबाली खरिदकर्ताको रुपमा सूचीकृत कृषि सहकारी र कृषक समूहले गाउँपालिकाले तोकेको मूल्यमा उत्पादक कृषकहरुबाट खरिद गर्नुपर्नेछ । उत्पादक कृषकहरुले सूचीकृत सहकारी र समूहमा बिक्री गरे वापत उत्पादनमा आधारित थप १० रुपैयाँ प्रति केजी गाउँपालिकाले प्रोत्साहन रकम उपलब्ध गराउनेछ । जसमा उत्पादक कृषकले प्रति केजी ६ रुपैयाँ र खरिदकर्ताले ४ रुपैयाँ पाउनेछन् ।

गाउँपालिकाले यस वर्ष रैथानेबालीहरु कोदो, धानकोदो, फापर र जुनेलो गरि ५० मे.टन संकलन गर्ने लक्ष्य राखेको छ र संकलन भएका रैथानेबालीहरुलाई विविधीकरण गरि समूह, सहकारी मार्फत बिक्री व्यवस्थाको प्रबन्ध मिलाउने कृषि प्रमुख चौधरीले बताए ।