मकवानपुर, २९ मंसिर । मकवानपुरको हेटौँडामा जारी मकवानपुर जिल्ला लिग क्वालिफाई फुटबल प्रतियोगिता २०८० मा बकैया युथ क्लब बकैया १२ फाईनलमा पुगेको छ । बिहीबार भएको दोस्रो सेमिफाईनल खेलमा बकैयाले हेटौँडा ५ को जनप्रवाह क्लबलाई १०–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
हेटौँडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालमा भएको खेलमा बकैया युथ क्लबका सुरेन्द्र राईले ३ गोल, जेओङ लामा र सुजन गुरुङले समान २–२ गोल तथा अभिषेक ब्लोन, निशान गोले र आयुष नेगीले समान १–१ गोल गरेका थिए । खेलमा बकैया युथ क्लबका सुरेन्द्र राई म्यान अफ दि म्याच घोषित भएका थिए ।
अब बकैयाले मंसिर ३० गते हुने फाईनल खेलमा हेटौँडा १२ बेलडाँडाको पञ्चशील युवा क्लबसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो । जसमध्ये २ टिमले मकवानपुर जिल्ला लिगमा सहभागिता जनाउनेछन् ।










