मकवानपुर, २९ मंसिर । मकवानपुरको हेटौँडामा जारी मकवानपुर जिल्ला लिग क्वालिफाई फुटबल प्रतियोगिता २०८० को फाईनल खेलमा बकैया १२ को बकैया युथ क्लब र हेटौँडा १२ बेलडाँडाको पञ्चशील युवा क्लब भिड्ने भएका छन् । यी दुई टोलीलले मंसिर ३० गते हेटौँडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालमा फाईनल भिड्नेछ ।

फाईनलमा पुगेसँगै यी दुबै टिमले जिल्ला लिगमा सहभागिता जनाउने पक्का भएको छ । पञ्चशीलले बुधबार पहिलो सेमिफाईनल खेल जित्दै फाईनलमा पुगेको हो । पञ्चशीलले जनहित युवा क्लब हेटौँडा १९ लाई ३–० गोल अन्तरले पराजित गरेको थियो । खेलमा पञ्चशीलका रोनिम मोक्तान, सुमन लोप्चन र राजन गोलेले १–१ गोल गरेका थिए ।


त्यस्तै बकैयाले बिहीबार हेटौँडा ५ को जनप्रवाह क्लबलाई १०–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । खेलमा बकैयाका सुरेन्द्र राईले ३ गोल, जेओङ लामा र सुजन गुरुङले समान २–२ गोल तथा अभिषेक ब्लोन, निशान गोले र आयुष नेगीले समान १–१ गोल गरेका थिए ।