मकवानपुर, ३० मंसिर । नेपाली काँग्रेस मकवानपुरको जिल्ला भेला पुस ३ गते मकवानपुरको हेटौँडामा हुनेभएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला सभापति बुद्ध लामाले पुस ३ गते हुने जिल्ला भेलाको तयारी तिब्र पारिएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै सभापति लामाले यसपटकको भेला विशेष रहने भन्दै भेलामा राजनीतिक रुपमा बनेका संरचनालाई सामाजिक तथा आर्थिक रुपान्तरणमा लैजाने विषयमा समेत छलफल हुने बताए । कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा हुने भेलामा पार्टीका शीर्ष नेता, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ लगायतको उपस्थिति रहने कांग्रेस मकवानपुर सभापति लामाले बताए
भेलामा जिल्ला अधिवेशन,स्थानीय तहको निर्वाचन, प्रदेश र संघको निर्वाचनको समिक्षा हुने बताइएको छ । भेला तयारी तथा व्यवस्थापनकाे लागि सभापति लामाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएकाे छ । यसैगरी सचिव भिमसेन महत प्रतिवेदन लेखन उपसमितिको संयोजक तोकिएका छन् भने उपसभापति आनन्द कठायतलाई स्वागत समितिको संयोजक ताेकिएकाे छ । सहसचिव इन्दिरा न्यौपानेलाई आर्थिक व्यवस्थापन उपसमितिको सभापति ताेकिदा प्रवक्ता अर्जुन चौलागाईले प्रचारप्रसार उपसमिति संयोजक जिम्मेवारीमा रहेका छन् ।
भेलामा जिल्लाका १ सय २ वडा, १० वटा पालिका, ६ प्रदेश र संघीय निर्वाचन क्षेत्र समिति र जिल्ला कार्य समितिका २ हजार प्रतिनिधिकाे प्रतिनिधित्व हुने लामाले जानकारी दिए । सम्मेलनमा अनुमानित १५ लाख रुपैयाँ खर्च लाग्ने बताइएकाे छ । सहभागी प्रतिनिधिहरुबाट जनही २ सय रुपैयाँ, जिल्ला पदाधिकारी र सदस्यहरुबाट १ हजार रुपैयाँ र महासमिति सदस्यहरुबाट १ हजारदेखि १ हजार ५ सय रुपैयाँ सम्मेलनको खर्च व्यवस्थापनकाे लागि शुल्क उठाउने निर्णय भएको सभापति लामाले बताए ।










