मकवानपुर, ४ पुस । मकवानपुरको मनहरी गाउँपालिका र कैलाश गाउँपालिकाका ३ जना सहित ४ जनालाई प्रहरीले लागुऔषध गाँजासहित पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिकाका २ जना, कैलाश गाउँपालिकाका १ जना र बाराका १ जना गरी जम्मा ४ जनालाई पक्राउ गरेको हो ।

मनहरी गाउँपालिका-९ खरङगाबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय सोम बहादुर घलान र रौतहट चन्द्रपुर नगरपालिका-१ बस्ने ४१ वर्षीय आशिष पाख्रिन रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा ९ किलोग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका-८ बस्ने २१ वर्षीय सुवास मोक्तान र कैलाश गाउँपालिका-२१ बस्ने ३० वर्षीय देवराज स्याङताङ रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र.०२-०२९प १६०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।