मकवानपुर । बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले मंगलबार सचेतक पदबाट राजिनामा दिएका छन् ।

काफ्लेले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई मंगलबार बिहान भेटेर राजिनामा बुझाएका हुन् । उनलाई कांग्रेस बागमती प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले दलको प्रमुख सचेतकमा नियुक्त गरेको थियो ।

पार्टीको केन्द्रीय सदस्य समेत रहेका काफ्ले प्रदेश सभा सदस्यमा दोलखा जिल्लाको प्रदेश सभामा क्षेत्र नम्बर १ को (क) बाट निर्वाचित भएका हुन् ।

संसदीय दलका नेता लामालाई राजिनामा पत्र बुझाउँदै गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका काफ्लेले दलको प्रमुख सचेतकको भुमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनतामा समय दिन नसकेको महसुस गरेकोले राजिनामा दिनुपरेको कुरा उल्लेख गरेका छन् ।