हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ चिसापानीगढीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका १३ जनाको शव आफन्तले बुझेका छन् । हेटौँडा अस्पतालको शव गृहमा राखिएका १३ शवको पोस्टमार्टमपछि आफन्तले बुझेका हुन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं दुर्घटना छानबिन समितिका संयोजक शेषकान्त पौडेलसँग शुक्रबार भएको छलफलपछि मृतकका आफन्तले शव बुझेका हुन् ।

दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये दुर्घटना भएको इभीका चालकको शव भने आफन्तले बिहीबार साँझ नै बुझेर लगेका थिए । बिहीबार बिहान भएको दुर्घटनामा मधेस प्रदेशको सर्लाही जिल्लास्थित चक्रघट्टा गाउँपालिका–४ का १३ जना र वडा नम्बर ८ का एक जना गरी १४ जनाको मृत्यु भएको थियो ।

चालकको शव हस्तान्तरण भइसकेपछि बाँकी १३ शव हेटौँडा अस्पतालमा राखिएका थिए । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारले उचित क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा तथा पालनपोषणको व्यवस्था, मृतकका परिवारका सदस्यलाई रोजगारी र दुर्घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आएका थिए ।

माग सम्बोधन नभएसम्म शव परीक्षण गर्न नदिने र शव नबुझ्ने अडानमा उनीहरू थिए । मृतक पक्ष र प्रशासनबिच भएको छलफलमा पीडित परिवारका माग सात दिनभित्र सम्बोधन गर्न पहल गर्ने सहमति भएपछि शव परीक्षण गर्न दिइएको थियो । सहमतिपछि पोस्टमार्टम सम्पन्न गरी शुक्रबार शव आफन्तलाई हस्तान्तरण गरिएको हो ।