जी. न्यौपाने,मकवानपुर, १४ माघ । ‘‘नखोज एक मान्छे जमात छ हेटौँडामा, देशलाई डोहोर्याउने धेरै हात छ हेटौँडामा ।’’ नयाँ नयाँ आविस्कारको लागि हामी विदेशीको नाम सुन्न बढी मनपराउँछौँ तर हाम्रै घरआँगन नजिक बस्ने आफ्नै दाजुभाई, इष्टमित्रका आविश्कारहरुलाई वास्तै गर्दैनौँ । नेपाली वैज्ञानिक महाविर पुन, डाक्टर सन्दुक रुईत, नेपालका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ।
डाक्टर भट्टराईले प्रधानमनत्री हुँदा चढेका मुस्ताङ, मुस्ताङ म्याक्स गाडी निर्माण गर्ने बिराटनगर हुलास कम्पनीका हेटौँडेली प्लानर डिजाईनर ईन्जिनियर महेन्द्रमोहन प्रधान, नेपाललाई विश्वसामु चिनाउने क्रिकेटर पारश खड्का, सन्दिप लामिछानेहरु सरकारको राजनैतिक प्रतिस्पर्धाले गर्दा ओझेलमा परिरहेका छन् । त्यही भएर होला नेपालको सिराहा जिल्लामा जन्मिएर भारतलाई कर्मथलो बनाईरहेका भारतका मसहुर गायक उदित नारायण झा आफुलाई नेपाल मूलको हुँ भन्न त्यत्ति रुचाउँदैनन् ।

भारतले चन्द्रमामा रकेट पठायो, त्यो टिममा एक जना नेपाली युवा छन् जसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मान गरे । मंगल ग्रहमा पानी छ भनेर पत्ता लगाउने नेपाली युवा कहाँ छन् । यस्ता प्रतिभाशाली व्यक्तिहरु विदेशिन बाध्य छन् रोजगारीका लागि । सरकारले कहिले सोच्ने यो विषयमा ?
भारतीय चलचित्र ‘मेरिकोम’मा अभिनय गरेर सुपरहिट भएका नेपालका दिग्गज कलाकार सुनिल थापा, हलिउड चलचित्र ‘द म्यान फ्रम काठमाण्डु’ मा अभिनय गरेका हेटौँडाका कलाकार अमिर गौतमको भविष्य कस्तो छ नेपालमा ? यस्तै प्रश्नैप्रश्न लिएर आविश्कारको क्षेत्रमा जन्मिएका छन् बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का युवाहरु ीवशाल जिम्बा, सञ्जय बिडारी, दिपक उप्रेती, रुपेश पराजुली, रुपेशराज कुँवर, विपिन कार्की र सुजन सुवेदी ।
यी युवाहरुमध्ये कोही ईन्जियनियर, कोही कन्स्ट्रक्सन फिल्ड, कोही मास्टर्स सकाएर बसेका र कोही कम्पनीको म्यानेजिङ डिरेक्टर भएर काम गरेकाहरु छन् । यी एकसाथ पढेका, सँगै हुर्केका युवाहरु जवानीको विलाशिताभन्दा पनि समाज रुपमान्तरण गर्न केही नयाँ काम गर्नुपर्छ भनेर फोहोरलाई मोहरमा बदल्न लागिपरेका छन् ।

यी ७ जना युवाहरुले उज्यालो भविष्य संस्था (बेटर फ्युचर फाउण्डेसन) नामक संस्था नेपाल सरकारमा दर्ता गरी घर–घरबाट निक्लने नकुहिने फोहोरबाट ब्लक, बस्ने कुर्सी लगायतका विभिन्न अतिउपयोगी सामग्रीहरु बनाईरहेका छन् । विभिन्न कच्चा पदार्थहरु प्रयोग गरि आफैले आविस्कार गरेको मेशिनद्वारा विभिन्न उपयोगी सामग्रीहरु निर्माण गरिरहेका छन् । शहिद स्मारकमा जारी सप्ताहव्यापी मेलामा स्टल नम्बर ४ मा युवा आविस्कारकहरुको आविस्कारबाट बनेको मेशिन, उत्पादित सामानहरुको डेमो देख्न सकिन्छ । २० लाख रुपैयाँ खर्च गरेर डेमो प्रदर्शन गरेका युवाहरु घर–घरबाट निस्कने नकुहिने फोहोरबाट धेरै कुराहरु बनाउन सकिने उनीहरु बताउँछन् ।

उज्यालो भविष्य संस्थाका अध्यक्ष विशाल जिम्बाले आफ्नो वडाको लाखौँ रुपैयाँले वडामा धेरै कामहरु गर्न सकिने र यसो गर्दा धेरै युवाहरुले रोजगार पाउने हुँदा युवा प्रोत्सहानका कार्यक्रमहरु तिन तहका सरकारले ल्याउनुपर्ने बताउनुभयो । नयाँ नेपाल बन्नलाई युवा पुस्तालाई चिन्न र उनीहरुले गरेका कामको प्रवद्र्धन गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार गरी तिनै तहको सरकार लाग्नुपर्ने जिम्बाले बताउनुभयो ।
प्लस टु पास भएका युवाहरुलाई डिभी भराएर अमेरिका, युरोप पठाउँदा हाम्रो देशमा मनग्गे रेमिट्यान्स त भित्रिन्छन् तर हाम्रो बौद्धिक जनशक्ति विदेशिएको र हाम्रो डाईनामिक जनशक्तिको फाईदा विदेशी मुलुकले उठाएकोमा हामीलाई दुःख लाग्नुपर्छ । यस कुरामा कार्यनिती बनाउने सरकारले नै हो । सरकार बाहेक यो काम अरुले गर्नैसक्दैन । सरकारले इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ । नत्र आविस्कार र आविस्कारक दुबै पलायन हुन्छन् । आविस्कारक जिम्बाहरु फेरि पलायन नहोउन् । त्यसको कार्यनीति र कार्यान्वयन जरुरी छ, युवाहरु चाहन्छन् ।











