मकवानपुर, १६ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ आँपधापमा स्थानीयस्तरमा उत्पादित गुन्द्रुकको ब्राण्डिङ गर्ने तयारी गरिएको छ ।

आँपधापस्थित घलेगाउँको कञ्चनजंघा कृषि समूहले गुन्द्रुकको उत्पादनसँगै ब्राण्डिङ गर्ने तयारी गरेको हो । समूहले खाद्य प्राविधिकको निगरानीमा गुन्द्रुक उत्पादन गरेर गुन्द्रुकको बजारिकरणका लागि अनुज्ञापत्र लिने तयारी गरेको हो ।

समूहले गुन्द्रुक उत्पादन र बजारिकरणको प्रक्रिया थाल्दा हेटौँडा उपहानगरपालिका प्रमुख मिनाकुमारी लामाले समूहका सदस्यहरुलाई भेटघाट गर्दै हौसला प्रदान गर्नुभएको छ । मेयर लामा सहितको टोलीले उत्पादित गुन्द्रुकको सोमबार अनुगमन तथा अवलोकन गर्नुभएको हो ।

पछिल्लो समय हेटौँडा १२ र १३ नम्बर वडा (साविक पदमपोखरी गाविस) का युवाहरु तथा कृषि समूहहरु कृषि क्षेत्रमा सक्रिय भएर लागिरहेका छन् । पदमपोखरीका कृषकहरु कृषि उत्पादन र बजारिकरणका क्षेत्रमा चर्चामा आउने गरेका छन् ।