मकवानपुर, १७ माघ । मंगलबारबाट मकवानपुरको हेटौँडामा सुरु भएको छैठौँ संस्करणको स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा सर्लाहीको बागमती फुटबल क्लबले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा सर्लाहीको बागमतीले भुटानको पारो फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

हेटौँडा–६ को गौरिटार फुटबल रंगशालामा भएको प्रतियोगितामा सर्लाहीको लागि खेलको चौथो मिनेटमा राज भुसालले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २८ औँ मिनेटमा सिजन गौतमले गोल गर्दै टिमलाई २–० को अग्रता दिए । पहिलो हाफ २–० को अग्रतामा रहेको बागमतीले दोश्रो हाफको ६० औँ मिनेटमा पुन गोल गर्यो । बागमतीको लागि भुसालले ब्यक्तिगत दोश्रो गोल गरेपछि बागमती ३–० को अग्रतामा रहेको थियो । तर खेलको ८१ औँ मिनेटमा भुटानका सिरुप दोर्जेले गोल गरे ।खेलको म्यान अफ द म्याज दुई गोल गर्ने भुसाल भए ।

प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले गर्नुभएको थियो । उद्घाटन गर्दै लामाले फुटबल खेलको विकासको लागि उपमहानगरपालिकाले महत्वपूर्ण लगानी गरेको र यो क्रमलाई निरन्तरता दिने बताउनुभयो ।

मकवानपुरका स्थानीय तहरुको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल हात पार्ने पनि मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए । प्रतियोगितामा देश तथा विदेशका १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।