जी. न्यौपाने, मकवानपुर, ३ फागुन । बालमैत्री वडामा हुनुपर्ने कामहरुको ५७ बुँदे विवरण पुस्तिका हेटौँडा १० नम्बर वडाका अध्यक्षलाई बुझाइएको छ । हेटौँडा उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले वडाअध्यक्ष फुर्वादोर्जे तामाङलाई बुझाउनुभएको हो ।

‘‘बालबालिकाको सन्दर्भ सिङ्गो समाजसँग जोडिएको छ । त्यस विषयमा सबै निकाय, परिवार, टोल, समाज र वडा संवेदनशिल हुनुपर्ने आवश्यकता छ,’’– महिला तथा बाल महाशाखा प्रमुख लामिछानेले बताउनुभयो । उहाँले बालश्रम, बालविवाह र बाल यौन हिंसा रोक्न वडा र सम्बन्धित सरोकारवालाहरु लाग्नुपर्ने बताउनुभयो । फागुन मसान्तभित्र बालमैत्री वडा घोषणाका तयारीहरु गर्न समेत वडालाई जानकारी दिनुभयो ।

बालमैत्री वडा बनाउन जनप्रतिनिधिहरु प्रतिवद्ध भएको बताउँदै वडा अध्यक्ष फुर्वादोर्जे तामाङले केही कठिनाईका कारण धेरै काम गर्न नभ्याएको बताए । उनले आफुहरुभन्दा माथिल्लो निकायहरु ऋाफ्नो प्रतिवद्धत्ताप्रति गम्भिर भइदिएको भए बालमैत्री वडा घोषणा गर्न अप्ठयारो नरहेको बताए ।

वडाअध्यक्ष फुर्वादोर्जे तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले सहिजकरण गर्नुभएको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी बाल सहजकर्ता सपना ढुङ्गाना, वडा सदस्य तथा कार्यपालिका सदस्य साधना श्रेष्ठ, वडा सदस्य बिमल लामा, वडा सचिव प्रशान्त श्रेष्ठ, साना हातहरु नेपालका डिकम्बर रुपाचा, सोलिड्यारिटी इन्टरनेशनल स्कूलकी प्रअ रिना आचार्य लगायतको आतिथ्यता रहेको थियो ।