जी. न्यौपाने, मकवानपुर, ३ फागुन । हेटौँडा उपमहानगरपालिकाले स्थानीय उद्योगलाई प्रवद्र्धन गर्ने उदेश्यले नगरको ५५ औँ स्थापना दिवसमा सम्मानित व्यक्ति तथा कर्मचारी, संघसंस्थाहरुलाई सम्मानसँगै मायाको चिनो स्वरुप एक पाकेट गुन्द्रुक पनि उपहार दिएको छ ।

राष्ट्रिय खानामा सुचिकृत गुन्द्रु सबै नेपालीको मनपर्ने लोकप्रिय तरकारी हो र यसलाई मनपर्ने अचारको परिकार बनाएर पनि खाने गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित कञ्चनजंघा कृषि सहकारी संस्था लिमिटेड लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक उत्पादनलाई प्रोत्सहान गर्ने उदेश्य अनुरुप मायाको चिनोमा प्रयोग गरिएको हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले बताउनुभयो ।

नेपाली राष्ट्रिय खानामा सुचिकृत गुन्द्रुक र ढिँडो सबै नेपालीमाझ लोकप्रिय छ । होटलहरुमा पाईने विशेष परिकारहरुमा गुन्द्रुक र भटमासको अचार तथा ढिँडो पर्दछ ।

हेटौँडा उपमहानगरपालिकाभित्र ढिँडो घर नामक होटल समेत संचालनमा आएको छ । दाउराको चुलोमा पकाएको घट्टमा पिँधेको मकैको पिठोको ढिँडो, लोकल माछाको झोल, गुन्द्रुकको आचार, सिलौटामा पिँधेको गोलभेँडाको अचार, लोकल कुखुराको मासु ढिँडो घरको विशेष परिकारहरु हुन् ।

ढिँडो घरमा बागमती प्रदेशका मुख्यमन्त्री, मन्त्री लगायतका विशिष्ट व्यक्तिहरु पनि बेलाबेलामा ढिँडो र गुन्द्रकको परिकारको स्वाद लिन पुगेका हुन्छन् । हेटौँडामा मनग्य ढिँडो पाउने होटलहरु खुलेका छन् । ती होटलहरुमा सधैँ भिड लागेको देख्न सकिन्छ । टाढा टाढाबाट पनि आफ्ना निजी सवारी साधनहरु लिएर राष्ट्रिय खानाको स्वाद लिन मानिसहरु ढिँडो पसल खोज्दै आउँछन् । ढिँडो र माछा खान अधिकांश मानिसहरु आफ्नै सवारी साधनमा मकवानपुरको मनहरीसम्म पुग्ने गरेका छन् ।