मकवानपुर, १५ फागुन । मकवानपुरको मनहरी गाउँपालिका र थाहा नगरपालिका स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कनमा समान प्रतिशत प्राप्त गरी प्रथम हुन सफल भएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालायद्धारा जिल्ला समन्वय समिति(जिसस)को सहयोगमा मुल्याङ्कन गरीने वित्तीय सुशासनमा मनहरी र थाहा प्रथम भएका हुन् ।

विशेषगरी यस मुल्याङ्कनमा योजना, वजेट तथा कार्यक्रमको व्यवस्थापन, कार्यन्वयन क्षमता, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनलाई जिससले मुल्यांकन गरी प्रतिवेदन तयार पार्दछ ।

जिल्ला समन्वय समिति मकवानपुरले गत आ.व २०७९/८० को प्रतिवेदनमा मनहरीलाई योजना, वजेट तथा कार्यक्रमको व्यवस्थापनमा ७१ दशमलव ४३ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ८१ दशमलव ०३ प्रतिशत, लेखाङ्कन तथा प्रतिवेदनमा ८२ दशमलव ३५ प्रतिशत,अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ६२ दशमलव ५ प्रतिशत र राजस्व व्यवस्थापनमा ६४ दशमलव ७१ प्रतिशत दिएको छ ।

जिससले प्रदान गरेको सम्पुर्ण विषयको औषत ७३ दशमलव ५ प्रतिशत प्राप्त गरी मनहरी गाउँपालिका मकवानपुरमै प्रथम भएको हो । यस्तै बराबर ७३ दशमलव ५ न अंक प्राप्त गर्नेमा थाहा नगरपालिका पनि रहेको छ । जिससले थाहा नगरलाई योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ६९ दशमलव ०५ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७९ दशमलव ३१ प्रतिशत , लेखाङ्कन तथा प्रतिवेदनमा ७० दशमलव ५९ प्रतिशत, अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ६८ दशमलव ७५ प्रतिशत र राजस्व व्यवस्थापनमा ७६ दशमलव ४७ प्रतिशत प्रदान गरेको छ ।

यसैगरी कुल ७१ अ‌ंक सहित हेटाैंडा उपमहानगरपालिका दाेस्राे स्थानमा छ भने कैलाश र मकवानपुरगढी गाउँपालिका समान अंक ७० दशमलब ५ ल्याइ तेस्राे स्थानमा रहेका छन् । हेटाैंडा उपमहानगरपालिका कार्य सम्पादन मुल्याङ्कनमा जिल्ला प्रथम भए पनि स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कनमा दाेस्राे भएकाे हाे ।