मकवानपुर, १५ फागुन । लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहेको ‘सहयोगी मन नेपाल’ ले मकवानपुरगढीको एक सामुदायिक विद्यालयलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । मकवानपुरगढी ३ मक्रान्चुलीमा अवस्थित भानु माध्यमिक विद्यालयलाई मंगलबार सहयोग प्रदान गरिएको सहयोगी मन नेपालका अध्यक्ष केदार चौँलागाईले बताउनुभयो ।

नजिकिँदै गरेको एसईई परिक्षा २०८० मा सहभागी हुने परिक्षार्थीहरुमध्ये विद्यालयले राम्रो नतिजा प्राप्त गर्ने अपेक्षासहित ४४ जना विद्यार्थीलाई फागुन १५ गतेदेखि खानेबस्ने व्यवस्था गरेको विद्यालयका शिक्षक निर्मल धितालले बताउनुभयो ।

विद्यालयको आन्तरिक बजेट कमजोर भएपनि विद्यार्थीको भविष्यमाथि ध्यान राखी सहयोगी सँस्था र व्यक्तिसँग सहजीकरण गर्दै विद्यालयमा क्लोज क्याम्प राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद चौँलागाईले बताउनुभयो ।

सहयोगी सँस्थाका अध्यक्ष र वरिष्ठ सल्लाहकार शिव खनालले विद्यालयका अध्यक्षलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो ।