जी. न्यौपाने, मकवानपुर, १५ फागुन । लामो समयपछि आज दिउँसो ३ बजे बागमती प्रदेशसभाको बैठक बस्दैछ । करिब साढे ४ महिनापछि बागमति प्रदेशसभाको हिउँदे अधिवेशन आज ३ बजे बस्ने भएको हो ।

फागुन १३ गते सभा राख्नका लागि तथा अन्य निर्णयका लागि राखिएको सर्वदलिय बैठक बिना निष्कर्ष टुङ्गिएपछि आज बिहान ८ बजेको लागि बैठक पूनः बस्ने निर्ण गरिएको थियो । आज बिहानको बैठक पनि लामो समय चलेको छ । बागमति प्रदेशको सरकार पक्ष र प्रतिपक्षबिचको धेरै कुरामा सहमतिमा आएतापनि केही विषयमा भने कुरा मिल्न बाँकी रहेको प्रतिपक्षका संसदिय दलका नेताहरुको भनाई थियो ।

बागमती प्रदेशको सभा हलमा आईतबार दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म बसेको बैठक निश्कर्षबिना नै टुङ्गिएको थियो । केहीदिन अघिमात्रै मुख्यमन्त्री तथा मन्त्रीपरिषद बागमती प्रदेशको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले निर्णय गरे अनुसार आज दिउँसो ३ बजे प्रदेशसभा चल्नेछ ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधान धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको १३ औं अधिवेशन बैठक बोलाएका हुन् । २०८० असोज २२ गते दुई वटा विधेयक पास गरेर स्थगित भएको प्रदेशसभाको बैठक १ सय ४१ दिनपश्चात बस्न लागेको हो ।